‘पत्रकारिता हराएको सूचना!’

सूचना! सूचना! सूचना! पत्रकारिता हराएको सूचना! कसैले कतै फेला पार्नु भएको खण्डमा नजिकैको समाजमा सम्पर्क गराइदिनु होला! समाज बोल्ने आवाजको खोजिमा छ।

मानिसहरू राष्ट्रको चौथो अंगको खोजिमा छन्। मानिसहरू पत्रकारिताको शक्तिको पर्खाइमा छन्। मानिसहरू न्यायको पर्खाइमा छन्। मानिसहरू समाज रूपान्तरणको अस्त्रको खोजीमा छन्। मानिसहरु दरिलो प्रतिपक्षीको भूमिका आभास गर्न चाहन्छन्।

अँ! साँच्चि, पत्रकारिता हरायो कहाँ? पत्रकारिता बिक्यो कहाँ? पत्रकारिता छुट्यो कहाँ? पत्रकारिता बिलायो कहाँ? पत्रकारिता झर्‍यो कहाँ?

हजुर! पत्रकारिता त्यो दिनदेखि हराएको छ, जुन दिनदेखि पत्रकार समाजका निम्ति भन्दा बढी नेताका गुनगानमा रमाउन थाले। पत्रकारिता त्यो दिनदेखि बिक्यो जुन दिनबाट न्यायलाई परास्त गर्न अन्याय बजारमा छ्याप्छ्याप्ती छापिन थाल्यो। पत्रकारिता नेताका घरमा डेरा जमाएर बसेको छ। सायद उतै छुट्यो।

पत्रकारिता त्यहाँ बिलाउदै गयो जहाँ ऊ समाजलाई बिर्सदै सामन्तको प्यादा बन्यो। पत्रकारिता कर्मचारितन्त्रको पैताला मुनि झर्‍यो अनि त्यहाँबाट माथि उठ्न सकेन।

पत्रकारिता पुछारमा पुग्यो। पत्रकारिता कौडिको भाउ विकाउ हुँदैगयो। राजनीतिको वेश्यालय, जहाँ पत्रकारिताको ल्हाछी लुछ्न कसैले बाँकी राखेनन्। नेता, कर्मचारी, अर्काको अधिकारका निम्ति लड्ने अधिकारकर्मीसम्म। अरूको प्यास मेटाउँदा मेटाउँदा आफ्नो अस्मिता गुमेको त पत्तै पाएन पत्रकारिताले।

पत्रीकारिताले डा. गोविन्द केसीलाई चिन्दैन। किनकि पत्रकारसँग माथिको आदेश हुँदैन कि डा. केसीलाई चिन्नु पर्ने, कुनै कारण हुँदैन वास्ता गरिहाल्नुपर्ने। पत्रकारिताले माने पनि आखिर पत्रकारले मान्दैन। किनकि डा. केसी कसैलाई बक्सिस् दिने वाला छैनन्। डा. केसी कसैलाई नियुक्ति दिने वाला छैनन्। डा. केसी आफै जोगी हुन। अनि पत्रकारिता र पत्रकार चिन्छ त जोगीलाई?

त्यसैले त आज गणतान्त्रिक नेपालमा डा. केसीलाई नजरबन्दमा राखेझैं गरि होटेलबाट निस्किन नदिइ  राख्दा पनि बोलेन बिकेको पत्रकारिता, अनि कलम चालाउने पत्रकार। ऊ प्रेसको कार्ड भिर्छ फ्रेस भएर हिँड्छ तर देख्दैन गल्लि गल्लिका समस्याहरू। किनकि उसलाई ती गल्लीहरूबाट कमिसन आउँदैन।

सरा विश्व पत्रकारिताले हल्लाई रहेको बेला, मेरो देशमा नी, पत्रकारिता हल्लिन्छ! तर फरक यति मात्रै हो, विश्वभर पत्रकारिता जगतको वाह! वाही हुँदै गर्दा, मेरा देशका पत्रकारहरु मुट्ठी बटार्दै पार्टीको सपथ ग्रहण गर्छन्। कतै नेताको चाकरीकै भरमा चार पुस्तालाई पुग्ने सम्पत्ति कमाउँछन्।

पत्रकारिता तब अस्तित्व गुमाउन पुग्यो, जब पत्रकार भनेर प्रेस पास भिर्नेहरु पत्रकारितामा नै फेल भए। अनी मैले सम्झिएँ मर्दै गरेको न्याय र ढोङ्ले लिप्त भएको समाजलाई। फेरि सोचेँ, यहाँ पत्रकारिता त हराएको मात्रै रहेछ। मानव धर्म त मरिसकेछ।

मानिसहरु त्यस्तो पत्रकारिताको खोजिमा छन्, जहाँ पत्रकारले सरकारलाई खबरदारी गर्न सकोस्। मानिसहरु त्यस्तो पत्रकारको खोजिमा छन् जहाँ पत्रकार राष्ट्रको चौथो अंगको रुपमा पेश हुन सकोस्। मानिसहरू त्यो कलम देख्न चाहन्छन्, जुन गरिबको झुपडीमा र स-साना गल्लीमा पुगोस नाकी ठूला ठूला महल तिर मात्रै बक्सिस लिने हात तन्काउनलाई होइन।

सबल समाजको निर्माणमा पत्रकारिता अग्रस्थानमा रहन्छ। त्यहि अनुसारको सम्मान पाउँछ, पत्रकारले। तर बिडम्बना मेरो देशमा पत्रकार छ, उसले झोलेको संज्ञा पाउँछ।

फरक यत्ति हो! समाजवादी पत्रकारिताले जगत बनाउँछ। व्यक्तिवादी पत्रकारिताले समाज अन्धकार तर्फ धकेल्छ।

पत्रकारिता आफैंमा क्रान्ति हो! नेपालकै इतिहासमा पत्रकारिताको भूमिका अहम् नभएको होइन। हजारौं दुःखलाई चिर्दै स्थापना भएको पत्रकारिता मुम्बईका गल्लीमा बाइक बिकेझैं बिकेको देख्दा हरायो भन्नु स्वभाविक नै हुन्छ।

पत्रकारिता सधैं प्रतिपक्षी हुन सक्नुपर्छ। सरकारका गल्ती कमीकमजोरीलाई खोजिखोजि खबरदारीको आवाज बन्न सक्नुपर्छ। आजको विश्वमा समाज रुपान्तरणको जग बन्न सक्छ, पत्रकारिता।

निरिहको आश बनोस् पत्रकारिता। पीडितको विश्वास बनोस् पत्रकारिता। समाजले अपहेलित गरेको लागि लेख्ने हात बनोस् पत्रकारिता। मेरो देशमा पत्रकार छन् तर पत्रकारिता हराएको छ। त्यसैले यो सूचना प्रकाशित गरेको छु। यदि कसैले भेटाएमा नजिकैको समाजमा सम्पर्क गराइदिनुहोला। अन्धकारमा बाँचेको समाज उज्जवल पत्रकारिताको राहा हेर्दै छ।

प्रकाशित मिति: : 2020-08-28 14:05:11

प्रतिकृया दिनुहोस्