रातो मच्छिन्द्रनाथको रथ यात्रामा तनाव, भीड हटाउन प्रहरीद्वारा पानीको फोहोरा र ढुंगा हानाहान (भिडियो)

शनि शाक्य

ललितपुर

बिहिबार निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई प्रहरीले हटाउन खोजेपछि दोहोरो झडप भएको छ।

भेला भएर स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा र केही शेल अश्रु ग्यास समेत छोडेका छ।

आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका थिए। केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक बिहिबार दिउँसो तनावपूर्ण रह्यो।

जबरजस्ती रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको छ। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसेका छन्।

लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए।

प्रहरीले सुरूमा रोक्न खोजे पनि सयौंको संख्यामा आएका जनतालाई उनीहरूले रोक्न सकेका थिएनन्। बीच सडकमा ल्याउँदा रथ केही लच्केको देखिएको थियो।

चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो ।

तर यस वर्ष कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन आदेश जारी गरेपछि रथजात्रा निर्धारित साइतमा हुन सकेन। तर पनि साउन १० गते नागपञ्चमीको दिन दिउँसो १२ बजेको शुभ साइतमा रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो।

रथमा विराजमान गराइएको चार दिनपछि रथजात्रा शुरु गर्नुपर्छ। तर कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि रजथात्रा पनि रोकियो। जात्रा नभएपछि स्थानीयले दैनिक रथ विराजमान गराइएको ठाउँमा पुगेर पूजाआजा गर्दै आएका थिए।

प्रकाशित मिति: : 2020-09-03 15:45:50

प्रतिकृया दिनुहोस्