‘प्यार तुने क्या किया’ र ‘रोड’ जस्ता फिल्ममा निर्देशन गरिसकेका रजत मुखर्जीको आइतबार निधन भएको छ। केही वर्षदेखि स्वास्थ्य समस्याबाट जुधिरहेका मुखर्जीको जयपुरमा निधनभएको हो।
बलिउड कलाकार मनोज बाजपेयीले मुखर्जीको निधनमा दुःख व्यक्त गरे। उनी ‘रोड’ मा मुख्य भूमिकामा थिए। मनोजले ट्वीटमा लेखेका छन्, ‘लामो समयदेखि अस्वस्थ्य मेरो साथी तथा निर्देशक रजत मुखर्जीको जयपुरमा निधन भएको छ। उनको आत्मलाई शान्ति मिलोस्।’
फिल्म निर्माता हंसल मेहताले पनि मुखर्जीको निधनमा दुःख व्यक्त गरे। अर्का फिल्म निर्देशक अनुभव सिन्हाले पनि उनको निधनमा संवेदना प्रकट गरेका छन्।
बलिउडले ७ महिनाको अवधिमा थुप्रै कलाकारलाई गुमाएको छ। २५ मार्चमा चर्चित अभिनेत्री निम्मीको निधन भएको थियो। यसपछि २९ अप्रिलमा इरफान खान र ३० अप्रिलमा ऋषि कपुरले ज्यान गुमाए।
यसपछि १ जुनमा साजिद–वाजिदको चर्चित संगीतकार वाजिद खान र ४ जुनमा चर्चित फिल्म निर्देशक बासु चटर्जीको निधन भयो। १४ जुनमा सुशान्त सिंह राजपूत आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेको अवस्थामा फेला परे। ३ जुलाईमा कोरियोग्राफर सरोज खान र ८ जुलाईमा अभिनेता जगदीपको निधन भएको थियो।