कसले बुझ्ने मजदुरका पीडा?
रामेछापका राजकुमार थापा १२ दिन भयो रिक्सामै सुतेको।
उनको दिनरात रिक्सामै बित्छ।
सुत्न अप्ठ्यारो भएर ढाड दुख्ने समस्या भइसक्यो।
उनी आफ्नै कोठामा समेत जान पाउँदैनन्।
कोठामा जान त मन लाग्छ तर, घरबेटीले कोरोना सर्छ भनेर नआउनू भनेका छन्।
डल्लुमा कोठा लिएका छन्।
कोठामा छोरा र श्रीमती छन् तर, जान चाहिँ बन्देज छ।
कहिले रत्नपार्क, कहिले न्युरोड त कहिले वीर अस्पताल अगाडि हुन्छ उनको रिक्सा।
सवारी पाएर हैन उनको रिक्साले ठाउँ फेर्ने।
उनलाई एकै ठाउँमा बस्दाबस्दा अल्छी र दिक्दारी लाग्छ अनि घुमाइरहन्छन् रिक्सा।
बिनासवारीको रिक्सा यताउति दैडाइरहनुको अर्को पनि कारण छ भातको खोजी।
खाना खोज्न पनि उनले रत्नपार्क, न्युरोड, ठमेल फन्का लगाइरहनुपर्छ।
शुक्रबार पनि उनी डल्लु कोठा नजिकैबाट भात खोज्न रिक्सा लिएर रत्नपार्क पुगेका थिए।
‘आमाले खाना ल्याउँछिन् भनेर यहाँ आएको हुँ, डल्लुबाट हिँडेर आउदा थकाइ लाग्छ, त्यसैले रिक्सा ल्याएको,’ राजकुमारले भने।
कोठामा छाक टार्न समस्या भइसकेको छ। ‘लकडाउन’ भएदेखि रिक्सा ठप्प छ।
कमाइ शून्य छ। घरबेटीले भाडा दे भन्छन् तर दिनु कसरी र कहाँबाट?
राजकुमार रत्नपार्क आएको त भात खोज्नलाई हो तर, कोही अस्पताल आउने जाने सर्वसाधाराण भेटिन्छन् कि भन्ने झिनो आश पनि गर्छन्।
तर, उनले कोही भेट्टाएनन्।
र, रत्नपार्कमा सिमसिमे पानीमा ‘इन्दिरा आमा’ को भात कुरिरहेका थिए।