पोखरीया नगरपालिकाका वडाअध्यक्ष र डाक्टरसहित थप २२ जनामा कोरोना संक्रमण

पोखरीया नगरपालिकाका वडाअध्यक्ष र डाक्टरसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालाको आइतबार राति आएको नतिजा अनुसार पोखरीया नगरपालिका १ का वडाअध्यक्ष बंका राउत कुर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

जसमा १८ वर्षको युवकदेखि ५० वर्षसम्मका उमेर समुहका महिला र पुरुष संक्रमित रहेकाे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

उनका अनुसार पोखरीया नगरपालिकाका २५ वर्षिय डाक्टर, २२ ,२३ वर्षिय दुई सोही अस्पतालका स्वास्थ्यकर्मी, बारा घर भई नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षिय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छन्।

यता जिल्ला प्रहरी कार्यालय पर्साबाट संकलन गरिएको २२, २६, २९, ३५ वर्षिय गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बारा, जितपुरसिमरा उपमहानगरपालिका २३ रामपुरटोकनीमा रहेको म्यागनस फर्माका ३६, ४० वर्षीयको पुरुष र ४८ वर्षीया महिला गरी तीन जना मजदुरमा कोरोना संक्रमण भएकाे छ।

यता वीरगञ्जको छपकैया, विर्ता, श्रीपुर,आदर्शनगर,नगवालगायतका ११ जना संक्रमित रहेका छन्।

याेसँगै पर्सामा अब १ हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मृत्यु भएकाे महिलामा काेराेना पुष्टि

मृत्यु भइसकेकाे वीरगञ्ज १५ भेडियाहीकी ४५ वर्षीय महिलामा  काेराेन संक्रमण पुष्टि भएकाे छ।

उच्च रक्तचाप र हाइपोथाइराइडकाे समस्या रहेकाे महिलाकाे अचानक स्वास्थ्यमा गडबडी भएपछि आइतबार बिहान गण्डक कोभिड अस्पतालमा भर्ना गरिएकाे थियाे। उनकाे साेही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे।

श्वासप्रश्वासमा अचानक समस्या देखिएर रिपोर्ट नआउँदै उपचारको क्रममा मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा.उदयनारायण सिंहले बिएल नेपाली सेवालाई जानकारी दिए।

 हालसम्म वीरगञ्जको विभिन्न अस्पतालमा उपचारको क्रममा २२ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको छ। 

जसमा दुई जना भारतीय, एक जना वेवारिसे, एकजना रौतहटका , दुई जना बाराका र बाँकी १८ जना पर्साका रहेका छन्। 

प्रकाशित मिति: : 2020-08-10 08:30:41

प्रतिकृया दिनुहोस्