वीरगञ्जमा होम आइसाेलेसनमा बसेका १३ कोरोना संक्रमित अस्पताल भर्ना, ६ काे अवस्था गम्भिर

वीरगञ्जमा होम आइसाेलेसनमा बसेका १३ जना कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिएको छ। 

रुघा,खोकी,ज्वरो,झाडापखाला र श्वासप्रस्वासमा समस्या देखिएपछि आइतबार १३ जनालाई अस्थायी कोभिड अस्पताल गण्डक तथा वीरगञ्ज हेल्थकेयरमा ल्याइएको हो ।

अस्पताल ल्याइएका मध्ये ६ जनाको अवस्था गम्भिर रहेकोले आईसियुमा भर्ना गरिएको छ । होम आइसाेलेसनमा रहेका मध्ये ६० वर्ष नाघेका वृद्ध वृद्धा र मुटु, दम,सुगर प्रेसरका दिर्घरोगीहरुमा बढी समस्या देखिएको चिकित्सकहरुले जनाएका छन् ।

अहिले अस्पतालमा राख्ने ठाउँ नहुँदा वीरगञ्जका ३ सय ५२ संक्रमितहरु होम क्वारेन्टाइनमा बसेका छन्।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोका अनुसार कोभिड अस्पतालको भार कम गर्न लक्षण नभएका कोरोना संक्रमितलाई घरमै होम आइसोलेसनमा राखिएको हो।

पछिल्लो समय वीरगञ्जमा ‘मिश्रित केस’ देखिएको छ। कसैमा कोरोना संक्रमणको लक्षण देखिएको छ भने कसैमा लक्षण देखिएको छैन।

लक्षण नभएकालाई घरमै आइसोलेसनमा राख्दा कोभिड अस्पतालको लोड कम हुने उनलेबताए। 

होम आइसोलसनमा बस्दा कोरोना संक्रमितले आइसोलेसनसम्बन्धी १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ।

वडा अध्यक्ष, नजिकका प्रहरी कार्यालय र स्वास्थ्यकर्मीको टिमले १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्ने मन्जुरीनामा संक्रमित परिवारसँग गराउँछन्। 

संक्रमितसँग प्रत्येक दिन बिहान र साँझ स्वास्थ्यकर्मी सम्पर्कमा आउने स्वास्थ्य महाशाखाका प्रमुख महतोले बताए।

प्रकाशित मिति: : 2020-08-09 22:19:18

प्रतिकृया दिनुहोस्