हरेक नेपालीको थाप्लोमा ४५ हजारभन्दा धेरै ऋण

नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको छ । 

यसमध्ये आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने सात खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । कुल ऋणलाई नेपालको अहिलेको जनसङ्ख्या तीन करोड ८२ हजार आठ सयले भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४५ हजार ६ सय २७ रुपैयाँ ऋण पर्न आउँछ ।

असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो । त्यो बेला हिसाब गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार सात सय रुपैयाँ ऋण रहेको थियो । 

साउन महिनामा सरकारले आन्तरिक ऋणको ३० करोड ४४ लाख रुपैयाँ ब्याज तिरेको छ । यस्तै बाह्यतर्फ ६० करोड पाँच लाख सावाँ र २८ करोड ८१ लाख ब्याज तिरेको छ । समग्रमा साउन महिनामा एक अर्ब १९ करोड ३० लाख रुपैयाँ सावाँ र ब्याज तिरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: : 2020-09-13 17:57:55

प्रतिकृया दिनुहोस्