कोरोनाका कारण ‘लकडाउन’ को अवधि बढ्दा तथा युवा अभिनेता सुशान्त सिंह राजपूतको निधनले भारतीय सिनेमा बलिउड थलिएको छ।
विगत ६ महिनाभित्र बलिउडले करिब १० हजार करोड रुपैयाँको नोक्सानी बेहोर्नु परेको फिल्म समीक्षकले बताएका छन्।
बलिउडका नामुद समीक्षक कोमल नाहटाका अनुसार एक वर्षमा बक्स अफिसमा ५५ देखि ६ हजार करोड रुपैयाँको व्यापार हुने गरेको छ। यसमा सेटलाइट र ओटिटीको अधिकारबाट ८ देखि ९ हजार करोडको व्यापार हुने गरेको छ। यसमा संगीत क्षेत्रले ३ देखि ४ सय करोडको व्यापार ओगटेको हुन्छ।
कोरोनाका कारण गत मार्चदेखि नै सिनेमा हल बन्द छन्। यसले गर्दा कुनै सिनेमा हलमा फिल्म लागेको छैन। हल खुला नहुँदा फिल्म निर्देशकले ओटिटीको सहयोग लिनु परिरहेको छ। सेटलाइटकर्मीले पनि कारोनाको बढ्दो प्रभावका कारण फिल्म निर्माताहरूलाई कम पैसा दिएर फिल्म किनिरहेका छन्।
हालसम्म ओटिटीमा १५ देखि २० वटा फिल्मको मात्र सम्झौंता भएको छ। यसमा ‘गुलाबो सिताबो’, ‘दिल बेचारा’, ‘शकुन्तला देवी’, ‘रात अकेली हैं’, ‘लुटकेस’, ‘यारा’, ‘मी रकसम’ जस्ता फिल्म रिलिज भएका छन्। अब ‘लक्ष्मी बम्ब’, ‘भुजः प्राइड अफ इन्डिया’, ‘सडक–२’ जस्ता फिल्म रिलिज हुन बाँकी छ।
कोरोनाका बीच ४५ वटा नयाँ फिल्म निर्माण हुने घोषणा भएको थियो। तर, यी सबैमा अहिलेसम्म काम भएको छैन। अक्षय कुमार र आमिर खान जस्ता अभिनेताले काम सुरु गरेपनि अन्यको हकमा त्यस्तो छैन।
यसबीचमा रिलिज हुन नसकेको दुईवटा फिल्मको बजेट २ सय करोडको हाराहारीमा छ। ‘सूर्यवंशी’ र ‘८३’ को कूल बजेट २–२ सय करोड हो। यी दुबै फिल्मका निर्माताले मार्च र अप्रिल महिनाको ब्याज मात्र ३५–३५ करोड तिर्नुपर्ने हुन्छ। फिल्म निर्माताले फिल्म बनाउन मिटर ब्याजमा पैसा लिने गर्छन। यसैकारण फिल्म रिलिजको मिति जति लम्बियो, त्यति उनीहरूलाई घाटा हुने गरेको छ।