समुन्द्रमा हाम्रो भाग खोई?

डा. उत्तम गौली

बाल्टिमोर(अमेरिका)

हामी सबै यो पृथ्वी नामक ग्रहका बासिन्दा हौं। पृथ्वी हाम्रो साझाघर हो। पृथ्वीको सम्पूर्ण सतहको एक तिहाई ज़मीन को अनुपातमा दुई तिहाई पानीले ढाकेको छ।

हामी इण्डो–प्यासिफिक क्षेत्रमा छौं, हाम्रो भोलि पानीजहाज चलाउने सपना पनि छ। तर त्यसको लागि हामीलाई खुला समुद्र चाहिन्छ।

इण्डो–प्यासिफिक क्षेत्रमा रहेको हिन्द महासागरमा भारतले व्यापारिक आवतजावतमा रोक लगाएको छैन। तर दक्षिणी चीन सागर (साउथ चाइना सी) मा हाम्रो उत्तरको छिमेकी देशले सिण्डिकेट लगाएर सदियौंदेखि चल्दै आएको व्यापारमा अवरोध श्रृजना गरेको छ। चीनको यो व्यवहारले  इण्डो–प्यासिफिक क्षेत्रका मुलुक भयभीत छन्। चीन जस्तो महाशक्ति राष्ट्रले यस्तो गैर-जिम्मेवार व्यवहार देखाउँछ भने साना राष्ट्र तर्सिनु स्वभाविक पनि हो।

यसरी तर्सिएका साना राष्ट्रले अमेरिकालाई गुहारेका छन्। जापान, अस्ट्रेलिया, भारतलगायतका ३९ देशले यो क्षेत्रमा खुला व्यापार गरिरहेका थिए। विगतमा यी राष्ट्रले चीनलाई पनि व्यापारिक साझेदार बनाएका हुन्।

 हाम्रो परराष्ट्रनीति

हामीले सामाजिक मान्यतामा केहि परिवर्तन गरेका छौं। छोइछिटो गरेकै थियौं, छाउपडी बारेकै थियौं। त्यो पनि हाम्रो नीति नै त थियो।

अब असंलग्न परराष्ट्रनीति त्याग्नुपर्छ। असंलग्न भन्ने कुरा सामान्य होइन - असामान्य हो। हामी सत्यको पक्षमा उभिनुपर्छ, आफ्नो अधिकार खोज्नुपर्छ। विश्व-परिप्रेक्षमा हामी अलग थलग थियौं, विश्वव्यापी भू-राजनीतिक गतिशीलतालाई बुझ्न सक्ने हाम्रो क्षमता पनि थिएन, न त विश्व रंगमंचमा ‘फेयर प्ले’ र ‘फाउल प्ले’ गर्ने खेलाडीको पहिचान गर्न सक्ने संयन्त्र थियो। त्यसकारण हामी असंलग्न बन्यौं। विगत केही दशकमा नेपालीहरुले विश्वको हरेक कुनामा पुगेर आफ्नो क्षमता प्रदर्शित गरिसकेका छन्। अब हामी विश्व-परिघटनामा रमिते मात्र भएर बस्नु हुँदैन। हामी बुद्धका आँखा हौं। हामी साक्षी हौं, हामी साझेदार हौं, हामी जिम्मेवार हौं, हामी भागीदार पनि हौं। हाल नेपालले संयुक्त राष्ट्र संघको वित्त समितिमा अध्यक्षता गरिरहेको छ। हामी रमिते मात्रै बन्छौं भन्नु विश्व रंगमंचमा गैर जिम्मेवार र नालायक सदस्य बन्न मिल्दैन।

हाम्रो आवाजको नैतिक हक आर्जन गर्नुपर्छ। हाम्रो पनि समुन्द्रमा हक़ लाग्छ। इण्डो-प्यासिफिक क्षेत्रमा नेपालको हिस्सा खोई? पृथ्वीमा एक तिहाई जमीन छ, अनि दुई तिहाइ जल छ। के हाम्रो जलमा अधिकार लाग्दैन?

भोलि नेपालको पानीजहाज चलाउने कुरा छ। कहाँ चलाउने? हामीलाई खुला समुन्द्र चाहिन्न? इण्डो–प्यासिफिकले के भन्छ? समुद्र खुला राखौं भन्छ। तर, चीन मेरो एकलौटी हो भन्छ। अब हाम्रो मान्यता के हो त?

यो व्यापारको युग हो। नेपालमा व्यापारको सम्भावना धेरै छन्। तर विश्व व्यापारको एक सक्रिय पार्टनर बन्नलाई व्यापारको मुख्यमार्ग समुद्रसम्मको पहुँच मात्र होइन,  समुद्रमाथि हाम्रो अधिकार पनि दावी गर्नुपर्छ। जब हामी जिम्मेवार सदस्यको रुपमा प्रस्तुत हुनेछौं, हाम्रो आवाज़ विश्व रंगमंचमा सुनिने छ। हामीले समुन्द्रमा पहुँच खोज्नुपर्छ, चुच्चे नक्सामा धेरै शक्ति खर्च गर्नु हुँदैन।

नेपाललाई हाम्रा छिमेकीले स्वतन्त्र राष्ट्रको रुपमा देख्न चाहँदैनन्। भारतले सिक्किम जस्तै र चीनले ताइवान र तिब्बत जस्तै बनाउन धेरै जमर्को गरिरहने छन्। अमेरिकाले हामीलाई संयुक्त राष्ट्र संघमा एक स्वतन्त्र राष्ट्रको हैसियत दिलायो। अमेरिका हाम्रो मित्र राष्ट्र हो। अमेरिका नहुँदो हो त हामीलाई सार्वभौमिसत्ता जोगाउन गाह्रो छ।

प्रकाशित मिति: : 2020-08-16 10:25:00

प्रतिकृया दिनुहोस्