एसईईपछि विद्यार्थी आफ्नो रुचिको भन्दा आमाबाबुको रोजाइ अनुसारको संकायमा पढ्छन्। त्यही कारण कतिपय बीचैमा संकाय फेर्छन् त कतिपय पढाइ नै छाड्छन्।
यसो हुनुमा प्रत्यक्ष र परोक्षरूपमा स्कूले शिक्षामै खोट छ। बाल्यकालदेखि किशोरावस्थासम्मको लामो समय खर्चेका विद्यार्थीलाई वर्तमान शिक्षाले आफ्नो रुचि अनुसारको संकाय छान्न सक्ने विद्यार्थी समेत बनाउन सकेका छैनन्। यसैको परिणामस्वरुप अधिकांश अभिभावकहरू आफ्नै रुचिअनुसार छोराछोरीको रुचि विपरीतको संकाय छान्न कर गर्छन्।
मेरी छोरी यसको अपवाद भइन्। कक्षा–४ पढ्दाताका सुम्निमा बालसमूहमा आबद्ध भएर उसले कक्षा–७ पुगेपछि साथीहरूसँगै बाल भित्तेपत्रिकाको चारदिने तालिम लिइन्। तालिमपछि एक वर्षसम्म समूहले प्रकाशन गरेको हस्तलिखित ‘बालकोसेली’ मासिक भित्तेपत्रिकामा लेख्ने र सम्पादन गर्ने अवसर पाइन्। कक्षा–९ पढ्दाताका विद्यालयका अर्का साथीसँग मिलेर स्थानीय कोशी एफएममा हरेक शनिबार बाल कार्यक्रम सञ्चालन गरिन्।
स्कूलमा भएका अतिरिक्त क्रियाकलापले छोरी र उसको साथीलाई रुचिको संकाय छान्न सहयोग भयो। उनीहरू दुवैले मानविकी संकाय अन्तर्गत पत्रकारिता विषयमा उच्चशिक्षा हासिल गरे। केही समय छोरीले एउटा राष्ट्रिय अंग्रेजी दैनिकमा खोज पत्रकारको रूपमा काम गरिन्। अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा खोजमूलक सामग्री तयार गर्छिन्। उसको साथी एउटा गैरसरकारी संस्थामा कार्यरत छिन्।