सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ३ हजार ५ सय

नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। निन्तर उकालो लागेको सुनको भाउ आज शुक्रबार तोलाको १ लाख ३ हजार ५ सय पुगेको छ। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो।

पछिल्लो एक सातामा सुनको भाउ साढे तीन हजार रुपैयाँभन्दा धेरैले बढेको छ। हिजो बिहीबार तोलाको १ लाख २ हजार ५ सयमा किनबेच भएको थियो। 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ शुक्रबार एकै दिन १ हजारले बढेको हो। 

विश्व कोभिड–१९ का कारण आक्रान्त भएका बेला अर्थतन्त्र संकुचन भएको छ। यो अवस्थामा लगानीको वातावरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा दिनहुँ सुनको भाउ उकालो लागिरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर वज्राचार्यले नेपालमा सुनको भाउ केही समय अझै उकालो लाग्ने र तोलाको १ लाख ३० हजार रुपैयाँसम्म पुग्ने यसअघि नै बताइसकेका छन्।

गत मंगलबार ९९ हजार ८ सयमा किनबेच भएको छापावाल सुनको भाउ बुधबार १ हजार ६ सयले बढेर तोलाको १ लाख १ हजार ४ सयमा किनबेच भएको थियो। 
महासंघका अनुसार तेजाबी सुन आज शुक्रबार तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भइरहेको छ। हिजोको दाँजोमा आज १ हजार बढेको हो। हिजो तोलाको १ लाख २ हजार थियो। बुधबार १ लाख ९ सय पुगेको थियो।  

चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ। आज शुक्रबार चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।  

महासंघका अनुसार छापावाल सुन साउन १६ मा ९९ हजार ३ सय, १८ र १९ मा ९९ हजार ६ सय, २० मा ९९ हजार ८ सय, २१ मा १ लाख १ हजार ४ सय र २२ गते १ लाख २ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। 

त्यस्तै चाँदी साउन १६ मा १ हजार २ सय, १८, १९ र २० मा १ हजार २ सय ३०, २१ मा १ हजार २ सय ९५ र २२ गते १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति: : 2020-08-07 11:11:05

प्रतिकृया दिनुहोस्