पीडितको लागि न्याय त्यो हो जसलाई विना शर्त कुनै नातागोता जात धर्म रङ्ग भेदभन्दा माथि रहेर सिर्फ अपराधीलाई अपराधको सजाय दिईयोस् त्यो पो न्याय हो त। वार्गिनिङ गरेर मोटो रकमको आधारमा पनि कही न्याय पाईन्छ?
केही दिन अगाडि सरकारी मोटरसाईकलमा सवार महिलाको ढाडको उधुम चर्चा भएको थियो। चर्को खोज अनुसन्धान गर्न लागि परेका थिए। खिसिट्यूरी गर्दै अन्तरिक्षमा सम्म त्यो तस्विर पुर्याए। गाली बेईजती खिसिट्यूरी गर्नुसम्म गरे अझ भनौं मानवताको पराकाष्ट नै पार गरे संवेदनशीलहिन सिल्लिहरूले आफ्नो चरित्र छर्लङ देखाए।
त्यसपछि अर्को तस्विर सामाजिक सञ्जालमा देखियो सिर्फ भावुकताबाहेक अरू केही थिएन सबको आवाज मन्द थियो। अब त यो यस्तै हो भन्ने मानसिकताले जरा गाडी सकेछ झै लाग्यो।
तेजाव आक्रमणले हिजो भर्खर देखेको एउटा सुन्दर अनुहार पत्याउन नसकिने गरि डढेको छ। त्यो सुन्दर अनुहार रातरात यस्तो अवस्थामा देखेपछि चुपचाप सोच्नु कायरता पोख्नुबाहेक र लञ्जित भएर सहानुभूतिका शब्द प्रकट गर्नेबाहेक कुनै उपलब्धि छैन। एउटा सुन्दर नारीको जीवन एसिड प्रहार गरि तहस नहस पार्दिने अपराधी ज्यानमारा, हत्याराभन्दा पनि ठूलो अपराधी हो। हो यस्ता कलंकलाई यही किसिमको व्यवस्थाले न्याय देलान् जस्तो लाग्दैन।
समग्रमा भन्नुपर्दा यो देश दलालले चलाएका छन्। देश मात्र होइन विदेशमा रहेका दूतावास पनि सरकारको नक्कल गरिरहेका छन्। पीडितको पक्षमाभन्दा पीडकको पक्षमा बलियो गरि उभिन तमतयार छन् विधिको शासन त भन्ने विषय मात्र हो।
तेजाव पीडितलाई यस्तो भयानक बर्बर अवस्थामा पनि सहानुभूति दिएर अझ कमजोर बनाउने पीडा थप्ने सत्य तथ्य छानबिन समितिको नाममा वर्षौसम्म न्यायविहिन बनाउने कामभन्दा हालसम्मको कुनै पनि सरकार त्यो भन्दा माथि उठ्न सकेको छैन। साच्चिकै कलियुगमा मानिस हिंस्रक हुन्छ क्रुर हुन्छ भनेको थियो यसरी नै सुन्दरतालाई कुरूपतामा बदल्दै जाने हो भने अमानवीयताको पराकाष्ट मानवता भन्ने जिनिसको अन्त्य भएको आभाष हुन्छ।
कहिलेसम्म अपराधि र हत्याराको संरक्षण दिने हो सरकार अनि तेजाव बिक्री वितरणमा किन कडाई नगरिएको हो? जघन्य अपराधका दोषीलाई कडा कारवाही गर्न कलियुगको यो सरकारलाई के ले छेकेको छ। किन कडा रूपमा प्रस्तुत हुन सक्दैन र अपराधलाई बढावा दिईरहेको छ? तेजाव प्रहारपछि पीडित भएका निर्दोष चेलीको अनुहारमा कसरी सिधा हेर्न सक्छ यो सरकारको प्रतिनिधीले? हत्यारालाई शूली चढाउन थर्थर काम्ने यो सरकारको अन्तिम क्षमता यति नै हो त?
खासमा अहिलेको माग र जनताको आवश्यकता भनेको त्रेतायुगको रामराज्य जस्तै हो। जहाँ न्यायको आभाष होस् पीडित र पीडकको पहिचान होस्। राज्य सञ्चालन गर्न कुनै पात्रले फरक नपरोस्। तर यो कलियुगमा राज्य सञ्चालन कसले गरेको छ उसको नजिकको अपराधि पालैपालो उन्मुक्ति दिने दोषिलाई निर्दोष बनाई दूधले नुहाई दिने यो प्रवृत्ति हावी भएको छ कहिलेसम्म यसरी सरकारका प्रतिनिधिहरू नै अपराध लुकाउन तोडमोड गर्न र अपराधि जोगाउन लागि पर्ने हो? यो त अति भएन र? अब त गम्भीर भएर सोच्न पर्ने होइन र? कि यो ब्यवस्थामा न्यायालय जस्तो पवित्र संवैधानिक निकायलाई ब्यक्तिको प्रवृतिको कारण कलंकको टिका लगाई निर्लज्ज बनाउने हो। यहाँ भन्दा नाङ्गो अब कति नाङ्गिनू!
चकित पर्ने गरि जनताको नाङ्गो आँखाले छर्लङ्गै देखिने हत्या जस्तो घटना पनि न्यायमूर्तिको चश्माले किन निर्दोष देख्छ। नीति नियम नै गलत हो कि नियत मात्रै गलत हो? कम्तिमा जनतालाई प्रस्ट त पार्नुपर्ने थियो।
राम वनबासबाट फर्किएपछि अयोध्याको राज सिंहासनमा बसेको भोलिपल्ट भरतले राज्यको ढुकुटी देखाउँदै भने दाइ तपाईँ वनबास गएको १४ वर्षपछि यो राजदरबार र राजढुकुटीको अवलोकन गर्दै हुनुहुन्छ। मैले पिताश्रीले जम्मा गर्नुभएको ढुकुटीबाट एक असर्फी पनि खर्च गरेको छैन। बरू यो राज ढुकुटीलाई १० गुण वृद्धि गरेको छु राम अत्यन्त प्रशन्न हुँदै प्रिय भाइ भरतलाई धन्यवाद दिए।
लगतै रामले अत्यन्त चासोको साथ राज्यका अनेकन कामलाई थाती राखेर पहिलो प्राथमिकतामा आफ्नो देशका जनताको अवस्था नियाल्ने र नजिकबाट बुझ्ने ईच्छा देखाए र जनताको दैलोमा पुगे। सबैतिर हेर्दा १४ वर्ष अघि आफू वनबास जाने बेलामा जस्तो थियो जनताको जीवनस्तर लगभग उस्तै देखे।
भरतले ढुकुटीलाई ईमान्दारीताको साथ १० गुणा बृद्धि गरे पनि जनताको स्तर नाजुक थियो। आफैंले त्यो हविगत देखेपछि तुरुन्तै उनले आफ्नो राज्यमा कर तिर्ने जति सबै जनतालाई राजदरबारमा बोलाए।
राजदरवारमा रामले बोलाएको कुराले जनताहरु निरास भए निकै डराए उनीहरूले सोचे पक्कै पनि राजाले हामीलाई कर माग्न बोलाएका हुन्। रामको कुरा सुन्नु अगावै उनीहरू तमतयारीको साथ विनम्रताको साथ आफूसँग जे जे थियो त्यही बोकेर रामको राजदरबारमा हाजिर भए।
राजा रामले दरबारमा हाजिर भएका सबैलाई पालैपालो सिधा प्रश्न सोधे। तपाईँको स्थिति कस्तो? जीवनयापन कसरी चल्दैछ? खान लाउन त पुग्छ नि? कुनै समस्या छ कि? यो सुनेर जनताहरु अनुत्तरित भए। भावविह्वल भए। जनताको सोचाई र रामको प्रश्न तालमेल नमिलेपछि उनीहरूको अनुहार हेरेर रामले समस्याको पहिचान गरे।
भावब्यहोल परिस्थितिलाई मध्यनजर गर्दै रामले जनतालाई सम्बोधन गर्दै भने, ‘अब तपाईहरू नआत्तिनुहोस्। तपाईंहरूलाई पुगेर उब्रेको मात्र राजालाई कर तिर्नु, आज उप्रान्त म राजा भइन्जेल आफूलाई खानलाउन खाँचो पारेर, बालबच्चा भोकै राखेर कर तिर्नु पर्दैन। बरू खान लाउन अभाव भए बस्न समस्या भए मलाई भन्नु। राजा भनेको पिता हो, जनता सन्तान हुन्। पिताको दायित्व सन्तानको लालनपालन गर्नु हो। अब यो राज्यका सम्पूर्ण जनताको सम्पूर्ण दायित्व मेरो हो। उमेर हुने र सक्ने सबैले अनिवार्य काम गर्नु। बुढापाका र रोगीलाई सम्मान गरेर स्याहार–सुसार गर्नू। बालबच्चालाई माया गरेर जिम्मेवारी सिकाउँदै हुर्काउनू।’
यति भनेर रामले सबै जनतालाई स–सम्मान फर्काइदिए। जनताहरु निकै खुशी भएर हर्सोलासका साथ राजको जयजयकार गर्दै फर्किए। रामले राज्य सञ्चालन गरेपछि उक्त राज्यभर कोही भोकै नाङ्गै भएनन्। संसारभर राम राज्यको नामले प्रख्यात भयो। राजा रामलाई भगवान मान्न थालियो।
द्वापार युगमा ठिक उल्टो भयो जसरी त्रेतायुगमा राम र भरत बिचको सम्बन्ध र निःस्वार्थ भाव देखियो। राज्य सञ्चालनमा मोह देखिएन। राज्य सञ्चालनको जिम्मेवारी लिए पनि साधरण जनताभन्दा पनि नाजुक स्थितिमा रहेर भरतले राज्य सञ्चालन गरे। शक्ति र सताभन्दा पनि जनताको हित पीडक र पीडितको पहिचान छुट्टै प्रकारले न्याय दिने शैली देखियो त्यो नै उत्कृष्ट प्रणाली थियो जनताले न्यायको आभाष गरेका थिए कलियुगको जनताको चाहना सिर्फ यति नै हो कम्तिमा राज्यको बागडोर समालेकाहरु उत्तरदायी भईदिउन् न्याय र अन्यायको पहिचान होस् अपराधीलाई उचित दण्ड सजाय र पीडितलाई उचित न्याय दिईयोस् सिर्फ यति नै हो माग।
द्वापरमा अन्याय अत्याचार हिंसात्मक गतिविधि हावी भयो कंशको अत्याचारले सीमा नाघ्यो महाभारतको महानायक श्रीकृष्णले संह्रार गरे अत्याचारबाट मुक्ति दिलाए। त्यसपछि कौरव र पाण्डव (भाइ-भाइ) बिच राज्य सञ्चालन सत्ता र शक्तिको लागि महाभारत युद्व सुरू भयो। धर्म स्थापनाको लागि सत्य र असत्यको भिषण युद्व भयो र अन्तमा सत्यको विजय भयो।
उतिबेला नै भनिएको थियो कलियुगमा हिंसा बढ्छ क्रुरताको पराकाष्ट नै हुन्छ यति बेला त्यो भनाई सत्य सावित भएको छ। यो क्रुरताको अन्त गर्न न राम छन् न कृष्ण छन् अब कसरी गर्ने यो हिंसात्मक गतिविधिको अन्त।
जघन्य अपराध हत्या हिंसा बलत्कार एसिड आक्रमणलगायत अन्य अपराधिक क्रियाकलापको श्रृङ्खला डरलाग्दो गरिबढिरहेको छ जनतामा चरम निराशा बढेको छ। भ्रष्टाचार मौलाएको छ पारदर्शिता देखाउने नाममा विभिन्न समिति गठन गरेर छोपछाप गर्ने सिवाय अरु केही भएको छैन। तर राज्यको ठेक्का लिएर बसेकाहरू जनताको विषयमा अलिकति पनि चासो दिदैनन् सिर्फ शक्ति र सत्ता हत्याउने खेलमा ब्यस्त छ।
जनताको आधारभूत आवश्यकतालाई समेत ध्यान नदिई सत्ता शक्तिको अंक गणितमा अलमल्लिएको छ। प्रहरी प्रशासन अड्डा अदालत संवैधानिक सम्मानित संस्था समेत विवादित बनेका छन् तर जतिसुकै विवादित भए पनि जवाफदेहि कोहि छैनन्।
कुनै पनि प्राकृतिक प्रकोप भूकम्प बाढी पहिरो वा अन्य विपतिको समयमा सरकारको उपस्थिति देखिन पर्ने तर त्यो उपस्थिति चुनावताका समय अलवा अन्य समयमा दुर्लभ बनिदिन्छ।
दश वर्षे ऐतिहासिक जनयुद्व के यही अवस्थाको लागि थियो। हजारौं लाखौ मानिस विस्थापित भए धेरै भाउजू बुहारी चेलीहरूको सिउँदो उजाडियो नावालक नानी बाबू अभिभावक विहिन भए। हजारौ बृद्ध बा आमाको बुढेशकालको शाहरा देशको निमित यो ब्यवस्था ल्याउनको लागि ज्यानको प्रवाह नगरी हाम फाले!
अहिले राज्यको नालायकीपन देखेर जनप्रतिनिधिको दादागिरी देखेर हत्या हिंसा बलात्कार अन्य जघन्य अपराध एसिड आक्रमणको श्रृङ्खला देखेर उदेक लाग्छ।
साच्चिकै राज्य निर्लज भईसक्यो झै लाग्छ कुनै पनि घटना सतहमा आए पछि पहुँचको आधारमा घटनाहरू तोडमोड गरिन्छ पीडितलाई उचित न्याय दिनुको साटो न्यायको किनबेच हुन्छ यो भन्दा क्रुर अपराध अरू के हुन सक्ला? यहाँ गरिबको आशूमा रमाउने होली खेल्ने नेताहरुको उदय भएको छ नेताहरुले चाहेको भए जनताको स्थिति यतिविध्न हुने थिएन। कहाँबाट लुट्न र कमिसन घिच्न पाईन्छ भन्ने सिवाय अपवादबाहेक अधिकांश नेता जनप्रतिनिधि कर्मचारीको दिमाखमा अन्य विषय शून्य भएका छन्।
हिजोसम्म देखिएको सुन्दरी चेलीको अनुहार रातरात आक्रमण गरि कुरूप पारिएको छ यस्तो अपराधिक क्रियाकलाप तिव्र रूपमा बढिरहँदा पनि राज्य लगभग मौन छ। मौनताको अर्थ कसरी लगाऔं राज्य आक्रमक रुपमा प्रस्तुत भई कडा कारवाहीको प्रक्रिया अगाडि बढाउनुको साटो अपराधीको कुण्डली हेर्दै रमिता देखाईरहेको छ। केहीले अपराधलाई जातियतासँग तुलना गरेर जातीयताको अपवाह फैलाईरहेका छन्। राज्यको कमजोरीको फाईदा लुटिरहेका छन्।
बलात्कार हत्या हिंसा एसिड आक्रमणको घटनालाई राज्यले गम्भीर रूपमा लिएन पीडितलाई उचित न्याय दिन सकेन्। अझ अचम्मलाग्दो कुरा त ईतिहासकै कंलक प्रधानन्यायाधीश देखिए पत्नी हत्यारालाईसमेत चित्त र पित्त भन्दै जनतालाई मुर्गा बनाए र अपराधीलाई बढावा दिईरहेका छन्।
पक्कै पनि यो व्यवस्थाको परिकल्पना गरिएको थिएन। जनताको स्थिति झनझन नाजुक बन्दै गएको छ तर त्यही जनताबाट नेता बनेकाहरु गरिवको झुपडीलाई गाई गोठ भन्न थालेका छन्। त्यही गरिब निमुखा जनताको हक हित र अधिकारको विषयमा कडा भाषण दिनेहरु आशाका किरण छर्नेहरु अहिले यूटर्न भएका छन्। न तीनलाई जनताको मर्म थाहा छ न पीडा उनीहरू चिल्ला गाडीमा सररर घुम्न पाएका छन्। देशको उन्नती प्रगति हैन ब्यक्तिको प्रगतिले गगन चुमेको छ।
तै पनि अधिकारसम्पन्न नियमण गर्ने निकायहरु ढोङ पीटिरहेका छन् भ्रष्टचार अनियमितता शून्य सहनशिलताको चर्को नारा लगाईरहेका छन्। हजारौं युवाहरू पलायन भएका छन् न युवाहरुको विषयमा चिन्ता छ राज्यलाई न बृद्धाहरुको चिन्ता छ सिर्फ उनीहरूलाई एउटै चिन्ता छ सत्ताको।
सत्तामा हालीमुहाली गर्न पाए पछि न जनता भोका देखिदोरहेछ न गरिब देखिनेरहेछ न्याय अन्याय सब एकनाश देखिँदोरहेछ। हैन भने निर्दोशहरू जेल जीवन विताउन बाध्य हुने थिएनन्। अनि शक्ति र सत्ताको आडमा अपराधीले न्याय किन बेच गर्ने थिएनन्। न्यायको ठेक्का लिएर बसेका न्याय मूर्तिको तराजु हलचल गर्ने थिएन। त्रेता द्वापारमा जन्मिएका महापुरूष राम र कृष्ण जस्तै कलियुगमा एउटा भगवान रुपी मनुष्यको जन्म जरुरी देखियो।
होइन भने अहिलेका राजनितिज्ञले यो देश सत्ता र शक्तिको मोहमा जनताको प्रवहा नगरी कहाँ लगेर डुबाउँछन पत्तो छैन। यही चरित्रले देश समृद्धि बनाउने सपना पनि स्वेर कल्पना मात्र हो। कम्तिमा यो चरित्रलाई त्याग्न नसकेसम्म केही हुनेवाला छैन। बरू अझ क्रुरता बढ्न सक्छ।
अब जनता सावधानी रहनुको विकल्प छैन निर्धक्क सत्ताका हेमायतीलाई सत्तामा हालीमुहाली गर्न दिईरहने हो भने नेपाली लेण्डुप नेताको उदय हुन अब धेरै समय लाग्दैन।