अहिलेको युग भनेको प्राविधिक सञ्चारमाध्यमको युग हो। दुनियाँको हरेक कुरा प्रत्यक्ष एवं अप्रत्यक्ष सञ्चारमाध्यमसँग जोडिएकै देखिन्छ।
पछिल्लो समय मानिसहरू सञ्चारमाध्यममा यतिसम्म आश्रित भईसकेका छन कि, आफ्नै आँखाले देखेको तथा कानले सुनेको घटना पनि सञ्चारमाध्यमद्वारा सुनेर, पढेर या देखेर मात्र विश्वस्त हुन्छन्।
इन्टरनेटको सुविधाले प्रिन्ट, श्रव्य र दृश्य सञ्चारमाध्यमलाई सामाजिक सञ्जालसँग जोडेको छ। अर्बौको संख्यामा मानिसहरू सामाजिक सञ्जाल (फेसबुक, ट्विटर र इन्स्टाग्राम) सँग जोडिएको छन्। कम समयमा बढ़ी सूचना पाठकवर्गसम्म प्रवाह गर्ने सबैभन्दा सजिलो र द्रूत माध्यम अहिलेको समयमा सामाजिक सञ्जाल बनेको छ। यसैले प्रत्येक सञ्चारमाध्यम अहिले सामाजिक सञ्जालसँग ज़ोडिएका छन्।
सामाजिक सञ्जालमा सबै सञ्चारमाध्यमले सामाचारको लिंक या भिडिओ शेयर गरेको देखिन्छ। सञ्चारकर्मी पनि आफूले लेखेको समपूर्ण समाचार सामाजिक सञ्जालमा पोष्ट गरेका हुन्छन्।
यसको मूल उद्धेश्य आफ्नो मिडियाको टीआरपी बढाउनु हो। साथै छोटो समयमा आफ्ना समाचार पाठकमा पुर्याउँदै आफ्नो पहिचान स्थापित गर्नु हो।
ज्ञान र अनुभवको अभावमा धेरैले सामाजिक सञ्जाललाई ब्यक्तिगत मञ्चको रूपमा लिएका छन्। र आफुखुशी मनपरि लेखेको पनि देखिन्छ।
सामाजिक सञ्जाल व्यक्तिगत नभएर सार्वजनिक मञ्च भएको बुझ्न अतिआवश्यक हुन्छ।
आम जनताले पनि सामाजिक सञ्जालमार्फत समय सान्दर्भीक कुरा उठाएको देखिन्छ। सम्बन्धित निकायको पनि ध्यानाकर्षण भएका थुप्रै उदाहरणसमेत पाइन्छ। सामाजिक सञ्जालमा समाचार लेख्नु वा स्ट्याटस लेख्नु जोखिमपूर्ण र जिम्मेवारीपूर्ण काम हो।
सामाजिक सञ्जालमा जनमुखी व्यक्तित्व या सञ्चारमाध्यमले लेखेको कुरा पढ़नेको संख्या अरूको तुलनामा अधिकमतम् भेटिन्छन्। यसरी सामाजिक सञ्जालमा लेखक या सञ्चारकर्मीको लेख्ने शैलीले उनका पाठकवर्गको लेख्ने, सोच्ने, बुझ्ने र काम गर्ने मानसिकताको निर्माण गर्छ।
भाषा तथा शब्द प्रस्तुतिको शैली, तथ्य र त्यसको प्रमाणीकता, समय सीमा, शब्द सीमा, पाठकको रूचि र स्तर तथा सामाजिक संवेदनशीलता र सम्प्रदायिक सन्तुलनलाई ध्यान दिनु अति आवश्यक हुन्छ।
भाषा, अनुभव तथा ज्ञानको अभावले सामाजिक सञ्जालमा लेख्दैमा अनेकौं घटना तथा दुर्घटना भएको देखिन्छ। सामाजिक सञ्जालमा लेखेको स्ट्याटस कै कारण बितेको महिनामा भारतको बैंगलोरमा साम्प्रदायिक सन्तुलन बिग्रियो र दंगा भड्कियो। त्यस दंगामा ३ जनाको मृत्यु हुनुका साथै १६५ जनालाई प्रहरीले हिरासतमा लियो। २००/३०० गाडीसमेत जलाइए।
नेपालमै फेसबुकमा स्ट्याटस लेखेर सामाजिक सद्भाव खलबलाएको भन्दै अनेकौ व्यक्तिलाई साइबर अपराध तथा विद्युतीय अपराध ऐन अन्तर्गत प्रहरीले पक्राउ गरी कारवाही गरेको छ। कतिपय भ्रष्टाचारमा लिप्त सरकारी तथा निजी जागीरसमेत गएको तथा कारवाहीमा परेको पनि पाइन्छ।
वीरगन्ज महानगरपालिकाकै एक स्थानीय पत्रकारले सामाजिक सञ्जाल फेसबुकमार्फत समाचार लेख्दा देशव्यापी भाइरल भएको ज्वलन्त उदाहरण हेरौं। सामाचार अनुसार एक हिन्दू समुदायका मानिसको मृत्यु हुँदा आफन्त र हिन्दू समुदायका गाउँले कोरोना संक्रमणको डरले अन्तिम दाह संस्कारमा जान नमानेपछि त्यहिँ टोलका स्थानीय मुस्लिम समुदायका व्यक्ति मिलेर हिन्दू रीतिरिवाज अनुसारनै उक्त मृतकको दाहसंस्कार गरेको भन्दै ती पत्रकारले दागबत्ति दिने मुस्लिम युवाले कपाल मुन्डन गर्दै गरेको तस्वीरसमेत सार्वजनिक गरे।
सामाजिक सञ्जालमा यो समाचार देशभरि आगो जस्तै फैलियो। जनप्रतिनिधिदेखि नाम चलेका पत्रकारलेसमेत तथ्य नै नबुझी शेयर गरे। कतिले हिन्दू समुदायप्रति नकारात्मक भावना र मुस्लिम समुदायप्रति सकारात्मक भावना लेख्दै हिन्दू समुदाय तथा संघसंस्थाप्रति समेत आपत्ति जनाए।
यो समाचार सार्वजनिक बहसको बिषय बन्न पुग्यो र अनेकौं सञ्चारमाध्यमको मुख्य खबर बन्यो।
अब समाचारको वास्तविकता हेरौं:
साउन-३२ गते वीरगन्ज-१३ निवासी बुबालाल साह केही समयअघि कोरोन संक्रमणपछि अस्पतालको आइसोलेसनमा बसेर उपचार गराई निको भए।
रिपोर्ट नेगटिभ भए पश्चात साहको स्वास्थमा समस्या देखियो र पछि वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा उनको निधन भयो। उनको अन्त्येष्टिमा मृतक परिवारका अफन्तहरु तथा हिन्दू समुदायका वडा सदस्यसमेत केही भद्र भलाद्मीहरुको उपस्थिति थियो। यद्यपी मुस्लिम समुदायको सहयोग पनि उल्लेखनीय रहेको भन्दै मृतककै आफन्तले फेसबुकमार्फत लिखित तथा भिडियो सार्वजनिक गर्दै जानकारी दिए।
वडाध्यक्ष तथा वडा सदस्यलेसमेत स्थानीय सञ्चारमाध्यममार्फत घटनाको जानकारी गराए।
कोरोना संक्रमणकाल र निषेधाज्ञाकै कारण अन्त्येष्टिमा मानिसको उपस्थिति नहुनु स्वभाविक कुरो हो। तर वडाध्यक्ष मुस्लिम समुदायका भए पनि उनको तथा केही मुस्लिम समुदायका युवाको सहयोगले दुई समुदायबीचको परस्पर सम्बन्ध र मानवताको परिचयलाई सकारात्मक दिशानिर्देश गरेको देखिन्छ।
सामाजिक सञ्जालमा लेख्दा सामाजिक संवेदनशीलतालाई जोगाईदिनु अति आवश्यक देखिन्छ। ती पत्रकारले लेखेको समाचार देशभरी नै भायरल भयो र सत्यतथ्यको आभावमा उनकै कारण जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियान्ता, राजनीतिक व्यक्तित्वको विश्वसनीयतामाथि धक्का लाग्यो। साथै शोकमा डुबेका पीड़ित मृतकका परिवारले थप पीडा सहनुपर्यो।
लेख्ने शैलीले लेखकको सामाजिक दायित्व र समाज एवं समुदायप्रतिको विचार उजागर गरेको देखिन्छ। ज्ञान र अनुभवको अभाव तथा लेख्ने शैलीका कारण जुन समाचारले समाज तथा समुदायमा परस्पर सामुदायिक सहयोग र धार्मिक सद्भाव सम्बन्धी सकारात्मक उदाहरण प्रस्तुत गर्नुको सट्टा उल्टो नकारात्मक प्रभाव पारेको देखियो।
पत्रकार तथा लेखकले आफ्नो लेखनप्रति संवेदनशील हुनु जरूरी देखिन्छ। बहुभाषिक, बहुधार्मिक तथा बहुसंस्कृतिक देशमा कसैको भाषा, धर्म तथा संस्कृतिमाथि सत्यता, प्रामाणिकता र ज्ञानको अभावमा नभएको कुरो सामाजिक सञ्जालमा लेख्नु त्यस्ता लेखक एवं पत्रकारको विश्वसनीयतामाथि प्रश्न खड़ा गर्छ। यस्ता प्रवृत्तिले सामाजिक सद्भाव बिगार्नु, सामाजिक सन्तुलन असन्तुलित गर्नु, पीडितलाई थप पीडा दिनु, सम्पूर्ण पत्रकारिता जगतको विश्वसनीयतामाथि धक्का पुग्नुसँगै अनेकौ व्यक्तित्वको चरित्रसमेत हत्या गरेको देखिन्छ।