चीन र भारतका रक्षामन्त्रीबीच सीमा विवादबारे भेटवार्ता

एजेन्सी

नयाँदिल्ली

लामो सीमा विवादमा फसेका दुई देश भारत र चीनका रक्षामन्त्रीबीच वार्ता सुरु भएको छ ।

बीबीसी हिन्दीका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री वेइ फेङ्घेले अहिले भेटवार्ता गरिरहेका छन् । मस्कोमा उनीहरुले भेटवार्ता गरेको बताइएको छ । दुबै देशका रक्षामन्त्रीहरु सांघाइ सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन मस्को पुगेका हुन् ।

सिमाक्षेत्र लद्दाखमा भारतीय सैनिक अधिकृतको ज्यान जाने गरी भीडन्त भएको एक साता नबित्दै दुई देशको मन्त्रीस्तरीय वार्ता सम्भव भएको हो ।  उक्त वार्ताको लागि चिनियाँ मन्त्री वेइले नै पहल गरेको भारतीय मीडियाले जनाएका छन् । तर उनीहरुको वार्ताबाट के सहमति भयो भन्नेबारे सार्वजनिक भएको छैन ।

पछिल्लो केही मिहनादेखि नै भारत र चीनका सेनाबीच लद्दाखमा तनाब हुँदैआएको छ । गत जुन १५ मा हिंसात्मक भीडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए । त्यस घटनाबारे चीनले भने कुनै लिखित वक्तव्य दिएको थिएन । यद्यपि दुई देशका सैनिक कमाण्डर स्तरीय वार्ता भएको थियो । तर कुनै ठोस सहमति सार्वजनिक भएन ।

 

 

प्रकाशित मिति: : 2020-09-05 00:25:52

प्रतिकृया दिनुहोस्