चितवनको भरतपुरस्थित वहुर्राष्ट्रिय कम्पनी नेपाल तराई वोटलर्स लिमिटेडले उद्योग बिस्तार गर्दै गर्दा नजिकै रहेको चितवन मिल्क लिमिटेड चल्न नसकेर बन्द भयो । कोकोकोलालगायत पेय पदार्थ उत्पादन गर्ने कम्पनी दिनानुदिन फष्टाउँदै गर्दा किसानको दूध प्रशोद्धन गर्ने उद्योग विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द भएको हो ।
भरतपुर महानगरपालिका—१ ठिमुरामा २०६८ सालमा १२ विगाहा क्षेत्रफलमा स्थापित सो उद्योगमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी छ । पाउडर दूध नेपालमा बिक्री गर्न नसकेपछि घाटामा गएको उद्योग २०७२ को भूकम्पपछि पूर्ण रुपमा बन्द भएको हो । भूकम्पको समयमा उपकरण र भवनमा आंशिक क्षति पनि भयो ।
किसानको समस्यालाई ध्यानमा राखेर दुग्ध विकास संस्थानसँग सहकार्य गरी स्थापन भएको चितवन मिल्क लिमिटेड उद्योगबाट दूध, पाउडर दूध, होल मिल्क पाउडर, डेरी ह्वाइटनर र क्रिम मिल्क पाउडर ह्वाइटनरलगायत दूधजन्य पदार्थ उत्पादन हुँदै आएको थियो । विशेषगरी भारतमा बिक्री नभएको गुणस्तरहीन पाउडर दूध समेत नेपाल भित्रिदा यहाँको गुणस्तरको दूधले बजार पाउन र प्रतिस्पर्धा गर्न नसकेपछि यो उद्योग बन्द भएको बताइएको छ ।
उद्योग बन्द हुँदा चितवनमा मिल्क होलिडे फेरी शुरु भएको कृषक कुलानन्द अधिकारीले बताउनुभयो । पश्चिम चितवनको चनौलीका अगुवा कृषक अधिकारीले यो उद्योग सञ्चालन भएमा किसानलाई ठूलो राहत पुग्ने बताए। चितवन दुग्ध सहकारी सङ्घका अध्यक्ष रत्नमणी न्यौपाने किसानसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता उद्योगको नियमित सञ्चालनमा सरकारको ध्यान जानुपर्ने बताए । उनले भने, “किसानलाई मिल्क होलिडेबाट बचाउनुपर्छ । अन्यथा किसान कृषि पेशाबाट विस्थापित हुन पुग्छ ।”
चितवनमा मात्रै दैनिक ३ लाख १५ हजार लिटर दूध उत्पादन भइरहेको छ । यहाँका १ सय ६७ सहकारीले दूध सङ्कलन गरेर निजी डेरीलाई बिक्री गर्दै आएका छन् । न्यौपानेको भनाइमा चितवन मिल्क कृषकको सहारा बनेको छ । लामो समयदेखि बन्द रहेको नेपालकै ठूलो पाउडर दूध कारखाना चितवन मिल्क लिमिटेड नेपाल डेरी उद्योग सङ्घले आफू मातहतका डेरीहरुमा खपत नभएको दूध उद्योगमा ल्याएर पाउडर र बटर बनाउँदै लैजाने भनेपछि सञ्चालनमा आएका छन् । बन्द रहेको उद्योगमा निजी डेरीहरुले दूध उपलब्ध गराएपछि प्रशोद्धनको काम हुँदै आएको छ । नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले डेरीहरुसँग बचेको दूध उद्योगलाई भाडा तिरेर पाउडर र बटर उत्पादन गर्दै आएको बताउनुभयो । उद्योगले गत पुस महिनाबाट निजी डेरीहरुको बचेको दूध प्रशोद्धन गर्दै आएको छ । उद्योगले दूध पाउडरको प्रतिकिलो मूल्य अभिवृद्धि कर बाहेक रु एक सय पाँच र वटरको रु ४३ कन्भर्सन शुल्क लिएर प्रशोद्धन गर्दै आएको छ । तरपनि उद्योग नियमित सञ्चालन हुन सकेको छैन । सरकारले भारतबाट पाउण्डर दूध ल्याउन रोक लगाएपछि डेरीहरुले यो विकल्प रोजेका हुन् ।
चितवन मिल्क लिमिटेडका अध्यक्ष राजुबाबु श्रेष्ठले आगामी असोजबाट उद्योग नियमित सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको बताउनुभयो । उद्योगले असोजबाट डेरी ह्वाइटनरको नियमित उत्पादन शुरु गर्नेछ । त्यसपछि क्रमशः अन्य उत्पादन बढाउँदै लैजाने योजना उद्योगको छ । चितवन मिल्कले उत्पादन गर्ने दुग्धजन्य पदार्थहरु उपयोग गर्न नेपाल डेरी उद्योग सङ्घ सकारात्मक बनेको छ । सङ्घ सकारात्मक भएपछि उद्योग नियमित सञ्चालन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । दैनिक एक लाख ५० हजार लिटर दूधको पाउडर बनाउने क्षमता उद्योगसँग छ । यो नेपालमा नै सवैभन्दा धेरैं हो । त्यसैगरी घ्यू, दही, पनिर र पाउँच दूध पनि उद्योगले उत्पादन गर्न सक्दछ । उद्योग स्थापनाको शुरुका वर्ष नेपालको दूध नपुगेपछि भारतबाट दैनिक एक लाख लिटरसम्म दूध ल्याएर उद्योगले प्रशोधन गर्ने गरेको थियो ।
नेपालमा वार्षिक रु तीन अर्वको हाराहारीमा १० हजार मेट्रिक टन पाउडर दूध आयात हुँदै आएको छ । तीमध्ये ४५ प्रतिशत खपत दुग्ध विकास संस्थान, ४५ प्रतिशत निजी डेरी र बाँकी बेकरी, बिस्कुट लगायतका उद्योगले खपत गर्ने गरेका छन् । अहिले सरकारले पाउडर दूध आयातमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा यहाँको पाउडर दूधले बजार पाउने अवस्था सिर्जना भएको छ । यसबाट व्यवसायीहरु उत्साहित बनेका छन् ।
यसरी प्रशोद्धन गरिएको पाउडर दूध एक वर्षसम्म बिग्रिदैन । सङ्घका सदस्य उद्योगहरु आफ्नैले खपत गर्ने गरी पाउडर उत्पादन गरिएको अध्यक्ष राजभण्डारीको भनाइ छ । चितवन मिल्क र सुजल डेरीले निजी र सहकारीको दूध प्रशोद्धन गर्दै आएका छन् । निजी डेरीहरुले मात्र एक वर्षमा २ करोड ५० लाख लिटर दूध प्रशोधन गर्ने गरेको उहाँको भनाइ छ । दूधको अभाव हुने मौसममा नेपालमा धूलो वनाएर राख्न नसके हुँदा रु चार अर्ब मूल्य बराबरको दूध ल्याउनुपर्ने उहाँले जानकारी दिए।
चितवन मिल्कमा डेरी उद्योग सङ्घ, नेपाल डेरी एशोसिएशन अन्तर्गतका डेरीहरु र सहकारीले देशैभरबाट दूध ल्याउने गरेको उद्योग हेर्दै आउनुभएका दुर्गा पराजुलीले जानकारी दिनुभयो । चितवन मिल्क ठूलो उद्योग भएकाले ५० हजार लिटर भन्दा कम दूध राखेर उद्योग चलाएमा नोक्सान हुने पराजुलीको भनाइ छ । सो उद्योगले एक सिफ्टमा ८० हजारदेखि एक लाख लिटर दूध प्रशोद्धन गर्न सक्छ । चौविसौं घण्टा उद्योग चलाएमा २ लाख ५० हजार लिटरसम्म प्रशोद्धन गर्न सक्ने पराजुलीले जानकारी दिनुभयो । हाल २० जना कर्मचारी राखेर एक सिफ्ट मात्र उद्योगले सञ्चालन हुँदै आएको बताइएको छ ।