होड केको? बिर्सेर बसौं न
ईर्ष्या केको? हाँसेर बोलौं न
यो शीत युद्ध केको? कपट खोलौं न
एक्लै हिमाल चडेर के गर्नु? सँगै बढौं न
अहम केको? खोलामा बगौं न
दुई दिन जिन्दगीको मिलेर बाचौं न
होला म सयपत्री, तिमी मखमली
भगवानको ह्रदय हाम्रै सुवासले झिलिमिली
एउटै न्यानो फूलबारी हाम्रो
एउटै घाम उस्तै पानी हाम्रो
एउटै आकास र जून हाम्रो
यही माटोमा मिल्ने शरीर हाम्रो
उस्तै हावाले कुद्ने धडकन हाम्रो
फेरि किन दिनरातको अर्कै
उद्यान खोज्ने प्रयास हाम्रो?
एकचोटि यस्तो सोचौं न
ईन्द्रधनुषको रङलाई भिन्नाभिन्नै छुट्याएर राखौं न
के छुटिएर त्यो कविको
कविता बन्न सक्ला?
संसारमा एउटा सुनौलो इतिहास रच्ला?
हामिले त नयाँ नयाँ कालिदास जन्माउनुछ
ओइलाएको फूलबारी लहलाउनु छ
संसारलाई हामी को हौं चिनाउनु छ।
सय फूलको मिलेर उत्तम सुगन्ध छर्नुछ