वास्तविक नियन्त्रण रेखा (एलएसी)मा जारी तनावकाबीच चीन र भारतका विदेशमन्त्री वार्तामा बसेका छन्।
सांघाई कोअपरेसन फोरमको बैठकमा सहभागी हुन मस्कोमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र उनका समकक्षी एस जयशंकर वार्तामा बसेका हुन्।
बिहीबार साँझको द्विपक्षीय वार्ताअघि रुस, चीन र भारतका विदेशमन्त्रीबीच दिवाभोजसहितको वार्ता भएको थियो।
भेटवार्तामा पाँच बुँदे सहमति भएको समाचार संस्था एएनआईले जनाएको छ।
तर, बैठकमा भएका ठोस सहमति भने सार्वजनिक गरिएको छैन। यद्यपी वार्ताले दुई देशबीचको बढ्दो तनाव रोक्ने अपेक्षा गरिएको छ।
बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा आफू नरहेको बताएकाे एएनआईले जनाएका छन्।
उनले याे विवादबीच चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको स्पष्ट पारे र चीनको भारत नीतिमा पनि कुनै परिवर्तन नभएको विश्वास भारतलाई रहेको बताएका थिए।
चिनियाँ विदेश मन्त्रालयले पनि दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको बताएका थिए। तर, त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको बताएको छ।
सोमबार मात्रै लद्दाखस्थित पाङगोङ तालमा चीन र भारतका सैनिकबीच झडप भएको थियो। त्यहाँ वर्षपछि गोली चलेको थियाे।
अहिले कतिपय स्थानमा दुई देशका सैनिक ३ सय मिटरको दूरीमा रहेको र वातावरण तनावपूर्ण रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
विश्लेषकहरुले यो वार्ताले तनाव कम गर्न नसके दुई आणविक शक्तिसम्पन्न मुलुक युद्धमा होमिन सक्ने चिन्ता व्यक्त गरेका छन्।