बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थपिए ५५ काेराेना संक्रमित

बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा ५५ संक्रमित थपिएका छन्। 

नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा नगरपालिकाका मेयर नितेन्द्र साह र धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारसहित ८ महिला र ४७ जना पुरुषमा कोरोना संक्रमण देखिएकाे हाे। जसमध्ये एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा हुन्। उनीहरु २२ देखि ७४ वर्ष उमेर समुहका हुन्।

५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए। 

उनका अनुसार मेयर साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा परीक्षणका लागि स्वाब दिएका थिए। उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. उपाध्यायले बताए। 

नारायणी अस्पतालका अनुसार ५५ जनामा एक जना वीरगञ्ज ३ छपकैया बस्ने ७४ वर्षीय वृद्धको शवको रिपोर्ट पनि समावेश रहेको छ। उनको उपचारको क्रममा बिहीवार राति साढे १२ बजे गण्डक कोभिड अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो भने शुक्रवार साझ ५ बजे उनको रिपोर्ट पोजेटिभ देखिएपछि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको  थियो। 

त्यसैगरी, ५५ जनामा एक जना सर्लाहीका घर भई डुगर प्रालि वीरगञ्ज कार्यालयमा कार्यरत २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन जना बाराका रहेका छन्। बाराका तीन जना मध्ये कलैया १० घर भई नारायणी अस्पतालको ल्याबमा काम गर्ने ३१ वर्षीय प्राविधिक रहेका छन्।

त्यसैगरी,बारा मनहर्वाका ४३ वर्षीय र भलुही भरवलियाका ३१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। ५५ जनामा ५१ जना पर्साका सक्रमित रहेकोमा एक जनाको मृत्तकको रिपोर्ट बाहेक ५० जना मध्ये २३ जना वीरगञ्ज विर्ता, वीरगञ्ज आदर्शनगरका ६, श्रीपुरका ४, मुर्लीका २, नगवाका ४ र  रेशमकोठीका एकजना रहेका छन्।

त्यसैगरी, पर्सा बहुदरमाई नगरपालिका, विन्दावासिनी, छिपहरमाई गाउँपालिकालगायतमा पनि कोरोना संक्रमण देखिएको छ। बहुदरमाई नगरपालिकाका वैरिया विर्ता क्वारेन्टाइनमा रहेका १२ जनामा संक्रमण देखिएको छ।

बहुदरमाईका नगरदाहा,गम्हरीया,भौराटार,वैरिया २,बहुअरी पिडरीलगायत टोलका बासिन्दामा पनि काेराेना संक्रमण देखिएकाे छ।

प्रकाशित मिति: : 2020-08-08 11:47:15

प्रतिकृया दिनुहोस्