१.

बिदाको दिन। म ठुली ममीको घर आएको छु। ठुली ममी “एकछिन बस है” भनेर भर्खरै निस्किनु भएको छ। घरमा सुनसान छाएको छ। के गरेर बस्ने? टि.भी के हेर्नु, टुईटर कति चलाउनु, रुममा टोलाएर कति बेरसम्म बस्नु! त्यसैले उक्लिए छततिर। 

घर गाँउमा र जङगल नजिक भएको हुनाले होला म गमि रहे, रमिरहे। मन डुलाई रहे। बस हराई रहे।

वरपर गर्दै छु। अचानक हल्लाखल्ला मच्चियो। कोलाहल, रिस र हतास मिसिएको आवाज। उफ! हतारहतार म त्यस आवाज तर्फ दुगुरे। आवाज छतको उत्तरी कुनाबाट हाम फालेर एउटा पक्कि घरमा पुग्यो। र बाँडिएर थोरै एउटा केटोमा पस्यो, थोरै एउटी अाइमाई सायद उसकी आमामा पस्यो र बचेको थोरै छरछिमेकिमा, थोरै हावामा पस्यो। 

आइमाई सक्दो रिसाएर, सक्दो आफूलाई कठोर बनाएर केटोलाई हातले, भेटे लट्ठीले, भेटे कुच्चोले हानि रहेकि छे। केटो पनि सक्दो फुत्किने तरखर, सक्दो प्रहार छेल्ने प्रयास गरिनै रहेको छ। उ..उ भाग्यो। 

आइमाई पच्छयाउदै अलि परसम्म पुगि। र रोकि। किनकि ऊ आमा हो। केटो पनि रोकियो। ठिक्कको ढुङ्गा समात्यो। जोडले हिर्काउदै भन्यो, “बाईक किनिनस् भने तलाई मारिदिन्छु पख्न तेरो..”। किनकि ऊ छोरो हो। 

त्यसपछि के भयो ?

उसले होसै गरेन त्यो ढुङ्गो आमाको निधारमा ठोकिएर भुइमा खसेको, उसले होसै गरेन। बहिनीहरुको बिचल्ली, उसले होसै गरेन। घरको हालत, उसले होसै गरेन। आफ्नो बेहोसी। अँह! उसले केही होस गरेन। मात्र होस गर्‍याे कहाँ छन् साथीहरु जसले अब के गर्ने? भनेर जोस्साउछन्। मात्र होस गर्‍याे कहाँ छ भट्टि पसल जसले उसलाई उदारो रक्सी खुवाएर ज्यानमा ज्यान हालीदिन्छ जो घरले कदापी गर्दैन। 

रिसले मुरमुरिदै, अनेक थरी फलाक्दै केटो त्यहाँबाट अलप भयो। तिनै तर्फ रवाना भयो। आँखामा अाँशु टिलपिलाउदै, निधारमा रगत छचल्काउदै आइमाई पनि तिन्टी छोरीहरुको र केही दयालु छिमेकिको आडेसमा त्यहाँबाट घर फर्की। त्यहाँबाट छरछिमेकहरु पनि फाटिए। त्यहीँबाट रोकिएको हावा पनि वेगियो। र त्यहीँबाट मैले पनि नजर र ध्यान अन्तै मोडे। हटाए।

वातावरण कमसे कम एक छिन भए पनि शान्त सुनियो। हो, आज पहिलो पटक ख्याल गरे वातावरण देखिदो मात्र रहेनछ। सुनिदो पनि रहेछ। 

नजर हटाए पनि ध्यान हटिरहेको थिएन। खासमा नजर भन्दा मानिसको ध्यानले गहिरिएर देख्दो रहेछ र त्यो भङ्ग हुन ज्यादै कठिन रहेछ। र त्यो भङ्ग गराउन ज्यादै कठिन कार्य रहेछ। ठिक यहि भैरहेको थियो यो बेलामा। योबेलामा मन पनि त दुखिरहेको थियो!

म जबरजस्ति ध्यानको ध्यान भङ्ग गर्नतिर लागि परे। रुखका डालीमा एकछिन हल्लाइदिए। खुल्ला आकाशमा एकछिन छाडिदिए। खोलामा एकछिन बगाइदिए  तर ध्यानले आफ्नो ध्यान भङ्ग गर्ने वा स्थिर हुने छाट देखाएन। 

लाग्यो — दृश्य वा नजर दुखेको मनको वास्तविक उपचार होइन। कुनै एकमा मात्र केन्द्रित ध्यानको पनि उपचार होइन। अरु केही नै हो। खै के हो?

फेरि हल्लाखल्ला मच्चियो!

केटो हातमा खुकुरी समातेर पछिपछि दुगुरिरहेको छ। अगिअगि आइमाई आत्तिदै, कराउँदै र एकहातले निधार चपक्क च्यापेर दुगुरिरहेकि छे। मनलाई कति हातले च्यापेर दुगुरि रहेकि होली?

बाँच्ने र मर्नेको साधमा जो मानिस पनि म्याराथन धावक झैं बाँच्नेतिर दुगीरहेको जस्तो लाग्ने रहेछ। तर असलमा ऊ म्याराथन धावक झैं मर्नेतिर झनै बेस्मरी दुगुरीरहेको हुँदो रहेछ। 

हेर्दा हेर्दै,

ओर्लिदा ओर्लिदै, 

पखपखपख भन्दाभन्दै  “छयाप्प” ! 

उफ !

  २.

प्रस्तुत घटना सत्य हो वा असत्य? यो प्रमुख कुरा होइन। त्यसको खास अर्थ पनि छैन तर भन्न, देखाउन र बोध गराउन खोजिएको कुरा महत्त्वपूर्ण जहिल्यै हो। र भैरहनु पर्छ। 

के भन्न खोजिएको छ ? 

अहिलेको पुस्ता धरातल पर गएर जिद्दि गर्छ, रिसाउँछ, सोच्छ, बहकिन्छ, छटपटिन्छ, अनेक थरी गर्छ। के यो ठिक हो? वास्तवमा के हुन पर्थ्याे? र के भैरहेको छ? आमाको ज्यान नै लिने कस्तो जिद्दि पालेका छाैं हामीले? घर नै उजाड पार्ने कस्तो रहर र सपना बोकेका छाैं हामीले? 

घर के कस्तो हालातको सामाना गरिरहेको छ? कमसेकम जसले जति जोस्साए पनि हामी घरको अनुहार हेरेरै थाँहा पाउछाैं होला नि! चाहेको कुरा दिन सक्ने भए के दिदैन घरले? दिन्छ। दिन नसक्ने भएर त नदिएको। यो कुरा जति अबुझ भएपनि बुझ्छौ होला नि! र अर्को कुरा, यदि चाहेको कुरा नपाए घरसँग चिडिने, रक्सी खाने वा हत्यासम्मका कर्तुत गर्ने हो? वा आफूले पनि सक्ने जति काम गर्ने हो? मेहेनत गर्ने हो?

जिन्दगी के हो?

चाहेका कुरा प्राप्त,

चाहेका कुरा पाउन प्रयत्न,

चाहेका कुरा अप्राप्त,

वा यी मध्य कुनै पनि नाई।

जिन्दगी यी चारै मध्य कुनै एक पनि अवश्य होइन। किन होइन? किनकि यी चारै कुरा बिना पनि जिन्दगी चल्दै आएको छ। जिन्दगी आफ्नै हिसाबले चल्छ। हामीले चलाई दिनु पर्दैन। जिन्दगी आफ्नै परिभाषामा परिभाषित हुन्छ। हामीले परिभाषित गरिदिनु पर्दैन। को हाैं हामी, जो जिन्दगीलाई आफ्नो सम्झिन्छाैं? आफ्नो तरिकाले जिउछाैं? को हाैं हामी जो जिन्दगीलाई अर्काको सम्झिन्छाैं? अर्काको तरिकाले जिउछाैं?

कोही किन जिन्दगीलाई जिन्दगीको सम्झिदैन? कोही किन जिन्दगीलाई जिन्दगीकै तरिकामा जिउदैन? सोचनिएछ।

सोचे के हुन्छ?

फेरि पनि जिन्दगी चल्छ।

नसोचे के हुन्छ?

फेरि पनि जिन्दगी चल्छ।

र अन्त्यमा....

के भन्न खोजिएको छ?

मात्र यत्ति — मेरा उद्धेक लाग्दा कुराहरु कस्ता लागे? मन परे तितिलाई पढाइदिनु होला। 

सकिन्छु

प्रकाशित मिति: : 2020-07-25 05:59:00

प्रतिकृया दिनुहोस्