Greetings
यो घुम्ने वा यायावर बन्ने सिजन हो?
यस्को उत्तर मैले, “के यो मान्छे मर्ने सिजन हो?” भनेर दिए।
उस्को मुखमा बुझो लाग्यो।
एउटा छाता दिनुस्।
कस्तो?
जिन्दगी जस्तो, रङी बिरङी, एउटा मात्र कलर भएको छाता बोके भने म मोनोटनस हुन सक्छु।
“यो हुन्छ?” उस्ले इन्द्रेणीका सातै रङ भएको छाता देखायो।
–“पूर्ण रुपले हुन्छ।”
–“कहाँ जादै हुनुहुन्छ र?”
–“किङ्स ल्यान्ड।”
–“किङ्स ल्यान्ड? काठमाडौं?”
–“सिँजा।”
क्याको किङ्स ल्याड हुन्या हो। –पुर्खाको बिरासत आफ्ना सन्ततिलाई सम्पिन नसक्नु शोभान शाहीको कमजोरी हो। But सिंजा किङ्स ल्यान्ड नै हो। म त्यहीँ जादैछु।
ऊ मुस्कुरायो, म मुस्कुराएँ।
मैले पसलेलाई पैसासँगै, धन्यवाद पनि दिए।
०००
अघिल्लो पाली एक दिनका लागि मात्र जुम्ला आउँदा, मैले जुम्लासँग बिन्ति गरेको थिए। अर्को पाली धेरै दिनका लागि बोलाउनु न है।
मेरो बिन्ती सुनियो। बिन्ती स्वीकारिएको स्वीकार पत्र हात पर्ने बित्तिकै म हल्कारो झैं दौडिए, जुम्ला।
जुम्ला-स्वागत।
म- धन्यवाद।
खास जुम्लाको भौगोलिक बनावटले मलाई तानेको थियो। कुनै सिपालु कलाकारले बनाएको डियर देवी स्तन जस्ता चुच्चे तर साना पहाड। स्तनको छेउमा लत्रिएको अलक जस्तो तिला नदी। देवीका आँखामा खोपिटा जस्ता जिउला। आँखिभौं जस्ता मार्सी धानका त्यान्द्रा। एक पल्ट जुम्ला आएको मान्छेले माग्ने भएकै अर्को पल्ट पुरै घुम्न पाउ भन्ने स्वीकार न हो? स्वीकारियो।
thank you jumla , धन्यवाद जुम्ली।
Good Morning मा, म भैरवनाथ र चन्दननाथ दर्शनका लागि उहाँहरुको कुटिमा गएको थिएँ। भैरवनाथ र चन्दननाथको ढोका सामु देखापरेको थिए।
मलाई मात्र उनीहरूको स्वरुप हेर्न थियो। उनीहरूको पिता अज्ञात कलाकारको कालिगडी हेर्नू थियो। तर म ढोकामा उभिन मात्र के पाएको थिएँ, थालमा अक्षता, फूल पाती र कलश लिएर एक धार्मिक आतंककारी (पूजारी) भनिनेले मेरो निधारलाई निशानमा पार्यो। भन्दिउ लागेको थियो यदि म भित्र भगवान छ भने निधारमा किन टीका लगाउने? मैले केही भनिनँ, तपाईले चिन्ता लिन पर्दैन।
disclaimer -
कृपया यो मेरो नितान्त व्यक्तिगत यात्रा हो। नितान्त व्यक्तिगत यात्रा संस्मरण हो। त्यसैले म यो यात्रामा आफ्ना पाँचै इन्द्रीयलाई सक्रिय राख्नेछु। तपाईँ पनि त्यसै गर्नुहुनेछ भन्ने आश छ। यदि त्यसो गर्न सक्नु हुन्न भने, कृपया तपाईँ फर्कन सक्नुहुन्छ। र यो यात्रामा कुनै भयंकर ठूलो प्राप्ति हुन पनि सक्छ र नहुन पनि सक्छ। तर यो निश्चित छ म किङ्सल्यान्ड पुग्नेछु। र तपाईंको भगवानसँग केही कुरा सोध्नेछु। म विस्वत छु ती प्रश्न जरूर तपाई सुन्न चाहनु हुन्न। चाहे कोरोना आओस् या कालो बादल म किङ्सल्याण्ड चै पुग्ने छु।
first point
कानमा एक झोला, हातमा एक छाता सहित म नाग्ममा छु। यो तिला र हिमा मिसिएभन्दा माथी हेर्नुहोस् त सायद जुम्लाको ब्यूटी बोन्स यही पर्छ होला। यी दुई नदी ठाक्क नेकलेस आएर छातिमा जोडिएझै जोडिएका छन्। like an oval shape. लौ हिँड्नुस् अगाडि बडौं तर नआतिएर है बिस्तारै हिडौं। मज्जा लिँदै, कुनै कुरा दोहोरिए पनि ठिक छ तर हेर्न भने नछुटोस्। हेर्दै हिड्यौं कलिला बच्चाका सुन्दर अनुहार, जो पछि कुरूप बन्नेछन्। यदि पत्ताउनु हुन्न भने कवि बोनम प्रतापको कविता ‘म पनि सुन्दर थिए’ पढ्नु होला। आजको मेरो अनुहार र तपाईँको अनुहार लगभग बराबर कुरूप छ। हेर्दै हिँड्यौ–किसानका सीप, डकर्मीका सीप, प्रकृतिको कला, हिमाको हतार।
सुन्दै हिडौं यहाँको आशीर्वाद, यहाँको गाली, यहाँकै लबजमा, वस्तुभाउका अभिव्यक्ति।
सुँघ्दै हिडौं बोट बिरूवाबाट निस्केको आवारा बास्ना। मान्छेको शरीरबाट निस्केको दुर्गन्ध। वस्तुभाउबाट निस्केको सुगन्ध।
महसुस गरौं पानीका थोपाको निखार्था, ढोङाको बोधो घोचाइ, हावाको काउकुती। पाँचै इन्द्रीय सक्रिय राखौं। तर हिडिरहौं।
मलाई पिसाब लाग्यो, एक छिन म पिसाब फेर्छु। तपाईं हिन्दै गर्नुस्।
यार यो मान्छेको शरीर कसरी सुन्दर र पबित्र छ भन्नुस् त।
दुई खुट्टामा उभिएको कहिँ फुकेको, कहिँ सुकेको ‘unwanted’ बुट्टाहरु। धन जस्तो टाउको different types of entry doors and exit doors , its quit boring isn’t it मलाई चै सुन्दर लाग्दैन।
सुन्दर नलाग्नुका मसँग सयौं कारण छन्।
शारीरिक सुन्दरताको चिन्तन जस्ता विभेदकारी चिन्तन। अनुहारका लागि सयौं उपमा छन्। आँखा, नाक, ओठ, कान, घाँटी र कम्मर अनेक उपमा सहित आउँछन् खैत प्रज्जन अंग र निस्कासन अंगका लागि उपमा?
निस्कासन क्रियालाई सभ्य भाषामा मैले आज nature call भने पनि। ट्वाइलेटबाट निस्किन म हतारिन्छु। शारीरिक सुन्दरताको चिन्तनको अल्प ज्ञानले खै मलाई आजसम्म यो मनस्थितिबाट निकास दिन सकेको छैन। म मेरो निस्कासन अङ्ग र मेरो प्रजनन अङ्गलाई कुनै उपमा जोडेर सोभित गर्न सक्दैन त्यस्ता चिन्तन अपुरा छन्, मेरा लागि।
“ए बिन्दा तेरो गाई हप्प छ, ए बिन्दा, ए बिन्दा ......” मेरा लागि।
कुनै अपरिचीत बिन्द्राको अपरिचित गाई माथितिर छ। डियर बिन्द्रा जाउ गाई लिएर आउ।
कर्णाली प्रदेशको बोलिमा आधा ‘र’ उच्चारण हुँदैन। जस्तो बिन्द्रा बोलिदा बिन्दा हुन्छ। महेन्द्र बोलिमा महेन्द हुन्छ। यताको लबजमा यो मीठो र सजिलो सुनिन्छ। “डियर बिन्दा के तिमी छाउ हुँदा आफ्नो जिउलाई सुन्दर भन्न सक्छेउ? तिम्रो शरिर देउताको घर हो भन्न सक्छौ?”
जुम्ला ठूला पहाडहरुको बिसर्जन र अग्ला हिमालहरुको उठान हो। साना पहाड पहाड छेउका जिउला। बिन्दाका गाई, बिन्दा, बिन्दाको डाको यहीँ त हो। बजार नपाएका जडिबुटी, बेफुर्सदिला जुम्ली।
हिमा उदो बगिरहेकी छन्। म उभो बगिरहेछु।
जुगाड पुगेँ। गाउँपालिका अगाडिको बाटो, खेतकी बाटो? लाग्यो मार्सी यही रोपेको भएको पनि हुने। गाउँपालिका भवन अगाडि एक पुल्ती बनाइदिनु पर्ने।
चिया पिउ?
म चिया पिउँछु, तपाई अगाडि बढ्नुस् है?
आँखामा डिएपी र युरिया मलका बोरा छापिए। अर्गानिक मार्सीको आधुनिक आहारा अनि अर्गानिक मार्सी हाम्रो आहारा।
पैताला अगाडि बढे। बाटो मुनि सानो जिउलो, जिउला सँगै हिमा पारी साना हरिया पहाड, पहाड माथि साना देबदाराका जङ्गल। हरेक कुरा चित्र जस्ता। दिउँसो घाममा यो दृश्य देखिन्छ। बिहान र बेलुका कस्ता देखिन्छ्न् होला?
हिमा तर्ने पुल आयो। गज्जब पुलको छेउका रेलिङमा स्वर्गीय राजा विरेन्द्र वीर विक्रम शाह र रानी ऐश्वर्य शाह र सिपाहीका काठका प्रतिमा सिंजा सम्राज्यको अवलोकन गरिरहेका। तर प्रतिमामा सुद्द सैनिक सङ उभिएका राजा रानी। आफ्नै घर भित्र ढले, कस्तो बिड्म्बना?
फोटो खिचम?
म फोटो खिच्छु, तपाईँ अगाडि बड्नुस् है।
हामी ढ्ल्दा हाम्रो बिरासत पनि ढ्ल्छ। ईश्वर बसेको घर ढल्छ। ईश्वर बेघर हुन्छ। तपाईंको ईश्वर, जो फोहरको थुप्रोमा बस्छ। ईश्वर बस्ने कुनै ग्यारेन्टी, वारेन्टी नभएको घर ढल्छ। सादय, त्यसपछि ईश्वर अर्को घरको खोजीमा निस्किन्छ र प्रमाणित हुन्छ ईश्वर बसेको घर जरुर ढ्ल्छ। नतिजा निकाल्छु अब पालो मन्दिर, मस्जिद, चर्च, गुरूद्वारा र नेपाली थानहरुको।
यत्तिकैमा सम्झन्छु। एन्टोनी बोर्डोनलाई।
your body is not a temple, it’s an amusement park, Enjoy the ride तर फेरि सोच्छु यो अन वान्टेड बुट्टा भएको शरीरलाई पार्क रे?
गाउँ आउँछन्, जान्छन्। म घर खोजिरहेको ईश्वर जसरी हिँडिरहन्छु। सुन्दर दृश्यलाई हेर्दै सोच्छु यदि म ईश्वर भैदिएको भए यही बसेर हेरिरहन्थेँ।
एउटी आमाको आवाज कानमा पड्छ, “आ बा जिउँडा मारिदिउ तेरा।”
आमा सम्झिन्छु। मरेका जुम्रा सम्झिन्छु। आमाका हात सम्झन्छु। जुम्रा मार्दा बजेका आमाका चुराका मसिनो आवाज कानमा पर्छ। आमाका काखबाट फुत्किने जुक्ति सम्झन्छु। आमाको आफ्नै काखमा राख्ने प्रयत्न सम्झन्छु। हिमा दौडिए झैं म दौडिएको सम्झन्छु।
बच्चालाई काखमा राखेकी कुनै स्त्रीलाई देखे भने आमा सम्झिन्छु।
हाम्री आमाले देखाउन सक्ने ठूलो प्रेम त्यही त रहेछ। उहाँका हात खाली हुने बितिकै हाम्रा टाउकामा पुग्छन्।
देयार गाउँ। एक पसल अगाडि पुग्छु।
–“खाजा केही पाइन्छ?”
–“च्याउच्याउ छ।”
–“अरु केही छैन?”
–“उस्यायाका आलु खान्या हौ?”
गज्जब। नास्ता उसिनेको आलु।
तपाईँ खानुहुन्छ? खाउ न त?
उसिनेको आलु। फ्रेन्च फ्राई।
नट सो डिफ्रेन्ट।
सिल प्याक रक्सी is not equal to नेपाली घर बनाएको लोकल रक्सी।
गाउँमा उसिनेको आलु is not equal to फ्रेन्च फ्राई।
तपाईंको जिब्रो is not equal to उसिनेको आलुले भगवानको घर बचाउनेको जिब्रो।
बिन्दा is not equal to बिन्द्रा।
जुम्रा मार्ने हात is not equal to पाउडर छर्ने हात।
कय कर्णाली but not so different.
०००
सूर्य र पृथ्वीको आम्ने साम्ने सकिए पछि, पृथ्वी रङ्ग बिहिन हुँदै थियो। म दुई बाटो छुटिएको ठाउँ पुगे। त्यहाँ एक जना प्रहरी मेरै अगाडि उभिएको देखेँ। उनीहरुले नै एकताका भनेका थिए, ‘प्रहरी हाम्रो साथी’। मैले त्यहीँ नारा सम्झिएर साथीलाई सोधे झैं गरि मैले सोधेँ।
–“गाइज सिंजा जाने बाटो कुन?”
–“यहीँ हो सिंजा, सिंजा कुन ठाउँ जाने?”
–“किङ्स ल्याड।”
उस्ले मलाई यसरी हेर्यो, मानौ म गुरु चन्दननाथ हुँ। मार्सी धानको बीउ लिएर गुरु फोक्टो जाँदै छु।
–“यस्तो नाम भएको ठाउँ यहाँ त छैन?”
–“अनि कहाँ छ त?”
–“तपाईलाई कस्ले भन्यो, यहाँ के रे के ल्याण्ड छ भनेर?”
–“नाग राज र सोभान शाहीको दरबार भएको ठाउँ यतै कतै छ भन्थे त?”
उस्का आँखा मार्सी धान फल्दा खुशी भएका चन्दननाथका आँखा जस्ता देखिए।
–“त्यो त कनका सुन्दरीमा छ।”
–“सिंजामा हैन र?”
–“हैन त्यो त कनका सुन्दरी गाउँपालिकामा हो?”
हिजो सिंजा सभ्यतामा पर्ने यी ठाउँ। आज सिंजा यी ठाउँमा पर्छ।
जस्तो कि भगवानले हामीलाई बनायो तर भगवान हामी भित्र छ। समयको खेल।
Policeman –“तपाईं कहाँदेखि आउनु भाको?”
–“खलंगा बजारदेखि।”
–“कोरोना त छैन?”
–“छ, विश्व भरि नै।”
–“मैले तपाईँलाई सोधेको।”
–“चेक गरेको छैन, हुन पनि सक्छ नहुन पनि।”
“ऊ दुई कदम पछाडि सर्यो, भगवान बसिरहेको घर, ऊ भित्रको भगवान डरपोक रहेछ। घर भत्किने डर मानेछ।
उसले दुई कदम पछाडिबाट भन्यो– ‘आज नराकोट बस्नुस् नजिकै छ? भोलि बिहानै जानुहोला नराकोट नजिकै छ।”
गुगलमा सर्च गर्दा देखिने त नराकोट पो रैछ। कति पल्ट यही दृश्य देख्दा म कति पुलकित हुन्थेँ। हिमा नदीको किनारमा अवस्थित नराकोट आजको सिंजा गाउँपालिका भएको बजार हो। यहाँ पनि एक फोटोकपी सिंहदरबार छ। आश गरौं यो सिंहदरबार भित्र बस्ने ओरिजिनल सिंहदरबार भित्र बस्ने जस्तो हुने छैन। आजको रात यतै बसौं। यसो गरे हुन्न।
आज म यतै बस्छु, तपाईँ अगाडि बढ्नुस् है।