सन् २०१९ को डिसेम्बरबाटै चीनको वुहान प्रान्तमा कोराना संक्रमण बढिरहेको थियो। मृत्यु हुनेको संख्या पनि क्रमशः बढ्दै थियो। युरोप तथा अमेरिकामा पनि यसको असर पर्न थालिसकेको थियो। जसले नेपालमा पनि कोराना संक्रमणको त्रास फैलदै थियो। त्यहीँ समयमा तिला गाउँपालिकाले कोराना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सचेतना अभियान चलायो। जसको नेतृत्वमा म आफैंले गरेकी थिएँ।
६ जनाको समूहमा सचेतना फैलाउन तिलाका ३१ गाउँका ३४ बाडासम्म पुग्यो। त्यतिबेला देश भित्र र बाहिरबाट कर्णालीबासी घर फर्कनेको लहर चलिरहेको थियो। जसका कारण संक्रमणको उच्च जेखिम थियो। भारतमा त्यतिबेला कोराना संक्रमणले बिरामी हुने र मर्ने दर बढ्दै थियो। कामको शिलशिलामा भारत गएर फर्कनेको ठूलो लर्को थियो। यसले पनि समुदायमा त्रास बढेको महसुस भयो।
भौगोलिक रुपमा अति विकट मानिने यो क्षेत्रमा घुम्न निकै कठिन छ। उकाली ओराली, भीरपाखा छिचोल्दै टोली गाउँमा पुग्यो। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका उपाय अबलम्वन गर्न आग्रह गर्यो। नियमित रुपमा घरबाहिर निस्कदा मास्कको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्नेदेखि नियमित रुपमा साबुनपानीले हातधुन भन्यो। हरेक गाउँका, हरेक टोलमा पुग्यो।
जनता निकै त्रसित भए पनि हाम्रा कुरा सुन्दा सचेत हुँदा समस्या नहुने रहेछ भनी ढुक्क हुँदै पनि थिए। एक ठाउँबाट अर्को ठाउँ जान प्रतिबन्ध थियो। गाउँको केन्द्रमा गएर सामाजिक दुरी कायम गर्दै माइकिङ गर्थ्यौं। जनता सचेत हुन थालिसकेका थिए। केही गाउँ सिल गरिएका थिए। गाउँमा हुने सबै प्रकारको चाडपर्व रोकिएको थियो। बाटा, घाटा, पुलपुलेसामा पर्खाल लगाइएको भेटिन्थ्यो। चाडपर्वमा छोरीबहिनीलाई माइती घरमा जान समेत निषेध थियो। आ-आफ्नो वडा र गाउँका आफ्नै खाले नियम थिए। नियममा रहेर गाउँले खेतिकिसानमा लागेका थिए।
खेलकुददेखि विद्यालय बन्द थिए। त्यो सचेतना ठिक समयमा गरिएको भान अहिले हुने गरेको छ। कोराना भाइरस लाग्ने बित्तिकै मान्छे मर्छ भन्ने डरको मनोविज्ञानले राज गरेको थियो। टोलीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि सहभागि थिए। अहिले पनि साविकको मालिकाठाँटा र घोडेमहादेवमा मोटरबाटो पुगेको छैन। हिँडेरै एक गाउँदेखि अर्को गाउँ जानुपर्ने बाध्यता छ। जोखिमको परिस्थितिमा गाउँमा पुग्दा जनता खुसी देखिन्थे। यो सचेतना अभियान एक हप्ता चल्यो।
गाउँबाट स्थानीय तहको केन्द्रमा पुग्यौं। भारतबाट आउनेको लहर लाग्न थाल्यो। क्वारेन्टिन निर्माणमा जुट्यौं। गाउँपालिकाको सरस्वती मावि कुडारीमा एक सय १० बेडको क्वारेन्टिन बन्यो। यो जिल्लास्तरीय क्वारेन्टिन थियो। भैरव आधारभूत विद्यालयमा २० बेड र सीता मावि रारालिहीमा ९५ बेडको क्वारेन्टिन निर्माण गरियो। ती क्वारेन्टिनमा भारतबाट आउनेहरु बसे। क्वारेन्टिन खचाखच बनेपछि घोडेसिम गाउँमा १० बेड, जुम्लाकोटमा ३४ बेड, रासामालापानीमा २० बेड, नाभिडाँडा विद्यालयमा १०, सेतिबाडा माविमा १०, तुहीको विद्यालयमा २१ र कृषि भवन पद्दुमा २० बेडको क्वारेन्टिन बन्यो। स्वदेशभित्रबाट आउनेका लागि भुगेडी विद्यालयमा २० बेडको क्वारेन्टिन बन्यो। यी सबै क्वारेन्टिन भरिभराउ भए। व्यवस्थापन गर्न निकै चुनौति भयो।
भारतबाट मानिहरु धमाधम आउन थालेपछि कोराना संक्रमण भित्रिन सक्ने खतरा बढ्यो। क्वारेन्टिनमा बसेकाहरुको पीसीआर परिक्षण नहुँदा निकै त्रास फैलियो। हरेक क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी थिए। तर सबै क्वारेन्टिनका बसेकाको रिर्पोट नेगेटिभ आयो। गाउँपालिका जोखिममुक्त रहेको आभाष भयो। यहाँका हरेक गाउँका हरेक परिवारलाई साबुन, सेनिटाइजर, मास्क दिइयो। गाउँमा जनप्रतिनिधि र कर्मचारी खटिए। क्वारेन्टिनमा बसेकाको व्यवस्थापन र भारतदेखि आउनेको व्यवस्थापन गर्नु कम चुनौति थिएन। कामदार अलपत्र परेको भन्दै उद्धार गरेर लैजान फोन गर्थे। भारतबाट आएकाहरु नाकामा अलपत्र परेको भन्दै दुखेसो सुनाउँथे। 'चाउचाउ खाएर बसेका छौं। जिल्लामा लैजानुस्,' भनेर भन्थे।
यो कठिन अवस्थामा पनि एक पाइला पछाडि नसारि खट्यौं। क्वारेन्टिनमा बसेकाहरु, 'भात राम्रो भएन। चिसो हुन थाल्यो। भात हिलो हुन थाल्यो। नपाकेको दाल दिन थाले,' भन्दै रातिराति फोन गर्थे। त्यसको तत्काल समाधान खोजिन्थ्यो। लकडाउन भएकोले सहजै रूपमा सवारी साधन सडकमा आउँदैन थिए। आएका सवारीसाधन प्रहरीचौकीमै रोकिन्थ्ये। ‘भोक लाग्यो गाडी खुलाइदिनुस्’ भन्दै फोन गर्थे।
गाउँ नजिकै क्वारेन्टिन निर्माण गर्दा रोग फैलने भन्दै गाउँले त्रसित हुन्थे। क्वारेन्टिन नबनाउन आग्रह गर्थे। जिल्ला भित्रिएकाले व्यवस्थापन छिटो गर्न दबाव दिइरहेका हुन्थे।
एक्कासी गाउँपालिका भित्र प्रवेश गरेको मात्र थाहा हुन्थ्यो। जसले व्यवस्थापनमा झनै चुनौति अनुभव हुन्थ्यो। बजारमा दैनिक उपभोग्य बस्तुको हाहाकार हुन थाल्यो। क्वारेन्टिनमा राख्ने सिरक डस्ना समेत भेटाउन हम्मे हम्मे पर्थ्यो। एकातर्फ मापदण्ड अनुसारको क्वारेन्टिन हुन नसकेको भन्दै विरोध भइरहेको थियो भने अर्को तर्फ क्वारेन्टिन व्यवस्थापनमा निकै चुनौति थियो। निकै चुनौतिका बाबजुद सबै व्यवस्थापन गर्न भने सक्यौं। जनताले दिइएको जिम्मेवारी कठिन समयमा गर्न सकिएको अनुभूति भइरहेको छ।
धेरैले 'गाउँमा नपस्नुस्। होम क्वारेन्टिनमा बस्नुस्' भने। तर मैले मानिनँ। जनताको जनमतलाई कदर गरि नागरिक सचेत बनाउनु कर्तव्य ठानेँ। त्यसबेला म सकेसम्म सुरक्षा सावधानी अपनाइरहेकी थिएँ। गाह्रो, साह्रो परेको बेला मैले साथ दिनुपर्छ। जनताले यसैका लागि मलाई भोट हालेका हुन् भन्ने लागिरहन्थ्यो। मैले पनि जीवन र परिवारको कुनै प्रवाह नगरि काम अघि बढाएँ। जनताको घरदैलोमा पुगेर सन्देश छर्न सफल भएँ। केहीले क्वारेन्टिनमा निरन्तर जाने भएकोले क्वारेन्टिन राख्नुपर्ने समेत भने।
प्रत्येक क्वारेन्टिनमा एक दिन पुग्थेँ। उनीहरुको दैनिकीका बारेमा चासो राख्थेँ। पछि गएर 'एक पटक क्वारेन्टिन नजाँदा नरमाइलो लागेको छ एक पटक आउनुहोस्। तपाईँ एक पटक नआए खाना खान मन लाग्दैन्। तपाईँले दिएको सान्त्वनाले हौसला बढ्छ,' भनेर फोन आउँथे। कहिले 'रिचार्ज कार्ड हाल्न' भनिरहेका हुन्थे। 'बाबुनानीलाई पखाला लागेकोले औषधि ल्याइदिनुस्' भन्दै खबर गर्थे। मेरो फोन क्वारेन्टिनमा बसेका सबैसँग थियो। सामान्य समस्या आउने बित्तिकै फोन गर्न भनेको थिएँ।
क्वारेन्टिनमा दिनहुँ जाँदा। समस्या बुझ्दा। उपाध्यक्षलाई क्वारेन्टिनमा राख्नुपर्ने केहीले प्रतिक्रिया दिन थाले। मैले सुनुवाइ गरेँ। कति सुने पनि नसुने झैं गरेँ। काम गर्नेको खुट्टा काट्ने प्रचलन यस्तो बेला पनि अछुतो रहेन। तर म यी सबै मा म सचेत हुँदै गरिरहेकी थिएँ। त्यहीँ बेला गाउँमा एक हप्ता, तीन महिना खाना पुग्नेको तथ्यांक संकलन गर्यौं। आवश्यकता अनुसार राहत पनि उपलब्ध गरायौं। अहिले आइसोलेसन कक्ष निर्माणमा जुटेका छौं। हामी अन्तिम चरणमा पुगेका छौं। प्रत्येक पालिकामा ५० बेडको आइसोलेसन निर्माण गर्न स्थानीय प्रशासनले आग्रह गर्यो। सोही बमोजिम आइसोलेसन निर्माण भएका छन्। आगामी दिनमा पनि जनताको हरेक सुख दुःखमा साथ दिने अठोट गरेकी छु। आइसोलेसन निर्माणमा तगारो हाल्ने काम खुब भयो। राजनीतिक चलखेलको सिकार हामी राजनीति गर्नेहरू नै भयौं। एउटै पार्टी भित्रको गुटगत राजनीतिले समस्या निम्तियो। एकातर्फ राजनीतिले आइसोलेसन निर्माणमा समस्या आइरहेको थियो भने अर्कोतर्फ जनतामा त्रास झन् बढ्दै गएको थियो।
शुरूमा क्वारेन्टिनमा शंकास्पद व्यक्ति मात्र हुन्थे। आइसोलेसनमा त कोरोना संक्रमित नै राख्नु थियो। निरन्तर चार दिनको छलफल पछि आइसोलेसनको टुंगो लाग्यो। युवाहरुले आइसोलेसन व्यवस्थापनको जिम्मा लिए। यहीँ बीचमा गाउँपालिका भित्रका २ सय ३ जनाको स्वाब संकलन गरेर पीसीआर परिक्षण पनि गरायौं। सबैको रिर्पोट नेगेटिभ आएकोले खासै समस्या परेन। यो सफलता शुरुवाती चरणमा गरिएको सचेतनाको उपलब्धि हो भन्ने ठानेकी छु।
हिमामा ६१ जनामा कोरोना संक्रमण थियो। छिमेकी गाउँपालिका भएकोले तिलामा पनि हुन सक्ने आशंका गरिएको थियो। तथापि हिमा र कालिकोटमा बसेका गरी तिलाका ४ जना सक्रमित भेटिए पनि तिला बस्ने स्थानीयमा देखिएको छैन। यो बेलासम्म हरेक कार्यमा साथ दिने गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, युवा, विद्यार्थी, शिक्षक लगायत सबै तिलाबासी प्रति आभारी छु। आगामी दिनमा पनि प्रभावकारी समन्वय सहकार्य र सहयोगको अपेक्षा राखेकी छु। हामी सबैले सुरक्षाका मापदण्ड अपनायौं भने कोरोना भाइरस नियन्त्रणमा सफल हुनेछौं।