(गद्य कविता)
ऊ निष्ठुरी छ निर्दयी पनि छ
छैनन् ती करूणाका शब्दहरु ऊसँग
छैनन ती मर्मस्पर्शी पङ्क्तिहरु
त्यसैले त
ऊ बयान गर्न सक्दैन
न प्रशंसा नै गर्न सक्छ
ती गरीबहरूका कलाको
ती निर्धाहरूका निश्चल सुन्दरताको
ती टुहुराका अलौकिक प्रतिभाको
ती दीन दुखीका असली गुण र रूपको ।
किनकि
ऊ कठोर मान्छे
ऊ फलामको मान्छे
हो पग्लिन सक्तैन ऊसको कठोर हृदय
रसाऊँदैन ऊसको फलामे मन पनि
ऊसले कहिल्यै पढेन संवेदनशीलताको पाठ
ऊसका पाठ्यक्रममा थिएनन
दया,करुणा अनि सहानुभूति जस्ता नैतिक शिक्षा हरू।
ऊ बुझ्दैन कसैको पीडा
जान्दैन घाईते मनहरुमा मलमपट्टी गर्न
छैन ऊ सँग दयनीयता
जाग्दैन ऊ भित्रको मानवता
किनकि ऊसले प्रेम र आत्मीयतालाई सधैंका लागि
हटाइ सकेको छ आफ्नो हृदयकोषबाट
ऊसले मानवताको कायामा
दानवताको काँचुली फेरेको छ ।
ऊ मान्छे नभएर
मान्छेको मखुण्डो लगाएको
कृत्रिम मान्छे बनेको छ
मात्र मान्छे
मानवता विनाको मान्छे
प्रतिबिम्बित मान्छे
मात्र मान्छे ।