दक्षिण एसियनहरु भावुक हुन्छन्। भावनाले उनीहरुलाई छिटो बगाउँछ। भावनाले राजनीति र सिद्धान्तमा नराम्रो असर गरे पनि मानवीय संकटमा राम्रै गर्छ। विश्व कोरोना महामारीसँग जुधिरहेको बेला संसारभर तहल्का पिटिरहेको राजनीतिक व्यवस्था भएको देशले समेत काम गरेको छैन। सेनामा प्रसस्त खर्च गर्ने अमेरिका जस्तो शक्ति राष्ट्रले कोरोना महामारीमा खर्च गर्न सकेन।
प्रधानमन्त्री ओली दैनिक जीवनमा आइपर्ने समस्या, महामारी, भोकमरी, रोजगारीलाई ध्यान नदिएर अयोध्या भारतको नभइ नेपालको भन्ने बहस गराइरहेका छन्। विवाद र बहसको खोक्रो विषय सतहमा ल्याएर धर्मभिरु/भावुक जनताको भावनामा खेल्दै राष्ट्रियताको लेपन लगाइरहेका छन्। यसले अप्ठ्यारोमा परेका आम जनतालाई राहत होइन आहत पुगाइरहेको छ।
देशको राजनीतिले जनताको मानसिकतामा परेठ खेलिरहेको बेला जुम्लाको पातरासी गाउँपालिका –६ उर्थु चौताराका अमर विष्ट भावनामा बगेका छन्। काठमाडौंमा बस्ने उनी संकटमा परेका जनतालाई मरिमेटी सहयोग गरिरहेका छन्। सरकार कोरोना भाइरस देखि डराएर विना तयारी लकडाउनको अस्त्र प्रयोग गरिरहेको बेला उनले विभिन्न संचार माध्यमबाट समस्यामा परेका मान्छेहरुका पीडा देखे। अरुका पीडा आफ्नै मानेका उनी दुःखमा परेकालाई सहयोग गर्न तम्सिए।
उनले सुरुमै सुनेको समाचार थियो, तातोपानी गाउँपालिका –७ का एक दृष्टविहीन दम्पत्ति भोकै बसिरहेका छन् भन्ने। त्यस लगत्तै उनले ती दम्पत्ति सहित २५ दलित घरपरिवारलाई ३४ हजारको खाद्यान्न सहयोग गरे। रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेका गरिब गुरुवाहरुकोे खोजी त्यसै दिनबाट सुरु भएको उनी बताउँछन्।
त्यसबेला छाक कटाउनलाई सहयोग पाउनेहरुको आवाज आयो, ‘सरकारले वास्ता गरेन। हामी भोका हुँदा गाँस बनेर आउने यी मान्ठकन मरिगया बिर्सन्यानाई। भगवान भुन्याका मान्ठ रयाछुन भुन्या कुडो यस्तै बेला थाहा हुन्या रहेछ। हाम्मो अवस्था देखि कसैको मन दुुखेपछि यो देशमा गरिबहरुका लागि कोही त छ जसो मान्यौं।’
त्यसपछि उनको भावुक दिलमा समस्यामा परेकाहरु बास गर्न थाले। ‘जहाँ राम त्यहीँ अयोध्या’ भनेझैं लकडाउनले जहाँ गरिबहरुको गास खोसिएको छ त्यहीँ पुगे।
उनका आँखा दैनिक रुपमा आइरहने समाचारतिर तानिन थाले। त्यसैबीच देखिए जुम्लाकै अरु दुई जना अपांगता भएका मान्छे। तातोपानी –७ नरेन्द्र रावत र पातारासी –४ तिर्खुका चन्द्र बोहोराको भोकमा भोजन बनेर उनको सहयोग पुग्यो। संकटको बेला एक दुई जनामात्र होइन सयौंका लागि सहयोग जुटाउन लागे। लकडाउनको तीन सातामा उनको सहयोग सबैतिर पुग्यो। समुदायका साझा घाउहरुमा मलमपट्टी बनेर पुगे।
काठमाडौंमा रहँदा उनी विभिन्न सामाजिक संस्थामा आबद्ध थिए। समाजमा काम गर्दै जाँदा उनले समाजको सेल्फी लिइसकेका थिए। उक्त सेल्फीमा विभिन्न रंग र अवस्थाका मान्छेहरुको फोटो आएको थियो। बेला बेला याद दिलाइरहने ती सेल्फी तस्बिरहरुले नै उनको दिल भावुक बनाइदिएको हो। समग्र दक्षिण एशियनहरु जस्तै उनी पनि भावुक बने। ‘जस्तो नेपालको भौगोलिक विविधता छ, उस्तै हाम्रो समाज छ,’ उनले भने, ‘यस्तो समाजले संकटमा कष्ट व्यहोरिरहेको हुने रहेछ। विभिन्न ठाउँबाट उनीहरु समस्यामा परेको सुन्दा आफ्नो गास काट्न मन लाग्यो।’
समाज पछि जोखिममा परेका स्वास्थ्यकर्मीहरुको स्थितिमा उनको ध्यान गयो। ‘विश्व समुदायले कोरोना माहामारीलाई एक खतरनाक युद्धको रुपमा चित्रण गरिरहँदा फिल्डमा खटिने स्वास्थ्यकर्मीहरु बिना हतियार युद्धको लागि मैदानमा उत्रिएका सिपाही जस्ता देखिए,’ उनले भने, ‘जसको परिणाम युद्ध हार्नु नै हुन्थ्यो। सिपाहीले युद्ध हार्दा जनताको भावना त्यसै गल्छ भन्ने चिन्ता भयो।’
उनी स्वास्थ्यकर्मीका लागि हात हातियार जुटाउन तम्सिए। सुर्खेतका विभिन्न स्वास्थ्य चौकीहरुलाई ठूलो परिणाममा पिपिई उपलब्ध गराउनमा उनले ठूलै भूमिका खेले। प्रदेशको राजधानी भइकन पनि दुर्गम क्षेत्रका रुपमा चिनिएका स्वास्थ्य संस्थाका लागि सुरक्षा सामग्रीको जोहो गरे। त्यस कार्यका लागि उनले सहकार्य गरेका थिए कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट र विन ग्लोबलसँग। सहयोगको परिमाण थियो, १ सय थान पिपिई, ५ सय बोतल सेनिटाइजर र ६ हजार थान मास्क।
यी सबै सामग्रीमा गुर्भाकोट नगरपालिकाको मेहलकुना अस्पताललाई ५० थान पिपिई, २ सय बोतल सेनिटाइजर र २ हजार थान मास्क, गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखाललाई २० थान पिपिई, १ सय बोतल सेनिटाइजर र १ हजार थान मास्क, सिम्ता गाउँपालिकाको स्वास्थ्य शाखाललाई २० थान पिपिई, १०० बोतल सेनिटाइजर र १ हजार थान मास्क तथा स्थानीय सरकारलाई १० थान पिपिई, २ हजार मास्क र १ सय थान सेनिटाइजर उपलब्ध गराइएको थियो। जतिबेला स्थानीय सरकार कपडाका माक्स सिलाएर ५० रुपैयाँको बिल बनाइरहेका थिए। व्यापारीहरु अकुत नाफा कमाउने म्याराथुन दौडमा थिए भने उनमा निरन्तर सेवा भावनाको बीउ हुर्किरहेको थियो।
उनको नौनी जस्तो मन पगाल्ने त समस्यामा परेका मान्छेहरु थिए। उनीहरुको भोक थियो। त्यसैले उनी आफूले सुनेसम्म र सूचना पाउन्जेलसम्म सहयोगका लागि मरिमेटे। त्यसबेला बाँके जिल्लाको कोहलपुर नगरपालिकामा बसोबास गर्दै आएका भूमिहीन, सुकुम्बासी गन्धर्व तथा बादी समुदायले संकट व्यहोरिरहेको थाहा पाए।
कोहलपुरको वडा नम्बर ११ मा बसोबास गर्दै आएका ५५ जना गन्धर्व समुदाय, वडा नम्बर दुईमा बसोबास गर्दै आएका ३० जना बादी तथा गन्धर्व समुदाय तथा वडा नम्बर १२ मा बसोबास गर्दै आएका २० जना दलित, बादी तथा गन्धर्व समुदायका अति विपन्न नागरिकको लागि सहयोग जुटाए भने दमले थलिएका रोगी वीर बहादुर गन्धर्वलाई ५ हजार रुपैयाँ औषधि खर्च स्वरुप अतिरिक्त रकम सहयोग गरे। स्थानीय सरकार भन्दा अगाडि अमरको सहयोग भोकले छटपटिएकाहरुको दैलोमा पुग्यो।
सुदूरपश्चिमको कञ्चनपुर जिल्लाका पुर्नवास नगरपालिकामा बसोबास गर्ने अति विपन्न सुकुम्बासी समुदायका २८ जनाको घर परिवारसम्म उनको सहयोग पुग्यो। उनले, को को समस्यामा परेका छन् भनी खोज्ने क्रममा भेटाए, लकडाउनका कारण कोहलपुरमा तीन साता देखि अलपत्र परेका ७ परिवारका २५ भारतीय नागरिक। उनीहरुको गासको प्रबन्ध मिलाए।
२५ दिन देखि कोहलपुरमा त्रिपालमा बसेर कोहलपुरको चर्को गर्मीले तातो चुलोमो परेका भारतीय नागरिक अब्दुल रहमानले सहयोग पाउँदा भने, ‘मुसिबतमा फसेर जलिरहेको बेला अमर बाबुले मन सितल बनाइदिनु भयो।’
यो अवधिमा अमरले ज्यानको प्रवाह गरेनन्। घरघर गएर काम खोसिएर खाली भएकालाई थोरै भएपनि मुखमा चार औंला पसाउने काम गरे। उनले उपलब्ध गराउने सहयोगमा सामग्रीमा २०–२५ किलो चामल, नुन र तेल हुन्थ्यो।
यति ठूलो सहयोगबाट प्रभावित भएपछि सम्बन्धित क्षेत्रका जिम्मेवार व्यक्तिहरु उनको स्वयंसेवालाई तारिफ नगरी बस्न सक्दैनन्।
कोहलपुर नगर कार्यपालिका सदस्य नारायणी वली भन्छिन्, ‘विपत्को बेला खान लाउन धौधौ भएका नागरिकलाई सहयोग गर्ने अमर प्रति सिंगो नगरपालिका आभार प्रकट गर्दछ। आगामी दिनमा पनि सहकार्य र समन्वय हुने विश्वास छ।’
‘दैनिक मजदुरी गरेर छोराछोरी पाल्छु। लकडाउनका कारण निकै समस्यामा थिए। अमर बाबुले हाम्रो दुखेको घाउमा मलमपट्टी लाउनुभयो। संकटमा पर्दा भगवान आउँदैनन्, तर उहाँ आउनुभयो।’ गन्धर्व टोलकी चम्पा गन्धर्वले आँखा रसिला बनाउँदै भनेकी थिइन् ‘अब हामी एक महिनासम्म भोकसँग लड्ने भयौं। ढुक्क छौं। उहाँको जय होस्।’
अमर आफ्नो सहयोग पाउनेमा वास्तविक रुपमा समस्यामा परेकाहरु भएकाले खुसी छन्। सन्तोषको सास फेरिरहेका छन्। कतिपय ठाउँमा वडाको सहयोगमा विपन्नहरुको छनोट गरिएको थियो भने कति समाचारमा आएकाहरु नै परेका थिए।
‘जब हाम्रो सहयोग पाउँदा दुःखमा परेका नागरिकको मुहार उज्यालो देखिन्छ, तब मन चंगा जस्तै हल्का हुन्छ,’ उनले भने, ‘अनि उहाँहरुको सहयोगको लागि ज्यानको कुनै प्रवाह हुँदैन। आर्थिक अवस्था नाजुक भएकालाई सहयोग गर्नु मानवीय धर्म हो। हामीले त्यही गर्यौं।’
उनले गरेको सहयोगले समस्याको अस्थायी समाधान मात्र गर्छ। यसका लागि उनले आफूले कमाएर बचत गरेको केही रकम सहयोगमा लगाए। उनले व्यक्तिगत रुपमा मात्रै झण्डै १४ लाख रुपियाँ बराबरको सहयोग गरे। तथापि उनले गरेको सहयोगको मात्रा कम होइन। कुनै वडाले राहतमा गरको खर्च भन्दा बढी उनी एक्लैले सहयोग गरेका छन्। ‘विपत्को बेला थोरै भएपनि सहयोग गर्दा काम गरेर खाने मारमा परेका मान्छेलाई राहत हुन्छ,’ उनले भने।
तर समस्याको स्थायी समाधान सरकारले गर्ने हो। विडम्बना सरका नियतबस जनताको भोकलाई बेवास्था गरेर राष्ट्रियताको नाममा गरिब मार्ने दाउमा छ। यस्तो बेला नेपाली युवाहरुलाई राहत स्वरुप रोजगारी दिने उपाय सोच्नुपर्ने उनको तर्क छ।