साउन २७ गते मंगलबार बिहान अन्तिम सास फेर्नु केही मिनेटअघि रोशन मुखिया भन्दैथिए, ‘डाक्टर मलाई बचाइदिनुहोस् । म राम्रो खेलाडी बन्न चाहन्छु। म पनि तपाईंहरू जस्तै बाँच्न चाहन्छु ।’
बिहानको करिब ६ बजे उनले बोलेको यो अन्तिम वाक्य हो। तर, उनको त्यो कारुणिक चित्कार सुनिदिने त्यहाँ कोही थिएन। साथमा भएका उनका बुबा ताराकुमारले पनि डाक्टरको खुट्टा समाए। तर, ती बाबुको केही उपाय चलेन।
अन्ततः रोशनले बिहान ६ बजे अन्तिम सास फेरे। बाबुकै आँखा अगाडि रोशन सदाका लागि बिदा भए।
त्यतिबेलासम्ममा कनकाई नगरपालिका-५ बेनुबाजा मृतक रोशनको घरमा प्रहरीले घेरा हालिसकेको थियो । 'हामीलाई अपराधीझैं व्यवहार गरियो, अस्पतालको व्यवहारले आजित नै भयो,’ मृतक रोशनका बुबा ताराकुमारले छोराको मृत्युमा चित्त बुझाउँदै भने, 'विश्वभर फैलिएको समस्या हो, हामीलाई मात्रै यस्तो परेको होइन।'
केही दिन पहिले गाउँमै भाले फुटबल प्रतियोगिता भएको थियो । राेशनको टिम पनि प्रतियोगितामा सहभागी थियो। खेलमा रोसन लडेर घाइते बनेको उनका साथीहरू बताउँछन्। त्यसपछि पनि उनी फुटबल खेलिरहेका थिए ।