सिन्धुपाल्चोकमा फेरि विपद् : कम्तीमा २३ जना बेपत्ता, १२ घर बगायाे

बिएल संवाददाता

सिन्धुपाल्चाेक

सिन्धुपाल्चोकको बाह्रविसेमा भिरखर्कसहित चार ठाउँमा पहिरो जाँदा घरहरु पुरिएका छन्।

लगातारको वर्षापछि आइतबार बिहान भिरखर्क, डाँडागाउँ, नागपूजे, जुगलसहितका स्थानमा गएको पहिरोले घरहरु पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए।

‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ। तर कति भन्ने थाहा छैन,’ प्रजिअ ढकालले बिएल नेपाली सेवासँग भने,’ अहिले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको छ।’

उनका अनुसार नागपूजे पहिरोले ९ घर पुरिएको छ। अरु ठाउँमा पनि घर बगाएको र मानिसहरु बेपत्ता भएको जानकारी आए पनि यकिन नभएको उनले बताए। 

तर, बाह्रविसे नगरपालिका ७ भिरखर्कबाट आएको पहिरोले तीन घर बगाएको र ६ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिएका छन्।

‘पहिरोले नागपूजेमा ९ घर बगाउँदा १७ जना बेपत्ता भएका छन् र भिरखर्कबाट आएको पहिरोले तीन घर पुरेकाे छ ,’ उनले भने,‘ एकजनाको शव फेला पनि परेको छ। यस्तै एकजना घाइते भएको जानकारी आएको छ।’

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ। साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ। गत साउन ३० गते विहान जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो। दुईजना अझै बेपत्ता छन्।

प्रकाशित मिति: : 2020-09-13 07:35:44

प्रतिकृया दिनुहोस्