संस्कृत भाषाको महत्व

जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा तेस्रो विश्व संस्कृत दिवस सम्पन्न भएको छ। वि. सं. २०७५ देखि प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा, रक्षा बन्धन र ऋषि तर्पणीको दिन प्रतिष्ठानको आह्वानमा विश्व संस्कृत दिवस मनाउन थालिएको हो। 

विश्वको अति प्राचीन तर जीवित भाषामध्ये एक संस्कृत भाषा हो। यो केवल भाषाको रुपमा मात्र सिमित छैन। नेपालका मौलिक धार्मिक सम्प्रदायहरु वैदिक सनातन धर्म जसलाई हिन्दू पनि भनिन्छ, साथसाथै बौद्ध र जैन सम्प्रदायका ग्रन्थहरु संस्कृत भाषामा लेखिएका छन्।    

जरो किलो प्रतिष्ठान नेपालद्वारा आह्वान गरिएता पनि विश्व संस्कृत दिवस सबैको साझा दिवसको रुपमा स्थापित भइसकेको छ। धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, आर्थिक आदि क्षेत्रमा अन्वेषण, अनुसन्धान, विकास र प्रवर्धन गर्ने हेतुले स्थापित प्रतिष्ठानले आह्वान गरेको विश्व संस्कृत दिवसको तेस्रो बर्षमै संस्कृत भाषाको संकथन व्यापक बढेको छ। सरकारले विद्यालय तहमा संस्कृत लगायत २६ वटा भाषाहरु ऐच्छिक विषयको रुपमा पठनपाठन गराउन पाठ्यक्रम तयार गरेको समाचार सार्वजनिक भइसकेको छ।

संस्कृत भाषा घृणावादीहरुको निरन्तर आक्रमणमा परिरहेको भाषा हो। कहिले बाहुनको भाषा भनेर यो भाषाको महत्वलाई अवमुल्यन गर्न जातीयताको जामा लगाएर हुन्छ वा यो भाषा पढेर काम पाईने होइन भन्ने भाष्य निर्माण गरेर हुन्छ, यो भाषामाथि घृणावादीहरुको आक्रमण कायम छ। सरकारले ऐच्छिक भाषाको रुपमा पठनपाठन गर्ने तयारी गरे लगत्तै सामाजिक सञ्जालहरुमा सरकारले संस्कृत भाषा अनिवार्य गराउने भनेर फेक पोस्टहरु प्रशस्त देखिए। ती पोस्टको प्रतिक्रियामा जात जाति बीचको गालिगलौज हेरिसक्नु थिएन।

बेलायती उपनिवेशकालमै भारतीय उपमहाद्वीपमा संस्कृत भाषा ‘आर्यन’ आक्रमणकारीहरूले युरोपको ककेसियाबाट यो क्षेत्रमा आक्रमण गरेर लादेका हुन् भनेर लादेको षड्यन्त्र विभिन्न प्रमाणहरुद्वारा हावादारी सावित भैसकेता पनि अझै पनि यो षड्यन्त्रले कोरेको विभाजनको रेखा यथावत छ। नेपालका घृणावादीहरु, विदेशी विधर्मीका एजेण्डाधारीहरुलाई यो राम्रै मसला बनेको छ।

मित्रले भन्दा सत्रुले चाँडै चिन्छ भने झैं संस्कृत भाषाको महत्व कति छ भनेर बुझ्न यसमाथि भएको आक्रमणको लेखाजोखा गरे पनि पुग्छ। जस्तो सुकै आरोप लगाएर यो भाषा सिध्याउने षड्यन्त्र भएता पनि यसको महत्वमा कमी आएको छैन। अब त झन् बढ्दो क्रममा छ। प्रत्यक्षम किम प्रमाणं - यो भाषामा लेखिएका बृहद ज्ञानका भण्डार, यो भाषामा रहेको वैज्ञानिक पक्ष र प्राचीनताले यसको महत्व देखाइरहेको छ। 

साझा सांस्कृतिक पहिचान :
नेपाली भाषा बुझ्नेले मैथिली र भोजपुरी भाषी बोल्दा के विषयमा बोलिएको छ भनेर मोटामोटी अनुमान लगाउन सक्नुमा यी भाषाहरुको जननी भाषा एकै भएर हो। एउटै आमाको सन्तानहरुमा जेनोटाईप र फेनोटाईपमा समानता देखिए झैँ नेपाली, मैथिली, भोजपुरी, थारु, अवधी भाषाको जननी भाषा संस्कृत भएको कारण यी भाषाहरु बीच समानता भेटिन्छ। नेपालमा बोलिने नेपाली, मैथिली, भोजपुरी, अवधी लगायतका भाषाहरुको जननी संस्कृत भाषा भएको हुँदा संस्कृत भाषा ज्ञान हुनु अन्य भाषाका संरचना, व्याकरण आदिको ज्ञान हुनु हो। एकाक्षरी भई बनेका नेवारी भाषाका शब्दहरू पनि प्रायः संस्कृतकै शब्दहरूबाट बनेको कुरा नेवारी शब्दकोशकार कृष्णचन्द्रसिंह प्रधानले स्वीकार गर्नुभएको छ। भाषाको आधारमा भन्दा ८० प्रतिशत भन्दा बढी नेपालीहरुको साझा सांस्कृतिक पहिचानको रुपमा संस्कृत भाषा रहेको छ।

त्यस्तै संस्कृत भाषामा अधिकांस हिन्दु धर्मग्रन्थहरु लेखिएका छन्। साथसाथै बौद्ध र जैन धर्मका ग्रन्थहरु पनि यो भाषामा लेखिएको छ।  संस्कृत भाषा मेटिनु भनेको यी हिन्दु, बौद्ध र जैन धर्मका कैयौं आधिकारिक ग्रन्थहरु मेटिनु हो।  आफुले अवलम्वन गर्नुपर्ने धर्मसंस्कृतिको आधिकारिक ग्रन्थ पढ्ने क्षमता आफ्नै सम्प्रदायका मानिसमा रहेन र यो क्षमता अन्य विधर्मीको हातमा सिमित हुन गयो भने धार्मिक ग्रन्थको अर्थापनमा मिसावट नहोला भन्न सकिन्न।

आर्य शब्दको अर्थ ‘असल मान्छे’, अंग्रेजीमा जेन्टलम्यान भने झैं हुनुपर्नेमा रोयल एसियाटिक सोसाईटीका पादरीहरुले सन् १८६६ मा आर्य शब्दको अर्थ 'नाक चुच्चो र गहुँ गोरो भएको मानिस ‘भनेर आर्य शब्दको गलत अर्थ लगाएपछि कुरै नबुझी हो मा हो मिलाउँदै नेपालको संविधानमा समेत आर्य शब्दलाई जातिवाचक शब्दको रुपमा राखिएको छ। भविष्यमा यसले कुन किसिमको द्वन्द्व ल्याउनेछ हेर्ने बाँकी छ। धन्न संस्कृत जान्ने बुझ्ने मानिसहरु नेपाल-भारतमा छन् र पो आर्य शब्दको अर्थ जातिवाचक होइन भन्ने कुरा बुझियो। यदि संस्कृत भाषालाई अन्य भाषा उल्था गर्न रोयल एसियाटिक सोसाईटीमै भरपर्नु पर्ने अवस्था आएको भए हाम्रो मौलिक संस्कृतिमाथि कसरी आक्रमण हुँदो रहेछ भनेर यहि उदाहरण हेरेर बुझ्न सकिन्छ। 

पहिले पहिले हिन्दुहरु गाईको मासु खान्थे। वेदमै गाईको मासु खान हुन्छ भनेर लेखिएको छ भनेर भाषणबाजी गरेको देखिन्छ। हिन्दु सम्प्रदायमा संस्कृत पढ्न नजान्ने हो भने के गति होला ? गौतमबुद्ध पनि भौतिकवादी थिए भनेर आयातित विचारधारीहरू सार्वजनिक कार्यक्रम गर्छन्। बौद्ध धर्मावलम्वीमा संस्कृत भाषाको ज्ञान नहुने हो भने गौतम बुद्धको उपदेश कोरा पदार्थवादी चिन्तनमा सिमित हुन्थ्यो।     

ज्ञानको भण्डार :
नेपालको इतिहासलाई २४० वर्षमै सिमित गर्नेहरूको एक समय खुब जगजगी थियो। अहिले विदेशबाट रेडिमेड सिद्धान्त फोटोकपी गरेर नेपालमा राजनीति गर्नेहरू नेपाल भन्ने देश पृथ्वीनारायण शाह अघि छँदै थिएन भन्ने गर्छन्।  के नेपाल पृथ्वी नारायण शाहले एकीकरण गर्नुअघि भू-राजनीति-वैधानिकता प्राप्त राज्यको रुपमा कहिल्यै थिएन त? युगद्रष्टा गुरू डा. निर्मलमणि अधिकारी वैदिक ग्रन्थकै अध्ययन गरेर भन्नुहुन्छ- अहिलेको नेपाल भन्नु भनेकै वेदमा उल्लेख भएको नीप जनकै उत्तराधिकारी हो। हो त? यदि हो भने ५ हजार वर्षदेखि नेपालको अविच्छिन्न इतिहास देखिन्छ। 

कता नेपालको इतिहास २४० बर्षमा सिमित गर्ने प्रयास कता ५ हजार बर्ष पुरानो नेपालको अविच्छिन्न इतिहास। लुकेको नेपालको गौरवमय इतिहासको बोध हुनुमा संस्कृत भाषाको ज्ञानले भूमिका खेलेको छ। डा. मतिप्रसाद ढकाल भन्छन्  - राष्ट्रिय अभिलेखालयमा रहेका ३० हजारभन्दा बढी पाण्डुलिपिहरूको अध्ययन र अनुसन्धान गर्न पनि संस्कृत नै बुझ्नुपर्ने हुन्छ।

संस्कृत भाषामा लेखिएका इतिहास, धार्मिक ग्रन्थ, आयुर्वेद, गणित, व्याकरण, लगायतका ठुलो ज्ञानको भण्डार छ। प्रकृतिमाथि चर्को दोहनको उपज जलवायु परिवर्तनले विश्व आक्रान्त बनेको छ। माता भूमि: पुत्रो अहं पृथिव्या भनेर दिगो विकास सुत्र दिएको छ। चरम उपभोक्तामुखी प्रवृतिलाई नियन्त्रण गर्न तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्शालिहोत्रले मार्ग निर्देशन गरेको छ।

मानव-मानव मात्रै होइन मानव र चराचर जगत बीचको सम्बन्ध हुनुपर्छ? सहृदयता दर्शन यसैमा भेटिन्छ। द्वन्द्वात्मक भौतिकवादको पछि लागेर संसारमा १० करोड मानिसहरु मारिइसकेका छन्। समाज विकास स्थिति-गत्यात्मकताको आधारमा हुन्छ भनेर यही भाषामा लेखिएको शास्त्रबाट आएको छ। राष्ट्रराज्य सिद्धान्तको जाति, भाषा, सम्प्रदाय, सांस्कृतिक पहिचानलाई राष्ट्रियताको आधार मान्दा संसारमा देखिएको घृणा र विभाजनको समाधान राज्यराष्ट्र सिद्धान्तको मान्यता यहि भाषामा लेखिएका ग्रन्थहरुबाट आएको हो।     

काले राई (स्वामी प्रपन्नाचार्य ) ‘वेदमा के छ ?’ पुस्तकमा ठाउँ ठाउँमा उल्लेख भएको तर नभेटिएको भनेर तक्षकर्म, द्रव्यशास्त्र, कृषिशास्त्र, वाणिज्यशास्त्र, यन्त्रसूत्र, तक्षशास्त्र, गन्धशास्त्र, धातुशास्त्र, वाष्पशास्त्र लगायत ८८ वटा शास्त्रको नाम दिनुभएको छ। करिव ९ सय वर्ष अगाडि नालान्द विश्वविद्यालयमा बख्तियार खिल्जीले आक्रमण गरेर पुस्तकालयमा आगो लगाउँदा झन्डै ९० लाख लिखित ग्रन्थ जलेर नष्ट भएको कुरा जर्नल अफ इण्डियन लाईब्रेरी एसोसियसनमा उल्लेख छ। 

त्यति लामो समय अगाडि त्यति ठूलो संख्यामा ग्रन्थहरु लेखिनुमा संस्कृत भाषामा कति ज्ञान सृजना भएको रहेछ भनेर बुझिन्छ। नेपालको कुना कन्तरामा रहेका पुराना मन्दिर र बस्ति रहेको स्थानमा उत्खनन् गर्ने हो भने थुप्रै प्राचीन ग्रन्थ फेला पर्नसक्छ भन्ने राय छ स्वामी प्रपन्नाचार्यको। सन् २००७ मा मुस्तांगको लोमान्थाङ्गको भीरमा बनाइएको गुफामा ८ हजार वटा दस्तावेज फेला परे जस्तै हराइरहेका संस्कृत भाषाका ग्रन्थहरु फेला नपर्ला भन्न सकिन्न।   

आर्थिक समृद्धिको सम्भावना : 
दैनिक १५ सय नेपाली युवाहरु विदेशिन बाध्य छन्। कोरिया उडाउने व्यवस्था गरिदिनुपर्‍यो भनेर आन्दोलन समेत भएको छ। खाडीमा अदक्ष कामदारको हैसियतमा श्रम गर्दा परिवार पाल्दैमा ठिक्क हुने पारिश्रमिक हुन्छ। 

संस्कृत भाषा नेपालीले तुलनात्मक रुपमा स्पष्ट उच्चारण गर्न सक्ने कुरा तृतीय विश्व संस्कृत दिवस कार्यक्रममा डा. गोविन्द शरण उपाध्यायले बताउनुभएको थियो। नालान्द विश्वविद्यालय, विक्रमशीला र तक्षशीलामा नेपालको गण्डकी प्रश्रवण क्षेत्रका गुरुकुलमा अध्ययन गरेका विद्यार्थी अध्यापकको रुपमा हुने गरेका थिए भनेर वहाँकै लेखमा उल्लेख छ।

चाहे लण्डनको सेन्ट जेम्स स्कुल जस्तो माध्यमिक विद्यालय होस् वा अमेरिकाको हार्वड विश्वविद्यालय - पश्चिमी देशहरुमा संस्कृत भाषाको चाहना बढ्दो छ। जर्मनीमा मात्र १४ वटा विश्वविद्यालयमा यो भाषाको पढाई हुन्छ। जसरी अंग्रेजी भाषाको आधिकारिकता बेलायती र अमेरिकीहरुसंग छ। त्यस्तै संस्कृत भाषाको आधिकारिकता नेपाली र भारतीयसंग छ। संस्कृत भाषाको राम्रो ज्ञान हुने हो भने युरोप अमेरिका शैक्षिक संस्थाहरुमा पढाउने अवसर नेपालीलाई प्राप्त हुने सम्भावना रहन्थ्यो। विदेश नै जानु परे पनि अदक्ष कामदारको हैसियतमा विदेश जानु र अध्यापकको हैसियतमा विदेश जानु - आर्थिक र प्रतिष्ठाको दृष्टिले आकाश जमिनको फरक हुन्छ।

पाणिनीको व्याकरणमा पूर्वनिर्धारित धातुको आधारमा कुन कुन प्रसंगमा कस्तो कस्तो शब्द बन्छ। व्याकरणमा के कस्तो परिवर्तन आउँछ। समास, विग्रह, विस्थापनको अवस्था के हुन्छ भनेर अत्यन्त व्यवस्थित किसिमको सूत्र पाइन्छ। डा. जोन कार्ड्वेनले पाणिनीको व्याकरणलाई मानव सभ्यताको पहिलो कम्प्युटर प्रोग्रमिंग ल्यांग्वेज भनेर लेखिएको शोध प्रकाशित छ। कण्ठ्य, ओष्ठय, दन्त्य, वर्त्स्य, तालव्य गरेर कुन व्यंजन कहाँबाट निस्किन्छ भनेर निश्चित गरिएको छ। 

कुन आवाज कहाँबाट निस्किन्छ र उक्त आवाजबाट बनेका कुन कुन शब्दमा कस्तो कस्तो व्याकरणिय परिवर्तन आउँछ भनेर निश्चित गरिएको सुत्र हुनु भनेको एउटा भाषामा बोलिएको आवाजलाई अर्को भाषामा लिप्यंतरण गर्न सहज हुनु हो। संस्कृतमा जसरी लेखिन्छ त्यसरी नै बोलिने हुँदा एउटा भाषामा बोलिएको कुरा अर्को भाषामा उल्था गर्ने प्रोग्रामको बिकास गर्न सहज हुन्छ। वाट्सएप बनाइयो। १९ अर्ब डलरमा बिक्री गरियो। इन्स्टाग्राम बन्यो १ अर्ब डलरमा बिक्री गरियो। के संस्कृतको पाणिनीको व्याकरण र उच्चारणको सुत्र लगाएर संसारका विभिन्न भाषाहरुलाई एक भाषाबाट अर्को भाषामा तत्क्षण उल्था गर्ने र लिप्यंतरण गर्ने एपहरु बनाउन सकिदैन होला त ?  

विदेशी विद्यार्थीले सन् २०१८ मा अष्ट्रेलियाको अर्थतन्त्रमा ३२ अर्ब डलर भित्र्याएका थिए। संस्कृत भाषाको अत्यन्त राम्रो पढाई हुने ठाउँ भनेर नेपालकै विश्वविद्यालयको ब्राण्डिङ्ग गर्न सके संस्कृत पढ्न चाहने विश्वभरका विद्याथी नेपाल भित्र्याउन सकिदैन र ?

अन्त्यमा : 
अंग्रेजी भाषा बोले आधुनिक भइने, आफ्नै भाषा बोले पाखे भइने मानसिकता व्याप्त छ। विद्यालय प्राङ्गणमा आफ्नो भाषा बोले जरिवाना तिराइने व्यवस्था सम्भवत: नेपालमा मात्र होला। यस किसिमको मानसिकता व्याप्त भइरहने हो भने योगको वास्ता नगरेर युरोपमा ‘योगा’ बनेपछि हामीलाई चासो परेजस्तै,  ध्यान साधनाको वास्ता नगरेर युरोप पुगेर ‘माईण्डफुल ब्रिदिङ’ बनेपछि हामीलाई चासो परे जस्तै संस्कृत भाषा जस्तो बृहद ज्ञान बोकेको भाषा पनि युरोप-अमेरिकीले प्रयोगमा ल्याएपछि बल्ल हाम्रो आँखा खुल्ने त होइन?

नेपालमा रहेका थुप्रै भाषाहरुको संरक्षण, प्रवर्धन र विकास गर्नुपर्छ। संस्कृतको संरक्षण भए अन्य भाषा निमिट्यान्न हुने जस्तो किसिमको भाष्य पछाडीको षड्यन्त्र चै समयमै बुझ्नुपर्छ।  एउटा भाषा बोल्न आएपछि अर्को भाषा बिर्सिने भन्ने हुँदैन बरु शिक्षण पद्धती राम्रो बनाउन सकेको खण्डमा संस्कृत भाषाको   साथसाथै नेपालका १२९ मातृभाषा संरक्षण गर्दै, सरकारी कामचलाउको भाषा, अन्तराष्ट्रिय सम्पर्कको भाषा सबैको ज्ञान दिन सकिन्छ।

प्रकाशित मिति: : 2020-08-05 17:48:00

प्रतिकृया दिनुहोस्

    एकदम सही कुरो । हामीले विदेशको भ्रमण गर्दै, विदेशी भाषा सिक्दै आफूलाई बिर्सन थाल्यौँ । यस्तो हुनु भनेको आत्महत्या हो ।

    • 11 महिना अगाडि
    • सुरेन्द्र लाल कर्ण।