रुसका पावर लिफ्टर एलेक्जेण्डर सदयाखको प्रतियोगिताकै क्रममा दुबै खुट्टाको घुँडाको हड्डी टुटेको छ। उनी ४ सय केजी तौल उठाउँदै थिए। घटना स्थलमा सपोर्ट स्टाफ तथा मेडिकल टिम भएका कारण उनको घाँटीमा चोट लागेन।
रुसको डोल्गोप्रुड्नी शहरमा विश्व र पावर लिफ्टिङ प्रतियोगिता भइरहेको थियो। घटनापछि उनलाई तुरुन्त अस्पताल भर्ना गरियो। जहाँ ६ घण्टा लामो शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य भएको छ।
उनले ६ महिना विश्राम गर्नुपर्ने चिकित्सकले बताएका छन्। डाक्टरहरूले उनको घुँडामा गम्भीर चोट लागेको कारण दुई महिना खुट्टा नहल्लाउन आग्रह गरेका छन्। शल्यक्रियापछि एलेक्जेण्डरले चिकित्सकहरूलाई धन्यवाद दिँदै आफूले पुनः हिँड्न सिक्नुपर्ने बताए।