बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले भत्काएको छ। बीएमसीले अवैध निर्माण गरेको भन्दै बुधबार उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर पुगेका बीएमसीका कर्मचारी र मजदूरले भत्काएका हुन्।
उनको यो अफिस बान्द्राको पाली हिलमा छ। केही महिनाअघि उनले यो अफिस निर्माण गरेकी थिइन्। मंगलबार कंगनाको कार्यालयमा २४ घण्टाभित्र सामान हटाउन भन्दै नोटिस पठाएको थियो।
कंगनाका तर्फबाट उनका वकिलले लिखित जवाफ दिए पनि चित्तबुझ्दो नभएको बताउँदै बीएमसीले उनको कार्यालय भत्काएको हो। कंगनाले आफूले अवैध निर्माण नगरेको लगातार ट्विटरमार्फत बताउँदै आएकी थिइन्।
महाराष्ट्रमा शिव सेना नेतृत्वको सरकार छ। बीमएसी महाराष्ट्र सरकारको मातहतमा आउँछ। शिवसेना पार्टीका नेताहरुसँग कंगनाको केही समयदेखि भनाभन चलिरहेको थियो। कंगनाका समर्थकले बीएमसीले राजनीतिक दबाबमा आएर उनको कार्यालय भत्काएको बताएका छन्।
कंगना बुलडाेजर चलाइए चलाएपछि ट्वीटरमा भिडियोमार्फत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई भनेकी छन्, ‘आज मेरो घर भत्किएको छ, भोलि तिम्रो घमण्ड भत्किनेछ।’
उनले भिडियो सन्देशमा भनेकी छन्, ‘उद्धव ठाकरे, चलचित्र माफियासँग मिलेर मेरो घर भत्काएर मसँग ठूलै बदला लिए जस्तो लाग्छ होला। आज मेरो घर भत्किएको छ, भोलि तिम्रो घमण्ड टुट्ने छ। याद रहोस् यो समयचक्र हो, सधैँ एकनास हुँदैन। मलाई लाग्छ तिमीले यो गरेर मलाई ठूलो गुन लगायौँ।’
उनले अयोध्यामा आधारित मात्र हैन कश्मिरमा आधारित चलचित्र पनि बनाउने चेतावनी समेत दिएकी छिन्।
’काश्मिरी पण्डितहरुलाई त्यो बेला के भएको थियो होला, त्यो म महशुस गर्न सक्छु। आज म यो देशलाई वचन दिन्छु कि अयोध्यामा आधारित मात्र हैन कश्मिरमा आधारित पनि चलचित्र बनाउँछु। र आफ्नो देशवासीलाई जगाउँछु कि हामीमाथि यो किन हुन्छ। ममाथि यस्तो भयो यसको केही मतलब छ, कारण छ। उद्धव ठाकरे राम्रो भयो, यो क्रुरता ममाथि भयो किनभने यसको केही अर्थ छ। जय हिन्द, जय महाराष्ट्र।’
यस्तै याे भन्दा अगाडी उनले एक ट्विट गर्दै मुम्बइलाई पाकिस्तानको संज्ञा दिएकी थिइन्। अर्को फोटोमा उनले ’डेथ अफ डेमोक्रेसी’ लेखेकी छन्।
कंगनाले आफूले अवैध निर्माण नगरेको लगातार ट्विटरमार्फत बताउँदै आएकी छिन्। उनले लेखेकी छिन, ’मेरो घरमा कुनै अवैध निर्माण गरिएको छैन। सरकारले पनि सेप्टेम्बर ३० सम्मलाई नभत्काउनु भनेको छ। वास्तवमा यो हो फासिजम।’
अर्को ट्विटमा कंगनाले महाराष्ट्रको गुन्डाले आफ्नो सम्पतिलाई अवैध सावित गर्न लागि परेको लेखेकी थिइन्। ’म आउनुअघि नै महाराष्ट्र सरकार र उनीहरुको गुन्डाले मेरो अफिस बाहिर आएर त्यसलाई तोड्ने काम गरेका छन्,’ उनले ट्विटमा लेखेकी थिइन्।
कंगना आइतबार चण्डीगढ–मुम्बई फ्लाइटबाट मुम्बई आइपुगेकी छन्। उनी विमानस्थलमा आइपुग्दा बाहिर करणी सेना कंगनाको समर्थन र शिवसेनाको विरोधमा नाराबाजी गरिरहेका थिए।
आजमात्रै मुम्बईको उच्च अदालतले अभिनेत्री कंगनाको निवेदनपछि मुम्बई महानगरपालिकको कारवाहीमाथि रोक लगाउने आदेश दिएको छ। योभन्दा अगाडि मुम्बई महानगरपालिकाको एक टोलीले कंगनाको बंगलाको केही हिस्सालाई भत्काएकाे थियो।
तुमने जो किया अच्छा किया ????#DeathOfDemocracy pic.twitter.com/TBZiYytSEw
— Kangana Ranaut (@KanganaTeam) September 9, 2020