तिमीलाई कफीको लागि इन्भाईट आएको छ-ढोका खोल्दा साथीले सुनाई।
कहिलेकाहीँ मान्छेका मुस्कानहरुमा नराम्रोसँग अल्झिने गर्छु म। निकै रहस्यमय लागिदिन्छ्न् कुनै कुनै मुस्कानहरु। मेरो ध्यान साथीको कुरामा भन्दा पनि उसको मुस्कानमा गएर अल्झियो। त्यो मुस्कानको अर्थ खोज्न मेरा मन उसको अनुहार पढ्ने कोशिस गर्यो तर उत्तर भेट्याउन सकेन।
हाँसी रहेको चाहिँ किन?- मैले प्रश्न।
अब हाँस्नु नि हुदैन त ?- उल्टै प्रतिप्रश्न गरी ऊ।
अचम्म लागेर नि- मैले जवाफ दिएँ।
उसले फेरि उसैगरी जिस्काई- कफी पिउन जाने होइन त?
मैले फेरि अघिजस्तै शंकास्पद तरिकाले उसलाई हेर्दै सोधेँ-कसले बोलाएको हो र?
पहिले जाने हो कि नाई भन अनि मात्र भन्छु -ऊ जिस्किई।
‘तिमीलाई थाहा नै छ त म कहिल्यै कफी नै पिउँदिनँ अनि के कफी पिउन जानू,’ मैले थपेँ।
अरू केही पिउँदा नि हुन्छ नि त कफी नै पिउनुपर्छ भन्ने छ र? उ फेरि जिस्की।
अब चाही मलाई झिझो लाग्न थालेको थियो, बारम्बारको उस्तै विषय र रहस्यले।
नघुमाई भनन कुरा के हो?-अलि रिसाएको पारामा भनेँ।
उसले बल्ल हाँस्दै सुनाई, खासमा उसङ्गै काम गर्ने उसको साथीको साथीले इन्भाईट गरेको रहेछ। उसले मलाई कतै देखेको रे, राम्रो लागेर परिचय अघि बढाउन इन्भाईट गरेको। कुरा सुनेर म अचम्ममा परेँ केहिबेर। हुन्छ या हुँदैन दुबैको जवाफ आवश्यक नै देखिनँ र मुस्कुराए मात्र।
खासमा जर्मनहरुको चलन रमाइलो छ। कोहीकतै राम्रो लागे या मनपरी हाल्यो भने चिनाजान अघि बढाउन कफीका लागि इन्भाईट गरिहाल्ने। यो बहानालाई कफी डेट भन्दा पनि फरक नपर्ला।
मैले यो कुरालाई महत्व नै दिईनँ र त्यसै सेलायो। त्यस्तै केही महिनापछि म सिटी जादै थिएँ, मेरो स्टेसन आयो म ट्रेनबाट झरेर अलि अघि मात्र पुगेको थिएँ। पछाडिबाट हेल्लो भन्दै कोही बोल्यो। हाई भनेर म अघि बढेँ। यतातिर हेल्लो हाई सामान्य हो, सबैले सबैलाई भन्छन्, चाहे चिनेको होस या नहोस्। ऊ फेरि बोल्यो, ‘तिमी अपेक्षा हो है।’
म अचम्म परेँ, यो मान्छेलाई यो भन्दा अघि कहिँ देखेकी छु कि भनेर याद गर्ने कोशिस गरे तर याद नै आएन। ऊ खिँस्स हाँस्यो र आफैंले मेरो मनको प्रश्नको उत्तर बताईदियो,‘तिमी चिन्दैनौं मलाई तर म चिन्छु तिमीलाई।’
कसरी?- ममा जिज्ञासा थपियो र प्रश्न सोधिहालेँ।
उसले आफ्नो नाम बतायो र आफ्नो साथीको। ऊ अरू नबोल्दै मैले अनुमान गर्न भ्याईसकेकी थिएँ।
ऊ त्यही कफी इन्भाइट गर्ने मान्छे थियो। त्यसपछि केही बेर हिँड्दै कुरा गर्यो हामीले।उसले प्रश्न गरिरह्यो नजिक हुने बहानामा मैले जवाफ मात्र दिइरहेँ। बसाई, पढाइ, काम, भाषाबारे सोध्यो उसले र मैले जवाफ दिएँ।
यी सबै संम्वादहरु जमर्नी भाषामा भइरहेको थियो। ऊ एकपटक नेपाल गएर आएको रहेछ, निकै उत्साहित हुँदै सुनायो। नेपाल र नेपालीहरुको तारिफ गर्न पनि छुटाएन।
म अलि हतारमा थिएँ, छिटो जानु थियो। म अलि हतारमा छु बाई भनेर अघि बढेँ। उसले फेरि बोलायो, ‘सुनन ह्वाट्सएप नम्बर दिन मिल्छ?’
मैले सरी भने र आफ्नो बाटो लागेँ।
सपिङबाट फर्किएपछि रूममा बसेर मोबाइल चलाउँदै थिएँ। आँखा फेसबुकको नोटिफिकेसनमा गयो। एउटा फ्रेन्ड रिक्वेष्ट आएको रहेछ, खोलेर हेरेको त्यहिँ बाटोमा भेटिएको मान्छे थियो। एसेप्ट गरौं या नगरौं सोच्दैसोँच्दै घण्टा बित्यो र एसेप्ट गरेँ। त्यसपछि हामी फेसबुके साथी भयौँ।
थ्यान्क्यू!- उसले तुरून्तै म्यासेज गर्यो।
वेलकम-मैले रिप्लाई फर्काएँ।
यसरी नै बिस्तारै कुराकानीको सिलशीला बढ्दै गयो। कुरा हुन थालेको एक हप्ताजतिमा मैले उसको कफी इन्भाईट स्वीकारेँ। कहिल्यै कफी नै नपिउने मान्छे म कफी त बहाना थियो। च्याटमा बोल्दाखेरी नै राम्रो लागेको थियो, खुलेर बोल्ने, रमाइलो खालको मान्छे।
र भेट्यौं हामी।
रमाइलो कुराहरू भयो। केही आफ्ना, केही देशका, केही भेषभुषाका, केही भाषाका र केही बसाइँ बारेका कुराहरु भए।
उसको कुराहरू र बोल्ने शैलीले नजानिँदो पाराले मलाई ऊ तर्फ तानिरहेको थियो। उसको नेपालप्रतिको लगाव देखेर त झन म भुतुक्कै भएकी थिएँ। हप्तामा एक या दुई पटक कफी पिउन जानु हाम्रो रूटिङ नै बनिसकेको थियो।
उसलाई भेट्न जाने सोच्दा मात्र पनि म भित्र बेग्लै किसिमको स्फूर्ति आउन थालेको थियो। जे भइरहेको थियो निकै रमाइलो भइरहेको थियो कफीवाला साथीसँग।
म कफी खासै नपिउने मान्छे, उसँग भेटेदेखि कफी मन नै त परेको थिएन तर पिउने क्रम चाहिँ बढेको थियो।
केही महिनासम्म यो क्रम यसरी नै जारी रह्यो। समय मिलाएर भेट्ने, सँगै कतै घुम्न जाने अनि कफी पिउने।
यसैबिच एकदिन उसले एक्कासी कुरा निकाल्यो। हामी यत्तिकै बस्ने हो या सम्बन्ध अघि बढाउने हो? के छ विचार? मलाई तिमी एकदम मनपर्छ सायद तिमीलाई पनि म मनपर्छु जस्तो लाग्छ।
म झस्किँएँ, मैले त यो विषयमा सोचेकी नै रहेनछु। म यत्तिकै रमाइरहेकी थिएँ। के भन्नु भन्नु अलमलमा परेँ र प्रतिउत्तरमा मुस्कान मात्र फर्काएँ।
फेरि सोध्यो उसले- के फिल गर्छौ मेरा लागि?
के फिल गर्छु म आफैलाई थाहा थिएन।
‘सायद राम्रो साथी’ मैले जवाफ फर्काएँ।
मात्र? -फेरि प्रश्न तेर्स्यायो।
सायद- मुस्कुराएँ।
त्यसपछि मौनता छायो। के बोल्ने भन्ने भेउ नै पाउन सकिनँ मैले न त शब्द नै भेटिनँ। उसलाई नि सायद त्यस्तै भैरहेको थियो होला। त्यहाँ बसिरहन नि अप्ठ्यारो लागिरहेको थियो र छुटिने निर्णय गरेँ।
अब जाउँ क्यारे- मैले भनेँ।
ओके भन्दै बिदा भयो ऊ पनि।
रूममा पुगेर मोबाईल हेरेको उसको म्यासेज आईसकेको रहेछ। ‘सायद तिमी मलाई मन पराउदिनौँ क्यारे केहि छैन, म जबरजस्ती गर्न पनि सक्दिनँ, मैले सकेको कोशिस गरेँ तर तिमीलाई म मन नै नपरे के गर्न सक्छु र? यदि कुनै दिन मेरो कमी महशुस भए सम्झिनु मलाई म सधै तिम्रो लागि हाजिर हुनेछु। तर तिम्रो साथी मात्र भएर म बस्न सक्दिनँ।’
मलाई अचम्म लाग्यो तर नि रिप्लाई त दिनैपर्ने थियो।
यदि तिमी मेरो मात्र भएर बस्न सक्छौं भने म पनि सधै तयार छु। तर त्यो भन्दा बढिको आशा चाहिँ नराख्नू। म्यासेज सिन भयो तर रिप्लाई अहिलेसम्म आएको छैन।
जिन्दगीमा केही मान्छेहरु बिना उद्देश्य नै आउने र बिना उद्देश्य नै जाने रहेछन्।
मेरो एउटा कफी भेट या भनुम् कफी डेटको यात्रामा पूर्णविराम लाग्यो तर कफी पिउने बानीले चाहीँ अझैसम्म निरन्तरता पाइराखेको छ। त्यसदिनपछि न उसँग भेट भयो न त कुरा नै भयो। तर पनि जब जब म कफी पिउँछु ,उसलाई सम्झिन्छु र एक्लै मुस्कुराईदिन्छु।