चारैतिर बेस्सरी हावा चलिरहेको छ। जोडसँग चलेको हावाको वेगले पात पतिङ्गर सबै उडाएर लग्दैछ। तर यसले उडाउन सकेको छैन मेरो मनको वेदना र छट्पटीलाई। मेरो आँखाले भ्याउनेसम्मको दृश्य मैले बार्दलीमा बसेर हेरेँ। घरको बार्दलीबाट देखिने झिलीमिली बत्ती, ठूला ठूला भवन र समुन्द्रको छालहरु सबै निहालेर हेरेँ। अनौठो किसिमको अनन्दको अनुभूति भयो।

ढोकाको घण्टी बज्यो, मैले गएर ढोका खोलेँ। मेरी अर्धाङ्गिनी कल्पना आएकी रहिछे काम सकेर। ढोका खोल्दै मैले भनेँ, ‘आज छिटो आयौं त कामबाट,’ मेरो बोली भूईँमा झर्न नपाउँदै उसको बोली निस्कियो, ‘किन? तिमीलाई म बाहेक अरू कसैको प्रतिक्षा थियो कि?’

उसको अनेपेक्षित जवाफ सुनिसकेपछि मलाई उसँग दोहोरो बोल्ने र उसको कुरा सुन्ने ईच्छा भएन। केही खान पनि मन लागेन त्यसैले चुपचाप आफ्नो कोठामा गएर समय अगावै सुत्ने कोशिश गरेँ। निन्द्रादेविले घुम्टो ओढाउँछिन् कि भन्ने आशमा म ओल्टेकोल्टे फेरिरहेँ। तर निन्द्रादेविले चिहाएर पनि हेरिनन् मलाई। उठेर पानी पिएँ र फेरि पल्टिएँ। मनभित्र उही विरानो जन्मथलोमा बितेका सम्झनाका छालहरु उर्लिन थाले।

***

‘छोरा राम्रोसँग सोचेर कदम चाल्, जिद्दी नगर्। तँलाई गंगाले कति धेरै माया गर्छे अनि तँ उसलाई छोडेर कल्पनासँग विवाह गर्न किन चाहन्छस्?,’ आमाले रून्चे स्वरमा भन्नुभयो। मैले उहाँलाई सम्झाउँदै भनेँ, ‘मायाले मात्र केही हुँदैन आमा, मैले भविष्यको बारेमा पनि सोच्नुपर्छ। के गरौं म गंगासँग विवाह गरेर? यहीँ गाउँमा हलो जोतेर, भारी बोक्दै गाउँबेसी धाएर बसुँ? अनि के काम मैले काठमाडौंमा पढेर बि.ए पास गरेको? अब तपाईँले आलाप विलाप गरेर केही हुँदैन आमा। मेरो र कल्पनाको विवाह गरेर न्यूजिल्याण्ड जाने योजना बनिसक्यो। म कुनै पनि हालतमा कल्पनासँगै विवाह गर्छु। सक्नुहुन्छ भने मेरो र कल्पनाको विवाह गराइदिनुस्। सक्नुहुन्न भने अश्रुधारा बगाएर मेरो मन क्षीण नबनाईदिनुस्। अनि सम्झनुस् तपाईहरुको एउटै छोरा थियो जो अहिले मर्‍यो।’

आमाले बेस्सरी मेरो गालामा आफ्नो हातले चड्काउनुभयो। उहाँको स्वर ठूलो भयो, ‘महेश तँलाई थाहा छ? तँ के भन्दैछस्,’ बुझ्ने भएदेखि त्यो मेरी आमाको पहिलो अप्रिय चड्कन थियो। घरमा त्यहीँ सानो कुराले ठूलो कोलाहल सृजना गर्‍यो।

दिन बित्दै गए। गंगा मसँग नजिकिने बाहना खोज्थी अनि म उसँग दूरी कायम गर्न चाहन्थेँ। मैले त्यतिखेर भौतिक सुख, कल्पनाको साथ अनि न्यूजिल्याण्ड शहरबाहेक केही पनि देखिनँ। गंगा एकनासले मलाई फोन गरिरहन्थी, घरमा भेट्न आउँथी। त्यति मात्रै कहाँ हो र ? घरमा केही पर्‍यो भने निर्धक्कसँग आमाको काम सघाउँथी। बारम्बार आफूले मलाई माया गरेको कुरा बताईरहन्थी। मेरो फोन रिचार्ज गर्दिन्थी अनि म त्यही गंगाले रिचार्ज गरेको फोनबाट अरूसँग निर्धक्क कुरा गर्थेँ। तर पनि जब जब उसले मायाको कुरा गर्थी। म झर्केर भनिदिन्थेँ, ‘यो सानो गाउँबाहेक तिमीले केही देखेकी छैनौं। तिम्रो जीवन यहीँ गाउँको चार कुनामा सिमित छ। तिमी जस्ती सोझी केटीसँग मैले जीवन बिताउने कुरा सोचेको पनि छैन। त्यसैले मेरो घरमा आउने वा मेरो परिवारसँग नजिकिने काम बन्द गरिदेउ।’ मेरो कुरा सुनेर गंगा धेरै रोई तर कल्पनाको मायामा जमेको मेरो मनलाई गंगाको आँशुले पगाल्न सकेन।

हजुरआमा, हजुरबुवा, बुवा, आमा, बहिनी र म भएको परिवार थियो हाम्रो। कान्छी बहिनी ३ वर्ष पूरा भएर ४ वर्ष लाग्नासाथ भगवानको प्यारी भई। निमोनियाले ग्रस्त भएकी मेरी बहिनीको समयमै उपचार हुन नसकेर ऊ सबैको पालो उछिनेर अघि गई।

कान्छी बहिनीले छोडेर गएपछि एउटी माईली बहिनी र म मात्रै थियौं बुवाआमाको सन्तानको रूपमा। मेरो बुवा आमालाई ममाथि पूरा विश्वास थियो कि म उहाँहरुको बुढेसकालको साहरा बन्न सक्नेछु। उहाँहरुको मृत्यु पश्च्यात शरीरमा दागबत्ति मैले नै दिनेछु।

कल्पनासँग विवाह गर्ने मेरो निर्णयले घरमा कसैलाई खुशी बनाउन सकेन। घरमा मसँग कोही पनि बोलेनन्। म बेलाबेलामा काठमाडौं जाँदै फर्किदै गरिरहेको थिएँ। गंगाले हाम्रो घरपरिवारमा यस्तो छाप छोडेकी थिई कि मेरो घरपरिवारले उसलाई बुहारी बनाउने सपना देखिसकेका थिए। यहाँसम्म कि, मलाई सधैं आफ्नो आँखाको नानी सम्झिने मेरी प्यारी हजुरआमालेसमेत यो कुरामा मेरो साथ दिन छोडेर अरूको पक्ष लिनुभयो।

सबैजना मेरो विरूद्धमा उभिएर गंगालाई बुहारी बनाउने हठ नछोडेपछि एकदिन बुवा, आमा, हजुरआमा हजुरबुवा अनि बहिनीलगायत परिवारका सबै सदस्यको सपनालाई गलत्याएर म घर छोडेर हिडेँ। मसँग साथमा अलिकति पैसा र झोलाबाहेक केही थिएन। निस्किँदा निस्किँदैं बुवाले चर्को स्वरमा भन्नुभएको थियो, ‘आवेशमा आएर घर छोडेर त गईस् महेश, तर आईन्दा यो घरमा पाईला नटेकेस्।’ मैले उस्तै गरी भनिदिएँ, ‘मलाई पनि कुनै रहर छैन तपाईको घरमा आउन। बरू पछि आफैंले फोन गरेर नबोलाउनु होला। म अब आउनेवाला छैन।’

घरबाट निस्केपछि मैले एकपटक पनि फर्केर हेरिनँ। बस चढ्ने ठाउँ आउनै लाग्दा गंगासँग जम्काभेट भयो। जे नहोस् भन्ने थियो त्यहीँ भयो। उसको कपाल तीन चार दिनदेखि नकोरेको जस्तो सबै एकैठाउँमा गुटमुटिएका थिए। आँशुले भरिएका आँखाले हेर्दै उसले भनी, ‘तपाईका परिवारको मलाई बुहारी बनाउने सपना थियो। तर परिवारले मात्रै सोचेर के नै हुँदो रहेछ र? जिन्दगी बिताउनेले वास्ता नगरेपछि। राम्रोसँग जानुहोला। आफ्नो ख्याल राख्नु ..... बोल्दा बोल्दै गंगाको स्वर काँप्यो। मैले केही जवाफ नफर्काएर आफ्नो बाटो लागेँ।

काठमाडौं पुगेर म सिधै कल्पनाको कोठामा गएँ। कल्पनाको परिवार गाउँमै बस्थे। अनि ऊ एक्लै काठमाडौंमा बस्थी। मैले उसलाई भेटेर सबैकुरा सुनाईदिएँ। मेरो कुरा सुनेर उसले मेरो हात समाएर भनी, ‘म तिम्रो साथ कहिल्यै पनि छोड्दिनँ तिमी अलिकति पनि पिर नगर। हामी छिट्टै मन्दिरमा गएर विवाह गर्नेछौं,’ उसको कुरा सुनेर मैले ढुक्कको सास फेरेँ।

केही दिनपछि हामी दुई जनाले मन्दिरमा गएर विवाह गर्‍यौं। त्यसपछि अदालतमा गएर विवाह दर्ता पनि गर्‍यौं। यो कुरा न कल्पनाको परिवारलाई थाहा भयो न त मेरो परिवारलाई। त्यसपछि जीवनका अनेक सहज, असहज खुड्किला पार गर्दै हामी दुबै जना यो न्यूजिल्याण्ड शहरमा आईपुग्यौं। सुरूसुरूमा मिठो प्रेमबाट सुरु भएको सम्बन्ध आज यहाँसम्म आईपुग्दा कता कता तितो भएको अनुभूति हुनथाल्यो।

हुन त यो शहर नै यस्तै छ। यहाँ सबैलाई एक एक सेकेण्डको महत्व हुन्छ कसैले कसैसँग बोल्ने फुर्सद पाउँदैंनन्। सायद त्यसैले होला आजभोलि मेरो र कल्पनाको पनि मुस्किलले भेट हुन्छ। एकदमै कम समय पाउँछौं हामीले एकअर्कासँग बिताउन तै पनि खै किन हो कल्पना त्यो थोरै समयलाई पनि सुन्दर पल बनाउन चाहँदिन। आजभोलि कल्पनाको व्यवहारले मुटु छिया छिया हुँदा मलाई घरपरिवार र गंगाको यादले सताउन थालेको छ। कहाँ छे होली बिचरी गंगा? मेरो यादमा अझै पनि आँशु बगाउँदै छे कि? छातिमा मेरै तस्वीर टाँसेर, घाँसको भारी बोकेर गाउँबेसी गर्दै पो छे कि?

कल्पना मस्त निन्द्रमा घुर्न थालिसकेकी थिई। तर ओच्छ्यानमा पल्टेको निकै बेर भईसक्दा पनि  मेरो आँखामा निन्द्रा आउने कुनै छाँटकाट थिएन। त्यसैले म फेसबुक खोलेर चलाउन थालेँ। अचानक आँखा ‘पिपल यू मे नो’ मा भएको तस्वीरमा गएर अडियो। ‘गहना’ नाम गरेको त्यो फेसबुक प्रोफाईलमा भएको फोटो ठ्याक्कै गंगाको जस्तो थियो। मन झस्कियो, ‘कतै यो गंगा त हैन?’ फोटो पनि कुनै विदेशमा खिचिएको जस्तो देखिन्थ्यो। नाम पनि अर्कै। फोटो पनि जम्मा एउटा मात्रै। त्यसैले त्यो गंगा होइन कि जस्तो पनि लाग्यो। मनभरी कौतुहलता जागे पनि मेटिन सकेन।

घरमा खानेकुरा जति सबै सकिएकोले त्यसदिन सपिङ जाने योजना थियो। त्यसैले म र कल्पना दुबैको छुट्टी भएकोले सामान किन्न निस्कियौं। भित्रभित्र दुबैजना अप्रशन्न भए पनि बाहिर प्रशन्न मुद्रामा हिड्दै थियौं।

सुपरमार्केटभित्र छिरेर आफूलाई चाहिने सामान लियौं। काउन्टरमा पुगेपछि कल्पनाले मलाई सुपरमार्केटको एउटा कुना देखाउँदै भनि, ‘आज एकदम मःम खान मन छ। उता कर्नरमा गएर फ्रोजन मःम लिएर आउन, म यो सामान लिएर पार्किङ तिर जाँदै गर्छु।’ म कल्पनाकै निर्देशन अनुसार फ्रोजन मःम लिएर काउन्टरतर्फ जाँदै थिएँ अचानक म कोहीसँग ठोक्किएँ। उसले बोकेको सामान सबै खस्यो। मैले ‘आईएमसरी’ भन्दै उसको छरिएका सामानहरु उठाउन थालेँ। उसको मुहारमा मेरो आँखा गयो। उसले पनि हेरेको हेर्‍यै भई अनि म पनि हेरेको हेर्‍यै भएँ।

मेरो अगाडि गंगा उभिएकी थिई। कोही केटी आएर ऊतिर बढ्दै भनिरहेकी थिई। ‘गहना लेट्स गो।’ ऊ केही नबोली त्यहाँबाट निस्की। म सोच्न बाध्य भएँ, ‘गहना, गंगा यो सब के हो?’ मेरो मथिङ्गलमा हजारौं प्रश्नहरु खेल्न थाले। त्यो गहना भन्ने केटी गंगा जस्तो देखिएको कतै मेरो भ्रम त होइन?’

बेलुका फेसबुक चलाउँदा त्यहीँ सुपरमार्केटमा भेटिएकी ‘गहना’ नामको केटीको मलाई म्यासेज आयो जुन यसप्रकार थियो।

‘हेलो महेश जी !

 कुनै दिन तपाईँको जीवनमा अटाउन नसकेकी म सायद आज तपाईँको फेसबुकमा पनि अटाउँदिन होला। त्यसैले फेसबुकमा जोडिने दुस्सााहस मैले गर्न सकिनँ। आज प्रोफाईल खोजेर एउटा म्यासेज गर्ने हिम्मत चाहिँ जुटाएकी छु।

तपाईँले बेवास्ता गरेपछि मैले पनि आफ्नो परिचय बदल्न खोजेँ। त्यसैले मैले आफ्नो नाम गंगाबाट ‘गहना’ बनाएँ। त्यतिमात्रै होइन गाउँमा बस्दा तपाईँको यादले मलाई धेरै सताउने भएर मैले गाउँ छोडेर शहर बस्ने निर्णय गरेँ। तर मेरो भाग्यले मलाई पूरै देश नै छोड्न बाध्य गराएर यहाँसम्म लिएर आयो।

 मलाई आशा छ तपाईको जीवनमा सबै ठीक छ होला। मलाई थाहा थिएन तपाईँ यहीँ  हुनुहुन्छ भन्ने। भाग्यको खेल पनि कस्तो? जो मानिसले जीवनभर मलाई मन पराएन, घृणा गरिरह्यो त्यहीँ मानिससँग फेरि एकपटक भाग्यले ठोक्कायो। सपना हो वा विपना मैले त सोच्नै सकेको छैन। जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन् सायद हाम्रो जीवनमा पनि जे भयो राम्रै को लागि भयो। तपाईँले जीवनमा लिएको निर्णयले तपाईँलाई सधैं खुशी मिलोस्। कल्पनाको माया भरपूर मिलोस्। अरू त केही छैन मसँग लेख्नलाई। आफ्नो ख्याल राख्नुहोला। टेक केयर बाई।’

गंगाको म्यासेज पढेर म निशब्द भएँ। उसलाई के थाहा नौनी जस्ती कोमल कल्पना अहिले ढुंगाजस्तै साह्रो भएकी छे भन्ने। मैले उसको लामो म्यासेजको छोटोमात्रै रिप्लाई दिएँ, ‘मिल्छ भने मसँग एकपटक भेट गंगा। तिमी मसँग गहना बनेर होइन यसपटक मैले गाउँमा बेवास्ता गरेर छोडेको मेरी गंगा बनेर भेट।’ मैले धेरैपटक अनुरोध गरेपछि गंगा मसँग भेट्न राजी भई।

भोलिपल्ट गंगा मलाई भेट्न आई। तर ऊ एक्लै आईन। गंगा कोही पुरूषसँग आई अनि ऊतर्फ ईसारा गर्दै मलाई भनी, ‘उहाँ मेरो श्रीमान’ मेरो मन नराम्रोसँग बिझ्यो। उकुसमुकुस भयो। सास फेर्न गाह्रो होला जस्तो भयो। विगतमा मैले उसलाई जतिसुकै तिरस्कार गरेको भए पनि म उसलाई कसैको साथमा हेर्न चाहन्न थिएँ। गंगाले चिनाएपछि उसको श्रीमानले औपचारिकताको लागि मलाई नमस्कार गरे। निकैबेरको सामान्य भलाकुसारीपछि उनी भन्दै थिए, ‘कसैले ठिकै भनेका थिए हरेक सफल पुरूषको पछाडि महिलाको हात हुन्छ। अब मलाई नै हेर्नुस् न। त्यस्तो सामान्य ठाउँमा जन्मेकी गहनाले मलाई हरेक दु:ख सुखमा साथ दिई। आज म जे छु जस्तो छु त्यसको श्रेय सबै गहनालाई जान्छ। गहना मेरो जीवनमा नआएकी भए कसरी सजिन्थ्यो र मेरो जीवन। जसरी सुन्दर गहनाले मानिसहरुको गला सजिन्छ त्यसैगरी यो गहनाले मेरो जीवन सजाईदिएकी छ।’

उसको श्रीमानले बोलिरहँदा मैले सोचेँ, ‘जुन गंगालाई मैले ढुंगा सम्झेर कुनै दिन तिरस्कार गरेको थिएँ आज उहीँ गंगा हिरा बनेर उसको श्रीमानको जीवनमा टल्किरहेकी छे। अनि गहना बनेर सजिएकी छे।’

प्रकाशित मिति: : 2020-08-29 14:02:00

प्रतिकृया दिनुहोस्