गलबन्दी च्यातियो तिम्ले तानेर...
भिजिट भिसामा हजुर भिजिट भिसामा...
सोचे झैं रैनछ जिन्दगी...
यस्तै चटपटे गीत घन्किरहेका थिए।
गीतको सुरतालसँग सबै झुमिरहेका।
कोही आँगनमा, कोही बरन्डामा त कोही छतमा। सबै आ–आफ्नै तालमा थिए।
कोही हात हल्लाउँदै, कोही ताली बजाउँदै त कोही कम्मर मर्काइमर्काइ नाच्दै।
‘स्लो मोसन’ को गीत बज्दा छतमा रहेको समूह हल्ला गर्थे।
कारण थियो नाच्न मिल्ने गीत बजाउन माग।
कीर्तिपुरको आयुर्वेद अस्पतालको ‘बी’ ब्लक।
कोरोना भाइरस संक्रमितलाई राखिएको आइसोलेसनको दृश्य हो यो।
आइसोलेसनमा रहेका १ सय ९३ जनालाई मनोरञ्जन गर्न दिनहुँ करिब दुई घन्टा गीतसंगीत घन्किन्छ।
संगीतले मानिसलाई खुसीमात्रै पार्दैन, सन्तुष्टि र मनोबल बढाउनसमेत सहयोग गर्छ।
संगीतले मनमात्रै बहलाउँदैन, कहिलेकाहीँ मानसिक तनाव कम गर्न र पीडा भुल्न सहयोग गर्छ।
र त, हरेक दिन दुई घन्टा संगीतमय बन्छ आयुर्वेद अस्पताल।
...
गीत घन्किँदै गर्दा एम्बुलेन्सले चारजना महिला संक्रमितलाई ल्यायो।
पाँच–सात मिनेट बरन्डामा बसेपछि आइसोलेसन वार्डमा डिउटीमा रहेकी नर्सले उनीहरूलाई एक–एक गरी सोधपुछ गर्न थालिन्।
नाम?
पिसिआर परीक्षण कहाँ÷कहिले गरेको?
खाना भेन–ननभेज?
यस्तै, यस्तै।
त्यसपछि उनीहरूलाई बेडसिट, ब्रस, साबुन, दन्तमञ्जन दिएर माथि कोठामा पठाइयो।
फेरि घन्किन थाल्यो गीत।
नर्सले बेलाबेला माइकबाट आइसोलेसनमा रहेका सबैलाई नाच्न आग्रह गरिरहिन्।
उनी आफू पनि नाचिरहिन्।