प्रिय पाठकहरु नहतारिनुस्, नआत्तिनुस्, कृपया धैर्य गर्नुहोस्। प्रस्तुत शीर्षकको विषयमा सुरुमै केही कुरा आएन भनि नरिसाइदिनु होला। आश्चर्य पनि नमानिदिनु होला। यो लेखको लागि म तपाईँसँग ११ मिनेट माग्छु। मात्रै ११ मिनेट। पत्यार लागेन भने मोबाइलको स्क्रिनमा स्टेप वाच अन गर्नु होला। र अगाडि बढ्नुहाेला बढी भयाे भने त्यहीँबाट पड्न छाेडिदिनु हाेला। तपाईको ११ मिनेट मेरो। ११ मिनेटसम्म म तपाईँको।
सौदा मञ्जुर छ? छ भने म अघि बढे है त।
‘अठौर पिलो भयो!!’
(गुप्तांग, योनी, लिंग, मलद्वार वा स्तनमा।)
ठौर माने ठाउँ। अठौर भनेको कुठाउँ।
शरीरका सम्वेदनशील अंगलाई सजिलै चिनाउन मान्छेले लाज मान्यो। तर सजिलै भन्नु थियो। त्यसैले माथिका अंगहरुलाई अठौर भन्न थालियो। एक हिसाबले विभेद गर्न थालियो। सायद समाज वर्गीय हुनुभन्दा धेरै पहिले मान्छेको शरीर वर्गीय थियो। र मान्छेले शरीरबाटै सिकेर वर्गीय समाजको निर्माण गर्यो। जस्तो कि शिरमा लाउने टोपी र खुट्टामा लाउने जुत्तालाई उस्तै खालको सम्मान छैन।
पिलो भयो भने कति दुख्छ? यो सोधिरहने प्रश्न होइन। यो त भोग्ने हो। बरू पिलो नभोगेकालाई अल्पसंख्यक भन्न सकिएला। तर अठौर भएको पिलोको दुखाईमा सबैको अनुभव नहुनसक्छ। त्यो दुखाई चरम हुनसक्छ। असैय्य हुन सक्छ। सम्वेदनशील ठाउँ, कुठाउँ हुन थालेपछि भोगाई पनि जरजर हुनै पर्यो। त्यसैले जातीय समाजले एउटा भाष्यको निर्माण गर्यो, ‘डुम माग्न जान्नैन, पिलो हुन जान्नैन’।
माग्नेहरु सबै डुम?
ब्रतबन्धनमा कपाल खौरिएर जोगीको भेषमा ‘भिक्षा देउ माई’ भन्दै माग्ने बाहुन, क्षत्री, ठकुरी केटो। मागेरै गुजारा गर्ने मन्दिरको पूजारी। गाउँ डुलुवा देश घुमुवा, मागेर खाने एउटै मात्र स्रोत भएको जोगीको दंगल। जस खाने निउमा कुखुरा, खसी, हाँसलगायतका बलि माग्ने देउता र उनका प्रतिनिधि धामी।
पाठ पूजा, रुद्री, यज्ञ, महायज्ञ लाएर अन्न, रुपियाँ पैसादेखि दोपाया, चौपाया सबै माग्ने उपाध्याय वा जैशी बाहुन। अर्थात भगवानको नाममा माग्ने, नमाग्ने सबै मागेर लुट्ने बाहुन। ऐतिहासिक पृष्ठभूमि अध्ययन गर्दा शिष्यहरुले आफ्नो प्लस आफ्ना गुरुको भोजनको लागि मागेर छाक टार्ने गुरुकुलका शिष्य र गुरु। मागेरै ठूलठूला कार्यक्रम गरी देश बनाउने र विदेशसँग टक्कर दिने भाषण गर्ने राजनीतिक पार्टी र तीनका भगीनी संगठनका नेता कार्यकर्ताहरु। विदेशसँग हात पसारेर ऋण, दान माग्ने ओली, प्रचण्ड, कोइराला, देउवा, बाबुरामलगायत प्रधानमन्त्री हुनेहरु। यी सबैले नमागेको के छ?
सबैले लाजै नमानी माग्नु के जान्नु हो? वा माग्नमा डिग्री हासिल गर्नु हो? कि कसैले माग्न जान्नमा पिएचडी गरेको छ? के ओलीले विभिन्न विश्वविद्यालयबाट पाएका मानार्थ पिएचडीहरु माग्नमा एक्स्पोर्ट भनेर दिइएका हुन्? के ओलीले मागे जानेको वा बाहुन हुन्छ अनि सार्की, कामी, दामाईले मागे नजानेको वा डुम हुन्छ? माग्न कसले जानेको छ र फरक उपमा दिन सकिएला?
पिलो हुन नजान्ने हो भने माग्न नजान्ने माथिका तथाकथित मै हुँ भन्नेहरु नै हुन्। त्यसैले उनीहरु सबै डुम।
०००
जेपमा पैसा भएको दिन बढी खान सकिन्छ। फार्माइस गर्न सकिन्छ। (नगर्न पनि सकिन्छ)। आवश्यकता भन्दा बढी खर्च गर्न सकिन्छ। घरमा बढी खाना छ भने बढी खान सकिन्छ। खाँदाखाँदै बढी भयो भने साँचेर पछि खान सकिन्छ। फाल्न सकिन्छ। नभएको दिन कम खाएर चित्त बुझाउन पनि सकिन्छ। भालुले जस्तै बर्खाभरी अघाउन्जेल खाएर हिउँद हत्केला चाट्दै बस्न सकिन्छ।
समग्रमा यी मानवीय स्वभाव हुन। तर अश्वभाविक मान्दा भने जातसँग जोडिन्छ।
‘कात्तिका मुइना डुमा खोपा खोपा भात,चैता मुइना डुमा पुम्पडा हात’
(कर्णाली लोक संस्कृति, भौगोलिक दृष्टिकोण, स्थिर जंग बहादुर सिंह, पृष्ठ १९५)
कात्तिकमा मार्सी धान काटेपछि आलो स्वाद चाख्ने इच्छा कसको नहोला? ‘असौजे भेडाको झोल र कात्तिके चामलको भात’ उसै भनिएको होला र? मिठो एक गाँस बढी खान को नरूचाउला? बढी भइहालेमा साँझको बिहान, बिहानको साँझ खाउँला भनेर राख्दा आकास खसेको कहाँ छ र?
अभावमा निराश नहुने को छ? निराशामा गाला हात नलाउने को छ? ‘दुःखमा आत्तिनु हुन्न र सुःखमा मात्तिनु हुन्न’ त्यसै पढाइएको होला?
कर्णाली क्षेत्रमा धान कम फल्ने कुरा प्रमाणित नै हो। (स्वदेशी विज्ञानले ठूलै चमत्कार गरे अर्कै कुरा।) लगातार भात खायो भने खेत राम्रै भएकालाई पनि पुग्ने भनेको मुस्किलले छ महिना हो। यस हिसाबले चैतसम्म सबैको घरमा अभाव भइसकेको हुन्छ। त्यसमाथि चैतमा खडेरी पर्छ। अब निराशा ल्याउने चैतमा पुम्पडा (गाला) हात नलगाए के गुप्ताङ्गमा लाउने?
घरमा बढी भएको, त्यसमा पनि मिठो खाना बासी रहेमा बाहुन, क्षेत्री, ठकुरीले पछि खाउँला भनि राख्ने गरेका छैनन्? नहुँदा गालामा हात लाएर चैतको हुरीसँगै मन उडाएका छैनन्? त्यसो हो भने बासी भात राख्ने र गाला हात लाएर टोलाउनेहरु सबै डुम त भए नी! कि सार्की, कामी, दामाईले माथिको उखान बनाउनेकी जोइ लिएको थियो र, ती मात्रै डुम भए?
०००
परपर भुटेको मासुमा हतारै पानी हालीयो भने कुनै आइतबार नकुरी भनिन्छ, ‘डुमा जो मासु भुटैलो।’
चित्त नबुझेको खुवाइ, ‘डुमा जो खुवाइ।’ चित्त नबुझेको बोलाबोल (झगडा), ‘डुमा जो खल।’ नसुहाएको लगाई, ‘डुमा जो लवाई।’ होर्दा नराम्रा लाग्ने जति, ‘डुम जा।’ उनले मानेको डुम पनि साह्रै राम्रो हुन नहुने वा राम्रो हुने अधिकार समेत नभएजस्तो। राम्रा भइहाले ती हुन्छन्, ‘बाहुन, ठकुरी जा।’ ‘जो,’ ‘जा’ माने जस्ता।
सार्की, कामी, दामाई राम्रो पहिरनमा देखियो भने वा आफ्नो जात अनुसारको पेशा नअंगालेमा बाहुन ठकुरी भन्छ, ‘हेद्दाइ डुमा फुत्ति’। अर्थात हैसियत भन्दा माथि भएको वा हुन खोजेको।
०००
सबैतिरबाट अगाडि आउन नसक्ने गरी पर्खालहरु लगाइएको भए पनि अभिमन्यूले झैं जंजिरहरु तोड्दै ऊ राजनीतिमा आयो। ऊ अर्थात प्रदेश सभा सांसद दानसिंह परियार। दानसिंह परियार मैले हालसम्म नभेटेको पात्र हो। त्यसैले म उसलाई तँ भन्छु। यसै पनि यो लेखाइ हो। लेखाइमा जस्तो आदर गर्न पनि सकियो।
त्यसमाथि दानसिंह परियार चिनाउने उसकै पार्टीका तथाकथित उपल्लो जातका कमरेड थिए। चिनेका, भेटेका सँगै हिडडुल गरेका, खाएका, अघाएका उनीहरु उसलाई तँ भनिरहेका थिए भने मलाई झन् के मतलब? तँ नै भन्छु।
भेटेको दिन संसदीय भाषा प्रयोग गर्नेछु। नभेटे यत्तिकै भइहाल्यो।
कस्तो ठाडो स्वभाव नभनिदिनु होला। बढेको पनि नभनिदिनु होला। कसैलाई गाली गर्न मन छ भने माथिका मध्ये जुनसुकै उखान प्रयोग गर्न छुट छ। आखिर कुनै न कुनै रुपमा त्यसो नभन्ने को छ र?
खैर, छोडौं यी सब कुरा। अब लागौं दानसिंह परियारसँगै।
नभेटेको दानसिंह परियालाई तपाईसँग भेटाउँदा, अपुरो हुन सक्छ। अधुरो हुनसक्छ। कथा भनौं भने यो मधुरो हुन सक्छ।
मधुरो भए होस्। अधुरो भए होस्।
मधुरै सहि। अधुरै सही।
आखिर तपाईले मलाई ११ मिनेट दिनु भएकै छ केरे।
११ मिनेटमा सारा जीवन केलाउन सक्ने भए मान्छेले किन यतिका वर्ष जिउनु पर्थ्याे? किन संघर्ष गर्नुपर्थ्याे? किन जात बनाउनु पर्थ्याे। किन उचनिचको खेल खेल्नु पर्थ्याे? किन राजनीति गर्नु पर्थ्याे? किन म बाहेक अरु राजनीतिमा आउनु पाउँन हुन्न भनि तथाकथित माथिल्लो जात अवारोधको ग्रेड वाल लगाएर बस्थ्यो? किन दानसिंह परियार नेता बन्नु पर्थ्याे। उसले राजनीति नगरे हुँदैनथ्यो?
सुने अनुसार उसका बाजे जिम्मुवालका घोडा हेर्ने काम गर्थे। घोडा चराउने, चलाउने जिम्मा उनैको थियो। जिम्मुवालले चढ्ने घोडा, उनलाई चढ्न सख्त मनाई थियो। तर जंगल, झाडीमा घोडा चराउनेले लुकिमारा नचढ्ने कुरै भएन। सिक्यो, घोडा चढ्न। जिम्मुवालको सख्त मनाइको आदेशवाला मौखिक कागज बन्यो टिसी पेपर।
जिम्मुवालको हुक्कामा पानी हाल्ने, तमाखु भर्ने, कोइलाको बन्दोबस्त गर्ने, त्यसमा आगोका गोल राखेर फुकिदिने। गढगढ गर्दै धुवा फाल्ने बनाउने सम्मको काम पनि उनैको थियो। त्यसका अलावा घर आयो भने जिम्मुवालका जसरी ओटालाको डिलमा बसेर हुक्का गडगाडाउने नक्कल गर्थे। अरुले रिस माने मानुन्, डाहा गरे गरुन् दमाईको घरमा हुक्काको म्युजिक बजिरहन्थ्यो।
जिम्मुवालका घर बस्दाबस्दा घोडा चराउने र हुक्का भर्दिने काम गरेनन् मात्र सिके पनि। सिकाइ घोडा चढ्ने थियो। आफ्नै घरको आँगनमा बसेर हुक्का बजाउने थियो। र थियो जिम्मुवालले झैं शासन गर्ने तरिका पनि। बरु थिएन आफ्नै हातमा शासनको बागडोर। आफूमा भूत चडेझैं चडेको शासन गर्ने तौर तरिका छोरा हुँदै नाति पुस्तासम्म पनि सरेको थियो।
बाजे पुस्ताको चुम्मा दमाईबाट बाबु पुस्ताको कबु नेपालीहुँदै नाती पुस्ताको दानसिंह परियारसम्म आउँदा नाम र त्यसका पछाडि लेख्ने जातसम्ममा क्रान्ति भइसकेको थियो। नत्र सितिमिति नामै पनि गतिलो राख्न पाउने अधिकार कहाँ थियो र?
त्यसैले नाति पुस्ताको दानसिंह परियार राजनीतिमा आयो। दानसिंह परियार, हक्की स्वभावको हुनलाई तीन पुस्ते योगदान छ। हाललाई त्यो भन्दा अगाडिको गणितको खेलोमेलामा हात नहालौं। दानसिंह परियार हक्की हुनु सामन्तको नजरमा सामन्तै हुनु थियो। सामन्तहरु भन्न थाले, ‘जात पो दलित छ त, आनि बानी व्यवहार सबै समान्तको ल्याएको छ।’
त्यसमा छत्यालबाडी दमाईको जवाफ छ, ‘एउटा दलित कतिसम्म समान्त हुन सक्छ? हिसाब गर।’
ऊ सामन्त हो होइन? तपाईँ आफैं जज गर्नुहोला।
हक्की यस मानेमा कि, ऊ हुर्कदै छत्यालबाडाका कोही पनि दमाईमाथि केहि अन्याय पर्दा काँध थाप्न जान्थ्यो। कसैले डुम भनिहाले प्रतिकारमा उत्रने आवाज उसैको मात्र थियो। छोइछिटो गरे न्याय खोज्न जाने उही थियो। यति गर्न सक्ने ऊ पछि गएर पढेर, बढेर, जागिर खाएर आफूमात्रै सुख भोग गर्न पर्छ भनि लागेन। सबैले सुख भोग गर्न पाउने व्यवस्थाको लागि लड्नुपर्छ भन्दै राजनीतिमा लाग्यो। त्यहि क्रममा कम्युनिष्ट नामको राजनीतिक पार्टी एमाले भेटियो। उसको भगिनी संगठन अनेरास्ववियू भेटियो। सुरु भयो समाज परिवर्तनको राजनीतिक अध्याय। उसले रोजेको राजनीतिक दर्शन, पार्टी, विचार र व्यवहारबारे म कुनै पनि खालको टिप्पणी गर्दिनँ। यसको जिम्मा राजनीतिक विश्लेषकलाई नै दिउ।
विद्यार्थी संगठन भित्र उसले कस्तो व्यवहार भोग्यो त्यो, ‘हाम क्या जनो राम जाने’ जस्तै छ। तर केन्द्रीय सदस्यसम्म भने पुगेकै हो। बहुमत हुँद हुँदै पनि रारा बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा भने पराजय भोगेकै हो। आफ्नै भनिएकाहरुबाट धोका खाएकै हो। उनीहरुले जात हेरेकै हुन्। तर एकोचोटीको हारले यात्रा मोडेको थिएन। बरु अरु थुप्रै पटक जित्ने आधार उहि हार भइदियो।
त्यसपछि उसले जितेन मात्र, हरायो पनि। कथित तल्लो जातकी छोरीलाई ‘भोग्या’ बाहेक अरू नसम्झिने मानसिकतालाई हरायो। दलितकी छोरीलाई प्रेम गर्छु भन्दै यौन सम्बन्ध राख्ने, बच्चा बसाल्ने र छाेड्न खाेज्ने दर्जन बढी बाबुसाहेब, पण्डितजी, लडाकु सबैलाई हरायो। कानुनी दायारामा ल्यायो। कड्गरामा उभ्यायो। एक खालको टिम बन्यो। उसका अगाडि पछाडि हिँड्नेहरु तयार भए। विस्तारै ऊ न्यायको दियो बाल्न थाल्यो। निर्विकल्प ऊ नेता भयो। उनीहरुको नजरमा सामन्त भयो।
यसैबीच इतिहासमा पहिलो पटक हुन लागेको प्रदेशसभाको चुनाबमा इतिहासमै पहिलो पटक मुगुबाट उसले टिकट पायो। उसलाई कतिले रुचाए वा रुचाएनन् त्यो मत परिणामले देखायो। त्यो उसको चुनाबमा लाग्नेले देखाए। आफ्नै पार्टीकाले देखाए।
उसलाई हराउन, घात गर्न, पार्टी पंतिको फ्रन्ट लाइनमा भएकाहरु नलागेका होइनन्। जितिहाल्यो भने ‘डुम न को नमस्ते गरोस्,?, किन माननीय ज्यू भनेर सम्बोधन गर्ने?, डुमान क्यालै प्रमुख अतिथि मान्या?’ भनेर हच्किए। भित्रभित्रै विपक्षीसँग साँटगाठ गरे। न्वारनदेखिको बल लगाए।
त्यसैबीच विपक्षीबाट एउटा नारा लाग्यो, ‘माथि बुम हराउँ, तल डुम हराउँ’। यो नारा गाउँगाउँ, वडावडासम्म पुगाइयो। त्यसबेला देशको नवधनाड्य वर्गले नेकपा एमाले र माओवादीलाई एक बनाएका थिए। नेकपाबाट प्रतिनिधि सभामा उमेदवार थिए, गोपाल बहादुर बम। यसलाई माथिल्लो सदन भनियो। तल्लो सदन अर्थात प्रदेश सभाका उमेदवार थिए दानसिंह परियार र चन्द्रबहादुर शाही।
बम र शाही दुबै ठकुरी बाबुसापलाई हराउन गाली बुन्ने सिपालु को निस्कनु? कसका दाल गल्नु? बमलाई अनुप्रास मिलाउन ‘माथि बुम हराउँ’ भनियाे। दानसिंह हराउन नारा लाग्यो, ‘तलि डुुम हराउँ’। तथापि नारा लाउनेको दाल गलेन र दानसिंहले जित्याे। ऊ अहिले प्रदेश सभाको प्रभावशाली सदस्य छ। विभागीय नेतृत्वमा छ। ‘अब कसैले आँखौनौ छारो हाल्या पुनि लाग्न्या क्या छ र?’
घडी हेर्नुस् त ११ मिनेट पुग्यो कि! नभए एउटा सानो नोट ल!
- पुनःप्रकाशित।