वीरगञ्जमा कोरोना संक्रमितको शवदहनमा अवरोध, प्रहरीद्वारा ६ राउण्ड हवाई फायर

कोरोना संक्रमितको शवदहन गर्ने बिषयमा स्थानीयहरुले अवरोध गरेपछि वीरगञ्जमा गोली चलेको छ।

कोरोना संक्रमितको शवदह गर्न जेसीबीसहित प्रहरी र सशस्त्र प्रहरी वीरगञ्ज महानगरपालिका ३१ मिलनचाेक पुगेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे।

बिहीबार वीरगञ्ज १६ नगवाका ३५ बर्षीय पुरुषको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमन उपचारका क्रममा मृत्यु भएको थियो। 

ज्वरो आउनुका साथै श्वासप्रस्वासमा समस्या आएपनि मंगलबार अस्पताल पुगेका उनको आकस्मिक कक्षमै उपचारकाे क्रममा उनको मृत्यु भएको थियो। यता जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको बिहीबार राति ११ बजेतिर मृत्यु भएको थियो। 

मुटुको वाइपास सर्जरी गरिसकेका ५६ बर्षीय उनलाई कोरोना संक्रमण भएको साउन ६ गते नै पुष्टि भएको थियो।

त्यसैगरी वीरगञ्ज २ छपकैयाका ६५ बर्षीय पुरुषको घरमै मृत्यु भएको थियो। उनी सुगरका विरामी भएको थाहा पाएपछि नारायणी अस्पतालको टोलीले स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पाइएको थियो।
 
उनीहरुकाे शवदहन गर्न लैजाँदै गर्दा स्थानियवासीहरुले निषेधाज्ञाको अवज्ञा गर्दै संक्रमितको शव आफ्नो ठाउँमा व्यवस्थापन गर्न खोजेको भन्दै प्रहरी प्रशासन, सेनाको विरोधमा टायर बालेर प्रदर्शनमा समेत गरेका थिए। 
 
सयौंको संख्यामा रहेका स्थानीयवासीले शव दह गर्न नदिने अडान लिदै सडक अवरुद्ध पारेपछि भिडलाई तितरबितर पार्न प्रहरीले ६ राउन्ड आश्रुग्यास र ६ राउण्ड हवाई फायर गरेको स्थानीयवासीले बताएका छन्।

प्रहरीले आश्रुग्यास र हवाइ फायर गरेपछि आक्रोशित बनेका स्थानीयवासीले ढुंगा मुढासमेत गरेका थिए। यसअघि पनि साउन १२ गते मिलनचौकबासीको अवरोधका कारण शव व्यवस्थापनमा समस्या आएको थियो।

यता वीरगञ्ज महानगरपालिका ३१ मा पर्ने भेडाहा खोला छेउमा गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत भारत माइती भई वीरगञ्ज २१ बस्ने १७ वर्षीया युवती र गत शुक्रबार बिहान आइसोलेसनमा निधन भएका वीरगञ्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको शव व्यवस्थापनमा पनि अवरोध गरेका थिए।

प्रकाशित मिति: : 2020-08-01 06:29:29

प्रतिकृया दिनुहोस्