‘हेर् न बाबु जताततै कारोनाको त्रास छ। कति अचम्मको कुरा रहेछ यो कोरोना भन्ने जिनिस पनि। अप्रत्यक्ष रूपमा नै यसले पूरै विश्व हल्लाएर राखिदिएको छ। आएको सात/आठ महिना भईसक्दा पनि जाने नाम नै लिँदैन त। ठ्याक्कै अटेरी पाहुना जस्तो। खै यस्तै ताल भईरह्यो भने त चाडवाड पनि मनाउन पाईँदैंन क्यारे।’ आमाले बोलिरहँदा म चाहिँ सुनिमात्रै रहेँ।
यस्तै हुनुहुन्छ मेरी आमा। बिचरी आमा! धेरै पढ्न पनि पाउनु भएन। सानै उमेरमा विवाह गरेर दुई सन्तान जन्माउनुभयो। उहाँले बोलेका हरेक शब्द मलाई अति नै प्रिय लाग्छन्। कतिपय शब्दहरु त उहाँले गलत उच्चारण गर्दा पनि मिठा लाग्छन् त्यसैले पनि म सच्चाउने काम गर्दिनँ। आमाको कुरा सुनेर मैले सान्त्वना दिँदै भनेँ, ‘नआत्तिनुस् आमा यो कोरोनाले हामीलाई खोज्दै आउने त हैन नि। आफैं बाहिर ननिस्के त कोरोनाको डर नै हुँदैंन नि हामीलाई,’ उहाँले अनुहार मलिनो पार्दै भन्नुभयो, ‘त्यसो भए तँ पनि कतै नजा बाबु। भो काम गर्नु पर्या छैन अहिले यस्तो अवस्थामा।’
आमाको कुरा सुनेर म मौन रहेँ। कसरी सम्झाउँ म अब आमालाई यो काठमाडौं जस्तो मानिसको भिड लाग्ने शहरमा काम नगरी खान पनि पाइँदैंन भन्ने कुरा। त्यसमाथि प्राईभेट जागिर पर्यो काम नगरी पैसा पनि आउँदैंन अनि कसरी बाँच्नू?
***
बुवा र आमा हेटौंडामा बस्नुहुन्थ्यो दाइ र भाउजुको साथमा। उहाँहरूलाई पटक्कै काठमाडौं आउन मन थिएन। तर समय सधैं एकनास कहाँ हुँदोरहेछ र? बिस्तारै बिस्तारै दाइको परिवारको लागि आमा र बुवा बोझ हुन थाल्नुभयो। भाउजु मोबाईलमा व्यस्त भईरहँदा आमाले घरको सबै काम गर्नुहुन्थ्यो। घरमा कहिलेकाहिँ आमा र भाउजुको बिचमा मनमुटाव हुँदा दाइ आफ्नै श्रीमतीको पक्षमा बोल्नुहुन्थ्यो। मैले धेरैपटक महसुस गरेको छु आमाको मन कुँडिएको। धेरैपटक देखेको छु उहाँको आँखामा आँशु बगेको। बिदामा घर जाँदा पनि कहिल्यै मैले दाइ र भाउजुको मनमा आफ्नो परिवारप्रति अपनत्व पाईनँ।
एकदिन खाना खाईरहँदा आमाले भाउजुसँग भन्नुभयो, ‘शारदा अलिकति दुध हालिदेउ न भातसँग खान मन लाग्यो।’ आमालाई थालमा दुध हाल्नको लागि त उहाँको हात चलेन बरू उल्टै मुख चल्यो। भाउजुले कर्कश आवाजमा भन्नुभयो, ‘गाई वस्तुको लागि कहिल्यै घाँस काटिदिनु भएको छ र अहिले दुध र भात खान खोजेको?’ भाउजुको आमाप्रतिको त्यस्तो व्यवहार र रूखो बोली मैले पटक्कै सहन सकिनँ। मेरो पनि मुख चलिहाल्यो, ‘भयो भाउजु अत्ति भयो अब त। के तपाईँ आमाले खाएको पनि रिस गर्नुहुन्छ?’ भाउजुले एकछिन पनि केही नसोचेर भनिहाल्नुभयो, ‘त्यति नै बुवा र आमाको माया लाग्नेले त आफैंसँग लगेर पाल्नु नि काठमाडौंमा। किन हामीकहाँ छोडिदिएको त?’
म बोल्नै लागेको थिएँ। आमाले मलाई चुप लाग्न ईशारा गर्नुभयो। तर म चुप लाग्न सकिनँ। दाइ पनि भाउजुकै पक्षमा लागेर कराउन सुरू गर्नुभयो। त्यस रात घरमा ठूलो झगडा पर्यो। आमाले खाँदा खाँदैको भात छोडेर अश्रुधारा बगाउँदै आफ्नो कोठामा जानुभयो। बुवा र म पनि दुःखी मन लिएर आ–आफ्नो ओच्छ्यानमा पल्टियौं। मैले मनमनै सोचिरहेँ जाबो एक गिलास दुध दिनुपर्दा त्यति धेरै सुनाउने मेरी भाउजु र गलत कुरामा पनि निर्धक्कसँग भाउजुको साथ दिने मेरो दाइले बुवा र आमालाई माया गर्लान् भन्ने मलाई अलिकति पनि लागेन। मैले त्यसपछि बुवा र आमालाई आफैंसँग राख्ने अठोट गरेर यहाँ काठमाडौंमा लिएर आएँ।
सुरूसुरूमा निकै गाह्रो भयो बुवाआमालाई यताको रहनसहनमा भिज्न। धेरै कष्ट गरेर बल्लबल्ल काठमाडौंमा बास ठड्याउन सफल भएको छु। यसको श्रेय म आफ्नो बुवाआमालाई नै दिन्छु। उहाँहरुको सहयोग र आर्शिवाद बिना यो सम्भव पनि कहाँ थियो र?
भाउजुसँग झगडा परेर यहाँ आएदेखि एकपटक पनि उहाँले बुवा र आमाको खोजखबर गर्नुभएको छैन। त्यसपछिका हरेक चाडवाड हामीले उहाँहरूबिना नै मनाईरहेका छौं। भाउजुको के कुरा? आमाकै कोखबाट जन्मेको मेरो आफ्नै दाइले समेत कुनै दिन फोन गरेर बुवाआमाको हालखबर समेत सोध्ने चेष्टा गरेन। हुन त दाइसँग बुवाले दुःख गरेर जोडिदिएको प्रशस्त सम्पति छँदैछ। खान र बस्न कुनै दुःख छैन। सायद त्यसैले पनि उहाँलाई कहिल्यै हाम्रो याद आएन। सुखमा मानिसले आफैंलाई त बिर्सिन्छ अरुको के कुरा?
आमा र बुवासँग बसेर मिठो गफ गर्दागर्दै अफिस जाने बेला भयो। जीवनमा कुनै पलहरु यति मिठा हुन्छन् कि कैद गरेर राखिरहुँ झैं लाग्छ। तर समय त एकनासले चलिरहन्छ यसलाई चाहेर पनि हामीले रोक्न कहाँ सक्छौ र ? अफिस हिड्ने बेलामा फेरि आमाले त्रसित भएर भन्नुभयो, ‘बाबु अलि होसियार भएस् है। काठमाडौंमा पनि कोरोना लाग्नेको संख्या बढेको बढ्यै छ रे बिहान मैले समाचारमा सुनेको।’ मैले आमाको कुरा सुनेर मुस्कुराउँदै भनिदिएँ, ‘हुन्छ आमा पिर नगर्नुस्। फेरि हाम्रो त ठूलो अफिस हो नि त्यसैले हामी सबै सचेत भएरै काम गर्छौ त्यस्तो केही हुँदैंन।’
भोलिपल्ट शनिबार थियो। म बगैंचामा फूलहरु गोडमेल गर्दै थिएँ। अचानक मोबाईल बज्यो। फोन अफिसको स्टाफ विपिनले गरेको थियो। फोन उठाएको मात्रै के थिएँ उताबाट आवाज आयो, ‘हेलो, सुर्दशन सुन न। निरज सरको श्रीमतीलाई त कोरोना पोजेटिभ देखिएछ नि। मैले उसको कुरा सुनेर अत्तालिदैं भनें, ‘हैन के भन्छ यो? कहिले टेस्ट गराउनुभएछ?’ विपिन बोलिरह्यो, ‘हिजो अफिसबाट घर फर्किदा उहाँको श्रीमतीलाई अचानक ज्वरो आएपछि अस्पताल लगेको रे। रिपोर्ट पोजेटिभ आएछ।’ म नसोधिरहन सकिनँ, ‘अनि निरज सरलाई नि?’ विपिनको स्वरमा त्रास थियो। उसले लामो लामो सास फेर्दै भनिरह्यो। ‘अँ सरको पनि टेस्ट गर्न दिएको छ रे भोलि दिउँसोसम्म रिपोर्ट आउँछ रे, त्यतिञ्जेलसम्म कसैलाई पनि बाहिर ननिस्कनू अनि घरमै पनि मास्क लगाएर र बेलाबेलामा रूम पूरै सफा गरेर छुट्टै बस्न सबै स्टाफलाई खबर गरिदिनु भन्नुभएको छ।’
विपिनले फोन राखेपछि म थचक्क भूईँमा बसेँ। आमाले भनेको सबै सम्झिएँ। आमा उसै त कति पिर गर्नुहुन्छ। अब झन् आमालाई के जवाफ दिउँ म? बुवा र आमा घरमा हुनुहुन्थेन। त्यसैले मैले बगैंचाको काम छिटो छिटो सकेर आफ्नो कोठामा गएँ। केहीबेरपछि आमा कराउँदै आउनुभयो। ‘हैन बगैंचाको काम गर्दागर्दै छोरा कता गएछ?’ आमा मेरो कोठामा पस्नुभन्दा अगाडि मैले उहाँलाई रोकेँ, ‘त्यहिँ अडिनुस् आमा भित्र नआउनुस्।’ मलाई पिर नै प्रेशर र सुगरको औषधी खाईरहनुभएको मेरो बुवा र आमाको थियो। मलाई त केही गरी कोरोना पोजेटिभ देखियो भने पनि आईसोलेशनमा बसेर तातो पानी पिएँ भने निको हुन्छ होला। तर बुवा र आमाको त रोगसँग लड्ने क्षमता पनि एकदमै कम हुन्छ अनि त्यसपछि के हुन्छ?
आमाले आत्तिदैं भन्नुभयो, ‘होइन किन केही नबोल्या? अनि घरभित्रै बस्दा पनि यो मास्क लगाएर किन बस्या?’ मैले डराई डराई आमालाई विपिनले फोन गरेर भनेको सबैकुरा भनेँ। आमा टाउकोमा हात राख्दै रून थाल्नुभयो, ‘मैले कतिपटक भन्या थिएँ तँलाई काममा जानुपर्दैन भनेर। अब हेर् त त्यसको नतिजा के भयो।’ आफूलाई भित्रैभित्रै डर लागेको भए पनि आमालाई सम्झाएँ, ‘आमा पनि किन यसरी पिर मान्नुभएको? निरज सरको श्रीमतीलाई पो कोरोना देखिएको त निरज सरको रिपोर्ट त आईसक्या छैन नि। के थाहा उहाँको रिपोर्ट नेगेटिभ आउन पनि त सक्छ? उहाँको श्रीमती नर्स भएकै कारणले घरमा कसैलाई केही असहज नहोस् भनेरै उहाँहरु विगत केही महिनादेखि छुट्टै कोठामा बस्नुहुन्थ्यो रे।’
यसपटक आमा अलि रिसाउँदै भन्नुभयो, ‘खुब जान्या छस् तैंले कुरा गर्न। ल ल अब कोठाबाट बाहिर निस्किने हैन। त्यो स्यानीटाईजर कि के जाति हो त्यो लगाएर बस्। रेडियोले नि बिहान भर्खर त्यस्तै भन्या थियो।’ मेरो त्रसित भएको मन एकछिन भए पनि आमाको कुराले रमायो। एक्लै कोठामा कसरी बस्नू उफ्! मैले यसो मनन गरेँ। हामीहरु सधैं पोजेटिभ सोच्नुपर्छ भन्थ्यौं। अंग्रेजीमा त भनाई नै छ नि ‘थिंक पोजेटिभ, डु पोजेटिभ, बी पोजेटिभ’ तर सधैं पोजेटिभ मात्रै कहाँ राम्रो हुँदोरहेछ र? अहिले म यतिखेर यस्तो अवस्थामा छु कि म मेरो अफिसको सरको रिपोर्ट नेगेटिभ आओस् भनेर प्रार्थना गरिरहेको छु। समय र परिस्थिति अनुसार हरेक कुराको आफ्नै महत्व हुनेरहेछ।
पूरै २४ घण्टा मैले आफ्नो कोठाबाट ननिस्केरै बिताएँ। केही चाहियो भने आमाले ढोकासम्म छोडिदिनुहुन्थ्यो अनि म भित्र लिएर आउँथेँ। म विपिनको फोनको व्यग्र प्रतिक्षामा थिएँ। ठ्याक्कै उसले फोन गर्यो। मैले फोन उठाउनासाथ उसले हेलो पनि नभनी कुरा सुरू गर्यो ‘ल सरको रिपोर्ट नेगेटिभ आयो है। अब बाहिर निस्के पनि केही फरक नपर्ला। ढुक्क भएर बस।’ मेरो मुखबाट निस्कियो, ‘अनि सरको श्रीमतीलाई कस्तो छ त?’ विपिनले लामो सास फेर्दै भन्यो, ‘अहिले त उहाँको पनि कोरोना बोर्डर लाइनमा छ रे त्यति आत्तिन पर्दैन रे।’ उसले त्यति भनेर फोन राख्यो।
मैले लामो चैनको सास फेरेँ। यो खबर आमा र बुवालाई सुनाएँ अनि भन्न थालेँ, ‘आफूलाई जबसम्म पर्दैन तबसम्म केही कुराको मतलव लाग्दैन रहेछ। अफिसमा बस्दा पनि खै हामीले कहाँ सामाजिक दुरीको पालना गरेका थियौं र? आफ्नै सहकर्मी हो भनेर मास्क पनि लगाएनौं अफिसभित्र बस्दा। बरू हामीलाई त अफिसको ढोकाबाट भित्र पस्नासाथ मास्क खोलेर फाल्नै हतार हुन्थ्यो। हामी मास्कले मुख छोपिदा निस्सासिन्थ्यौं। तर आज मैले बुझेँ कोरोनाले निस्सासिएर जीवन त्याग गर्नुभन्दा बरू मास्कले निस्सासिएर कोरोनाबाट बच्नु कयौं गुणा बेस रहेछ।’
मेरो कुरा सुनेर आमाको आँखामा खुशीको आँशु टिल्पिलायो। उहाँले आँशु पुछ्दै भन्नुभयो, ‘बडो घतलाग्दो कुरा गरिस् बाबु आज तैंले। अब पर्या छैन यो क्वारेन्टाइनमा बस्न। हिँड् भान्छामा खाना खान।’
सधैं गलत उच्चारण गर्ने आमाले यसपटक शब्दको सही उच्चारण गर्नुभएको सुनेर बुवा र म हाँस्यौं। हामीसँगै आमा पनि हाँस्नुभयो। घरभरी हामी तीन जनाको हाँसो गुञ्जियो।