ब्यथा करोनाको जुन आफ्नै आँखाको अगाडि भइरह्यो
आज दिनभरिमा आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित थिएँ, केही समस्यालाई लिएर आखिरमा मेरो चिन्ता सबै मेडिकल रेपोर्टले खुसी तुल्यायो। जुन केही घन्टा अगाडि मैले मेरो आफ्नो स्टोरीमा राखेको थिएँ, त्यसमा पनि साथीभाइ, अग्रज र पारिवारिक सदस्यको बधाईका सन्देशले मन्न झन आनन्दित थियो, केही यस्तै सन्देशहरु पढ्दै घडीले ८ बजाईसकेको थियो।
कोरोनाका कारण छोरीहरु र श्रीमती गाउँमै छन्। पेशाले गर्दा कान्छो भाइ र म यहीँ बसेका छौ।
दाजुभाइ मिलेर किचेनको काम सकेपछि सामाजिक सञ्जालतिर लागेँ। सबैभन्दा पहिले अन्नपूर्ण पोस्टको पत्रकार मित्र क्रान्ति साहलाई ‘हाय! कमिना’ मायाले हामी एक अर्कालाई यहिँ भनेर सम्बोधन गर्ने गरेका छौँ। कसैले यसलाई अन्यथा नलिनुहोला।
उहाँको केही रिप्लाई नआएर आज पहिले चोटि होला टिकटक हेरेर समय काटदै थिएँ। केही साथीहरूले यसबाट समय राम्रो कट्छ हेर्नू भनेका थिए। साथीहरूले ठिकै भन्दा रहेछन्।
त्यतिकैमा ‘हाय! कमिना’ भन्दै रातिको ११ बजे रिप्लाई आयो। भालाकुसारी सुरू भयो, अनि मैले हेर्दाहेर्दै धेरै टिकटक भिडियो मित्र क्रान्तिलाई पठाइ दिएँ। आइसोलेसनमा रहेका उनलाई अलि हसाउँ कि, भनेर पठाएको तर उनले केही प्रतिक्रिया दिएनन्, मन चिन्तित भयो। फेरि मनमा अर्को कुरा आयो-सायद घरमा बच्चा भाउजुसँग कुरा भइरहेको होला। त्यसपछि म आफ्नै धुनमा लागे।
१२:३० बजेको थियो होला, पर्सा पोस्टको पत्रकार अजितजीको पोस्टले मेरो ध्यानाकर्षण गर्यो, ‘छपकैया २ का एक जना महिलालाई वीरगञ्जको कुनै निजी अस्पतालले भर्ना लिन नमानेको अवस्था, अहिले टेम्पुबाट नेशनल मेडिकल कलेज गेट अगाडि लगेको त्यहाँ पनि भर्ना लिन नमानेपछि बिरामीका भिनाजुले फोनमा सम्पर्क गरि सहयोग गर्न अनुरोध गर्दै कोही सहयोगी हात भए ९८०४२३८४४९।’
मेरो दिमागमा विगतका केही घट्ना खेल्दै गर्दा माथि नम्बर दिएको भए पनि ‘अजितजी मलाई उहाँहरू नम्बर दिनुहोस् भनेर लेखेँ।’ पछि मैले नम्बर पाएपछि कल गरेँ। उहाँहरू नेशनल मेडिकलबाट फर्किएर घन्टाघर पुगिसक्नुभएको रहेछ। म आफ्नो परिचय दिँदै तपाईँहरू नारायणी हस्पिटल पुग्नु म पनि त्यहीँ पुग्छु भने। र मेसुलाई फोन गरेँ उहाँको फोन उठेन! हो पनि उहाँहरूको मेहनत र थकानले होला फेरि रातको १२:३८ भइसकेको थियो।
केहीछिनमै उताबाट फोन आयो। यहाँ पनि भर्ना लिँदैन रे। मैले ‘मेसुलाई फोन गरिसकेको छ। कि तपाईंहरु भर्ना लिनुहोस् या छेउमा को डाक्टर हुनुहुन्छ दिनुहोस् भनेँ। त्यतिकैमा फोन कट्यो। मैले फेरि फोन गरेर डाक्टरलाई दिनुहोस् भन्दै कुरा गरेँ।
आफ्नो परिचय नदिएरै उनले दाइ भनेर सम्बोधन गर्दै ज्वरो, स्वासको बिरामी हामीले राख्न मिल्दैन, प्रोटोकलले दिँदैन म यहाँ नयाँ पनि छु, बिना करोना टेस्ट बिरामी हामी राख्दैनौं बरू बिरामी सिकिस्त छ, एम्बुलेन्स बोलाउनू भने।
रातको १ बजेको छ।
यता मेसुको फोन उठ्दैन। मनमा अनेक कुरा उठ्न थाले। बागवान जस्तो सिनेमा हेरेर रूने मान्छे म मन थाम्दै फेरि उहाँहरूसँग कुरा गरेँ। ‘तपाईँहरू वीरगञ्ज हेल्थ केयर लिएर हिँड्नुस् म पनि त्यहीँ पुग्छु,’ यति भनेर कपडा लगाउन थाले।
मेरो स्कुलको साथी प्रकाश शर्मालाई सम्झिएँ। मध्य राति सुरक्षाका लागि साथिको भरोसा फोन नउठेसी निरास भएर मसेन्जेरमा अजितजीलाई सन्चो न भए पनि वाणिज्य दूतावास १० मिनेटमा पुगौं भन्दै कुरा टुंग्याएँ।
त्यसपछि अस्थायी कोभिड अस्पतालका संयोजक डा. निरज सिंहलाई फोन गरेँ। त्यो पनि उठेन। त्यसपछि म र अजितजी बिरामी सँगसँगै हामी पनि त्यतै पुग्यौं।
त्यहाँ हस्पिटलमा डाक्टरहरूले तपाईँसँग गर्ने व्यवहारबारे पछि सोचौला तर यस्तो बिरामी हामी राख्न सक्दैनौं। नारायणीबाट ल्याएको बिरामी फेरि नारायणी नैं लैजानुहोस्, पीसीआर पनि चाहियो, हाम्रो प्रोटोकलले मिल्दैन।’
त्यतिकैमा त्यही काम गर्ने एक जना भाइले गण्डक हस्पिटल लैजानुस् त्यहाँबाट फर्काएको बिरामी यहाँ लिँदैन भने।
अन्त्यमा डा. उदय सिंहलाई फोन गरेँ। उहाँले बडो हार्दिकताका साथ बिना चेकको बिरामी कसरी लिने भन्दै उहाँले सझाउने कोशिश गर्नुभयो। मैले उहाँलाई प्रतिप्रश्न गरेँ, ‘अनि के बिरामी गेटमै मरोस् त?’ केहीबेरको वार्तालापपछि ठिक छ तपाईँ गन्डक लिएर पुग्नुस् त्यहाँ डा. साहाबुदिनलाई भेट्नुहोस् म फोन गरिदिन्छु। त्यसपछि उनले ती डाक्टरको नम्बर मलाई दिए।
उनले पनि त्यहाँ फोन गरिदिएका रैछन्। त्यतिकैमा हामी गेटमा पुग्ने बित्तिकै गेटपालेले अलिकति पनि ढिलो नगरी गेट खोलिदिएछन्। टेम्पो भित्रै पुर्याएछन्।
मनमनै डा. उदय सिंहलाई धन्यवाद दिएँ र आफू युवा हुनुमा गर्बको अनुभूति गरेँ। त्यतिकैमा दैवको नियति भनौं टेम्पोबाटै बहिनीले संसार छाडिन्। अनि म केही नबोली एउटा कुनामा गएर बसेँ र आफूलाई थाम्न सकिनँ कसैलाई केही नभनी परिवारलाई जिम्मा लगाएर म र अमितजी आ- आफ्नो घर लाग्यौं।
त्यसपछि अस्पतालले बेडमा नपुर्याउँदै औपचारिक रूपमा मृत्यु भएको पुष्टि गर्यो।
रातको १० बजे एड्भान्स हस्पिटलबाट सुरू भएको उनको यात्रा बयोधा, तराई, भवानी, नेशनल मेडिकल, नारायणी, विरगंज हेल्थ केयर, गण्डकमा पुगि २ बजेर १२ मिनेटमा अन्त्य भयो।
बहिनी तपाईँलाई हार्दिक श्रद्धाञ्जली, तपाईको आत्माले शान्ति पाओस्। जीवनभरी अफसोच रहनेछ, आँखै अगाडि बिदा हुनुभयो। यो भन्दा अगाडि मैले तपाईँ र तपाईँको परिवारलाई कहिले भेटेको थिएन। हाम्रो नाता मानवीयताको हो र यो नै संसारको सबैभन्दा ठूलो नाता हो।
यस्तो दुःखत घडीमा सबै परिवारप्रति हार्दिक समवेदना।
अन्त्यमा सायद समयमै हस्पटल भर्ना भएको भए उनलाई बचाउन सकिन्थ्यो कि?
लेखक जनता समाजवादी पार्टी पर्साका जिल्ला सचिव हुन्।