डर लाग्छ हामीलाई
मान्छे हौँ हामी, प्राणीमा
सबैभन्दा बुद्धिमान हौँ हामी।
अफसोस! डर यति बढाएर
पसिना पसिना भई
हजारौँ चिहान खन्दैछौँ हामी।
के दोष थियो र
बिचरी त्यो गर्भवतीको?
के दोष थियो र, त्यो गर्भमा
खेल्दै गरेको शिशुको?
के दोष थियो होला र
ती हजारौँ बिरामीहरूको?
जसले डायबिटिज, हाइपरटेन्सन,
स्ट्रोक र छोप्वा जस्ता बिमारहरूले
बाच्ने सम्भावना हुँदा हुँदै पनि
हाम्रो उच्च व्यवस्थाका व्यवस्थापक
हाम्रा महान डाक्टरहरू, स्वार्थमा
लिपिनाले, ज्ञानी हुँदा हुँदै पनि
कोरोना 'फ्लू' मात्र हो भन्ने जानी जानी
कायरताको चोलो अोढी
अस्पतालको दैलो बन्द गरिदिएको
आँखामा कोरोना नामको पट्टी बाँधेर
मानवतालाई श्मसान बनाए
हजारौँ टुहुरा, विधवा र विदुर उभ्याए।
कस्तो हाम्रो हृदय?
कस्तो हाम्रो विवेक?
यो उन्नति यो विकास
सबै व्यर्थ लाग्छ मलाई
जब देख्छु विकास र उन्नतिको अगाडि
छट्पटाइ मर्छन् हाम्रा दाजुभाइ।
अनि हामी हेरिराख्दछौं
अछुत मानी, अछुत सम्झी
हेरिराख्छौँ त्यो मृतकको
परिवार रूँदै कराउँदै तर्सेको
अनि 'कोरोना' टेस्ट गर्ने
डाक्टरहरूले हक जताएको।
बेकारको त्यो डाक्टरी ज्ञान
बेकार ती दबाइहरू
बेकारको त्यो अस्पताल
बेकारको त्यो प्रसाशन।
जब जिउँदो थियो
कहाँ थियो त्यो हक?
कहाँ थियो मानवता?
मन मरेको त्यो डाक्टर
तन डढेको त्यो प्रसाशन
आधारहीन त्यो हक।
निष्ठुरी ती हकदारहरू
पानी माथिको अोबानो बनी
रचेका छन् षडयन्त्र
मृतकको शरीरसँग व्यापार गर्न
'कोरोना' को निहुँमा
अफिस खोल्न।
यति माथि बढेको छ
हाम्रा उन्नति र विकासहरू
एकअर्का प्रतिको
प्रेम र दया
मानवको मुखौटाभित्र
प्यासा ती दाराहरू ।
हामी त भएछौँ
मन नभएको प्राणी
मानवताहीन जन्जाल
पुरूषत्वहीन पुरूष
ज्ञानहीन ज्ञानी
ध्यान नभएको ध्यानी
मान नभएको अभिमानी
बल नभएको बलवान
यसमा दोष कसलाई दिनु?
मानवको चरित्रलाई कि?
यो 'कोरोनालाई'
जसले मानवको चरित्रको
असल हरफहरू रचिदिएको छ।
मानवको खुन गनायो भनिदिएको छ
बाहिर रातो भित्र कालो जनाएको छ।
समयले आज मानव कुरूप देखाएको छ।