बाबा म गौराकी राम (रमिता) हेद्द जान्छु है?-एकोहोरो प्रश्न तेर्स्याइरहिन् छोरीले। गौरा विसर्जनको दिन जान दिए उनलाई गौरा भित्र्याइएको घर आँगनमा। उता पुराना दिनको खेलमाल र पुराना दिनकी गौरा सम्झिँदै ९३ वर्षीया चेतराज ओझा पुगिसकेका थिइ गौरा नचाउने आँगनमा। उनी हौसिएका थिए धमारी खेल्न। तर, उनीसँग पैतली मिलाउँदै रमाउने र गीतका पंक्ति जानेका शिक्षक भीमबहादुर अधिकारी जस्ता खेलाडीहरु खासै थिएनन्। न त थियो धमारी खेल्दा बजाइने ढोलक नै। एकछिन खेलेजस्तो गरे। परम्परा जोगाए जस्तो गरे। तर, मनको धोको पुरा हुन सकेन चेतराजको। रत उनले भनिदिए,‘जसले जे भने पनि दिन राम्रा पुरानै थिए।’
काफलीका पूजारी रामचन्द्र ओझा र वडा सचिव दिल्लीराज चौधरीसँगै गएको थिएँ म पनि वर्षौपछि गौरा नचाएको र धमारी खेलेको रमिता हेर्न। बाल्यकालिन गौराको रौनक सम्झिरहेँ बाटोमा। समय, परिस्थिति र बाध्यताले माडिँदै जान्छन् जिन्दगीका घुम्तीहरु। देखापरिरहन्छन् नयाँ नयाँ प्रविधिहरू। तर, फर्किदैनन् कहिल्यै पनि ति दिन अनि त्यो समय। चेतराज ओझाले भनेझैं मात्र थपिरहन्छ विगतको यादले जिन्दगीको दियोमा तेल।
घारबाट छुट्टिएका माहुरीझैं थोरै महिला र पुरूषहरू थिए सहभागी भएका। प्रायजसो पञ्च रात्री राखेर धुमधामसँग मनाउने चलन छ गौरापर्व। कतैकतै एक महिनासम्म नै राखेर खेलमाल गर्ने चलन छ। विशेष परिस्थितिमा मात्र तेस्रो दिन सेलाउने (विसर्जन गर्ने) गर्दछन्। तिजाली गाउँको गौरा घरको आँगन, त्यहाँ न दमाहाको आवाज थियो। न महिलाहरुको ठूलो समूह नै। न त थियो पुरुषहरुले नै रातभर खेल खेलेको कुनै रात। गौरा पर्व सुटुक्क आयो सुटुक्क गयो। यो वर्ष प्राय सबै ठाउँमा यस्तै भयो। गौरा पर्वमा डेउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुखका साथै माया प्रेम बाँड्ने गरिन्छ। भारतबाट फर्किएका युवाहरुले पाएनन् डेउडा, धमारी, चैत जस्ता खेल खेल्न। कोरोनाको संक्रमणलाई मध्यनजर गरी तीज र गौरा पर्वका बेला लकडाउन गरियो अधिकंश जिल्लाहरूमा।
मध्य तथा सुदूरपश्चिममा वर्षेनी मनाउँदै आएको गौरा पर्वलाई पुराणको रोचक कथामाथि आधारित एउटा महत्वपूर्ण उत्सवका रुपमा लिइन्छ। भगवान शिव र पार्वतीको पूजा आराधनामा आधारित यो पर्व गाउँगाउँमा घुमधामका साथ मनाउने गरिएको छ। दक्ष प्रजापतिकी पुत्री अर्थात् भगवान शिवकी अर्धाङ्गीनी सतीदेवीले आफ्ना श्रीमानको अपहेलना गरेको निन्दा गरेको सहन नसकेर दक्ष प्रजापतिको यज्ञकुण्डमा आफ्नो इहलिला समाप्त पारेपछि हिमालय पत्नी मेनकाको गर्भमा जन्म लिन पुग्छिन्। १० महिनामा जन्मिएकी कन्याको नाम गो अक्षरबाट जुराउन पुग्छन् ज्योतिषले। तिनै कन्या गौरी अर्थात पार्वती सानैदेखि शिवलाई पति पाउनका लागि तपस्यारत हुन्छिन्।
उनको कठोर तपश्याबाट प्रभावित भएर भगवान् शिव प्रशन्न भई उनैसँग विवाह गर्न पुग्दछन्। यसै कथामा आधारित पर्व हो गौरा। यसलाई ठाउँ अनुसार गोःरा गौरा, लोली गौरा आदि नामले पुकारिन्छ। लोलीको अर्थ हुन्छ लडेली, प्यारी अर्थात लाड प्यार पाएकी।
एकातिर पाखामा धान पाकेर पहेलपुर भएको दृश्य देख्न पाइन्छ। अर्कोतिर गौराको रौनक छाइरहने समय। पुराना दिनहरुको याद आइरहन्छ मनमा। जतिबेला गौरा पर्वकै लागि भनेर वर्षभरिमा पाइन्थ्यो एक जोड नयाँ कपडा। बेलाबखत जीउमा भरुण्ड्याइएका नयाँ कपडा हेर्दै आफैं एक्लै मख्ख परेर बाटो नाप्दाका ती पल जति खुसी र सन्तोषका पलहरु आएनन् त्यसपछि जिन्दगीमा कहिल्यै पनि ।
गामन (गुन्यू) र चोलीमा सजिएका एक हुल महिलाहरू। मध्य तथा सुदूरपश्चिमको मौलिक पोशाक हो गुन्यू चोलो र कम्मरमा सेतो पटुका अनि गरगहनाहरू। बाह्रपाटे गजीको गुन्यू भन्ने उखान नै थियो उहिले उहिले। हुनेखाने वर्गका महिलाहरुले लगाउथे बाह्र पाटा भएको गुन्यू। अहिले त बिस्तारै लोप हुँदै गइरहेका छन् त्यस्ता पोशाक।
जिन्दगीका आरोह अवरोहहरु थिए त्यहाँ। सुन्दरताको पछ्यौरीले पुच्छदथे सन्तोषको पसिना। चैत, धमारी डेउडा खेलको रौनकले गुञ्जायमान बन्दथ्यो जिन्दगी। मान्छे जति जति शहरमुखि, सुविधामुखी अनि आधुनिक बन्दै गयो त्यति बढी निरिह र दुखी हुन थाल्यो। महत्वाकांक्षाका अनगन्ती टुसाहरू पलाउँदै जादा डिप्रेसनको सिकार पनि बने र बनिरहेका छन् कतिपय अहिले पनि।
‘त्यो समय, त्यो गाउँघर अनि ती मनहरु निकै नै नूतन थिए। मनकारी थिए। अहिले त संस्कृति जोगाउनै मुस्किल भैसक्यो,’ विगत सम्झेर बताउँछन् संस्कृतिप्रेमी पूर्व शिक्षक भीम बहादुर अधिकारी।
कैयौ संवेदनशील सपाट मनका लागि डेउडा लगायत बिभिन्न संस्कारजन्य गीतहरु जिन्दगीका अनुगुञ्ज बनिदिन्छन्। सुन्दर ध्वनी बनिदिन्छन् र त सिकाउँछन् बाँच्न पनि। मनोरञ्जनका साधन बन्दाबन्दै पनि सन्देशमूलक उत्तिकै छन् हाम्रा गीतसंगीतहरू। सन्देश, विरह वेदना उपासना मनोकामनापूर्ण होस् भन्ने चाहनाको एउटा सुन्दर फाँट पनि हुन् हाम्रा अधिकांश चाडपर्वहरू। फुर्सदको समयमा एक आपसमा मेलमिलाप र भाइचारा स्थापित गर्ने मन्त्र पनि हुन्। बिडम्बना समाजका केही हैकमवादीहरुले आफू अनुकुलका नियम बनाइदिए र वर्ग छुट्याए आँकडा र सीमा रेखा कोरी दिए कतिपय सन्दर्भमा। पितृ सतात्मक समाजमा पुरूषले नै बनाए, सुनाए केही वाणीहरु र पत्याउन बाध्य तुल्याए महिलाहरूलाई कतिपय कुराहरू।
भगवान शिवले सतिदेवीको मृत्यु पछाडि मात्र पार्वती भित्र्याएको कथा एकातिर छ भने कान्छी गोरा ल्याएर जेठी गोरामा मिलाई शरीर छुट्टै भए पनि आत्मा एकै हो भन्ने सन्देश दिलाए। जुन त्यतिबेलाको बहुविवाहलाई थप ऊर्जा दिने उपाए थियो। गौरा सिर्जनका दिन गीतका माध्यमबाट पराइघर जादा भाइ साथमा लैजान दिइएको सुझावले छोराप्रतिको मोह र वंश धान्नदेखि हरेक मोडमा छोरा चाहिन्छ भन्ने मान्यता स्पष्ट ढंगले बुझ्न सकिन्छ।
यति हुँदाहुँदै पनि फागमा सुनिने छोरी पठाउदाको क्षण, आमाले गरगहना लुगा फाटो दिँदाको प्रसंगदेखि जन्मभूमिप्रतिको माया, लगाव र छोरीको गुनासोका प्रसंगहरुले गहिरो काव्य बोकेका छन्।
म सम्झिरहन्छु ती गमरा पर्वहरु जो त्यसपछि फर्केनन् कहिल्यै जिन्दगीमा। कपडा फाट्दा गोरा पर्व आउन कति दिन बाँकी छ भनेर औंला भाँच्नु पथ्र्यो। नौला लुगा पाइने पर्व थियो गौरा। एक्लै बाटोमा हिंड्दा होस् वा ऐनामा भेट्दा दायाँ बाया खुब हेर्थे ती नयाँ कपडालाई तीन चार दिनसम्म पनि।
गौरा पर्व सकिए लगत्तै बाकसमा सोझ्याएर राख्थे कपडा र त लगत्तै आउने दसैंका लागि पनि ती नयाँ नै बनिदिन्थे। त्यतिबेलाका धमारी चैत खेल्ने कुशल खेलाडीहरुले छोडिसके धर्ती। मांगल गीत गाउने ती सुन्दर गाला पनि रहेनन् अब। रहेनन् ती औंलाहरु जो ढोलकको धुन निकाल्न सक्रिय हुन्थे। त्यत्तिको रौनक भेटिदैन अहिलेका चाडपर्वमा। अहिलेका चाडपर्वहरु पनि सहरिया भैसके। कहीँ कतै त देखावटीकै लागि पनि झुल्किन्छन्। सेल्फी खिच्न र फेसबुकका वालहरु रंगाउन पनि उत्तिकै सहयोगी बनिदिन्छन्। जे होस् ती जे जसरी आइरहेका भए तापनि तिनी भित्रै जिज्ञाशाका फाँटहरु छन्।
लोकमानसभित्र अतित र वर्तमानको महत्व दर्साएकै छन्। पृथ्वीको सौन्दर्यलाई बढाइरहेकै छन्। सबैभन्दा बढी त बेलाबखत सम्राइ लगाइरहेकै छन्। आज काफली शिखरको जात्रा पनि हो। जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। तर पनि हिजै बाटो तताइसके कतिपयले। कतिपय पाइलाहरु बिहानैदेखि बाटो लागिसके। काफली शिखरको जात्रा गाउँगर्खाकै महत्त्वपूर्ण र लोकप्रिय जात्रा हो। हरेक तेस्रो वर्ष लाटा देवताको धामी चुर जान्छ यहाँ। चुरको अर्थ हो डरलाग्दो भीर। जुन कठोर चट्टानबाट निर्मित छ। काफलीको माडौं (मन्दिर) चट्टानमाथि निर्मित छ। माडौंको पछाडीपट्टि डरलाग्दो भीर छ। चट्टानको बीचमा एक बित्ताको सानो खुड्किलो छ। धामी काँपेर माथिबाट हाम फाल्छ र त्यो खुड्किलोमा पलेटी कसेर बस्छ। जादुगरले जादु गरेजस्तो, दर्शकका आँखामा इन्द्रजाल पारेजस्तो अजिबको दृश्य देख्न पाइन्छ त्यहाँ।
घाम अस्ताउने बेला धामी चुर जाने समय मानिन्छ। दिनभर कुहिरोको पछ्यौरी ओढिरहेको घनघोर लेकमा धामी चुर जाँदा एक्कासी देखापर्छन् सूर्यका किरणहरु। अनि वर्षिन थाल्छन् पानीका ठुल्ठूला थोपा। उक्त घामपनीको दृश्य धामी फर्किन्जेल मात्र रहन्छ। त्यसपछि पुनः पुरानै खाले मौसम देखापर्छ।
पूजारी रामचन्द्र ओझाका अनुसार वर्ष दिन भैसक्यो लाटा देवताको धामीले धर्ती छोडेको। नयाँ धामी बनाउन मान्यताप्राप्त अरु देवताका धामी र गर्खाका मान्छेहरु धेरै दिन राति बसिसके दर्जन जति युवाहरु काँपिरहेका छन्। को धामी बन्ने भन्ने अझैं टुङ्गो लाग्न सकेको छैन। गाउँघरतिर ठुलै राजनीति चल्छ नयाँ धामी बनाउन समेत। यो कुरा विस्तृत रुपमा आउने नै छ आगामी लेखमा।
जस्तोसुकै समय र परिस्थिति आइपरे पनि जिन्दगीको केन्द्रीय रसधारका रुपमा लिन सकिन्छ मध्य तथा सुदूरपश्चिमका चाडपर्व र गीत संगीतलाई। हाम्रा चापर्वहरु जिन्दगीमा गतिशिलताका आयामहरु हुन्। मनोरञ्जनका सुन्दर छटाहरु हुन्। आफन्त इष्टमित्र शुभचिन्तकहरुसँग भेटघाट गर्ने आत्मीयताका पछ्यौरी पनि हुन्। गीतसंगीत चाडपर्व, भेषभूषा यी सबैले बनाइरहेका हुन्छन् जिन्दगीलाई महनीय। थपिरहेका हुन्छन् पलपलमा ऊर्जा।