प्रदेश २ काे मुख्यमन्त्री कार्यालयका आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण

प्रदेश २ को मुख्यमन्त्री कार्यालयका आधा दर्जन कर्मचारीमा कोरोना भाइरसकाे संक्रमण देखिएको छ। 

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणको क्रममाकार्यालयका ६ कर्मचारीसहित ३० जनामा कोरोना संक्रमण देखिएको हो।   

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, २ सवारी चालक र २ जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। 

उनीहरुकाे दुई दिनअघि मात्रै स्वाब संकलन गरिएकाे थियाे। नतिजा आइतबार राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले पुष्टि गरे।  

यता, संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधार पता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाई छ। त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीहरुमा समेत कोरोना संक्रमण भएको जनाइएको छ।

यसअघि प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहका चालक, भान्से र स्टोर किपरमा कोरोना संक्रमण देखिएकाे थियाे। 

मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा काेराेना पोजेटिभ देखिएको थियाे।

मन्त्री साह गत मंगलबार मात्र वीरगञ्ज उद्योग वाणिज्य संघमा आयोजित कोरोना नियन्त्रणका लागि सर्वपक्षीय कार्यक्रममा सहभागी हुन आएका थिए। 

बैठकमा मुख्यमन्त्री लालबाबु राउत, मन्त्री साह, प्रदेशका डीआईजी, स्वास्थ्य निर्देशक लगायतका जिल्लाभरका प्रहरी र प्रशासनका प्रमुखको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2020-08-03 18:09:00

प्रतिकृया दिनुहोस्