कंगना रनोटको अभियानको तारिफ गर्दै उनका पूर्वप्रेमी

बलिउडमा परिवारवादको मुद्धा उठाएर चर्चामा रहेकी कंगना रनोटको बहादुरीको तारिफ उनको पूर्वप्रेमी अध्ययन सुमनले गरेका छन्।

एउटा टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा कंगनाले सुशान्त सिंह राजपूतको आत्महत्याको जिम्मेवार करन जौहर र महेश भट्ट जस्ता नामुद हस्ती भएको आरोप लगाएकी थिइन्। 

उनले सुशान्तको आत्महत्यामा बलिउडका नाम चलेका परिवारले जिम्मेवारी लिनुपर्ने आरोप लगाउँदै आइरहेकी छिन्। उनको यो भनाईप्रति समर्थन गर्दै अध्ययन सुमनले ट्वीटरमा लेखेका छन्, ‘बहादुर। अब नियमलाई परिवर्तन गर्ने बेला आएको छ। मलाई थाहा छ, शेखर जीको प्रयास अब खेर जाने छैन। सत्यको जित हुनेछ।’

यो पहिलो घटना होइन, अध्ययनले कंगनाको तारिफ गरेको। यसअघि पनि उनले थुप्रै पल्ट कंगनाको तारिफ गरेका छन्। उनले बलिउडमा परिवारवादको शिकार कंगना पनि भएको र बलिउडका ठूला कलाकारलाई टक्कर दिँदै आफैले आफ्नो नाम स्थापित गरेको बताएका छन्। 

अध्ययनले सुशान्तको निधनको अनुसन्धान सीबीआईले गर्नुपर्ने माग पनि राखेका छन्। अध्ययनका बुवा शेखर सुमनले पनि सुशान्तको निधनको सीबीआई अनुसन्धान हुनुपर्ने माग राखेका थिए।

शेखर सुमन पनि बलिउडमा चलिरहेको नातावाद र परिवारवादको विरूद्ध अभियान चलाइरहेका छन्।
 

प्रकाशित मिति: : 2020-07-20 12:27:01

प्रतिकृया दिनुहोस्