राजधानीमा गुड्न थाल्यो साझा

शनि शाक्य

काठमाडौं

साझा यातायातले बिहीबारदेखि बस सञ्चालन गरेको छ। करीब साढे तीन महिनादेखि थन्किएका सार्वजनिक यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएसँगै बिहीबारदेखि साझाले सबै स्वास्थ्य उपाय अपनाएर काठमाडौंमा बस चलाएको हो।

‘आज पहिलो दिन भएकाले परीक्षणका लागि पनि बस सन्चालन गरेका हौं’, साझा यातायातका प्रमुख कार्यकारी अधिकृत(सिइओ) भुषण तुलाधरले भने, ‘यात्रुको चाप कम भएकाले सबै गाडी चलाउनुपर्ने अवस्था छैन, आज १६ वटा बस सञ्चालन गरेका छौं।’

सञ्चालन गरिएका बसमा स्यानिटाइजर, मास्कको व्यवस्था गरिएको छ।

स्टेशनमा पुगेपछि बस डिसइन्फेक्सन समेत भइरहेको तुलाधरले जानकारी दिए।

 ‘यात्रु तथा चालक सहचालकलाई सुरक्षित राख्नका लागि सुरक्षा सामग्री प्रयोग गरिएको छ, यात्रुको चाप बढेमा सबै बस सञ्चालनमा ल्याउछौं’ सिइओ तुलाधरले भने।

पहिला गाडी चलाउन पाउनुपर्ने माग गरिरहेका यातायात व्यवसायीले भने सरकारको अनुमतिपछि गाडी चलाएनन्। यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा त्यसमा आवद्ध व्यवसायीले बस नचलाए पनि अन्य प्रालिले भने चलाइरहेका छन्।

प्रकाशित मिति: : 2020-07-16 13:45:39

प्रतिकृया दिनुहोस्