कोरोनाका कारण सिंगापुरको आर्थिक वृद्धि ४१.२ प्रतिशतले खुम्चियो

कोरोना भाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ ।

प्रारम्भिक विवरण अनुसार व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्र छोटो अवधिमा यतिठूलो परिमाणमा खुम्चिएको सम्भवतः यो पहिलो पटक हो । सिंगापुरमा कोरोना भाइरससँग जुध्न सरकारले लक डाउन लगायतका अन्य कडा कदम चालेका कारण अर्थतन्त्रमा व्यापक असर परेको हो । लक डाउनका कारण आर्थिक गतिविधि सुस्त बनेका छन् । 

एक दशकपछि सिंगापुरको अर्थतन्त्र फेरि मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो चौमासिक अवधिमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यति ठूलो गिरावट आउनुको मुख्य कारण गत अप्रिल ७ देखि जुन १ सम्म कोरोना भाइरसको प्रसार रोक्न चालिएका कडा कदमहरु रहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै आर्थिक गतिविधि स्थगित गरिएका थिए ।

विश्वका सबैजसो मुलुकको आर्थिक स्थिति कमजोर भएकाले पनि बाह्य बजारको मागमा पनि व्यापक गिरावट आएको मन्त्रालयको भनाइ छ । विश्व अर्थतन्त्र मापनको सुइरोको रुपमा रहेको सिंगापुरको पछिल्लो आर्थिक परिदृश्यले समग्र विश्व अर्थतन्त्रमै निकै ठूलो असर परेको अनुमान गर्न सकिने विज्ञहरुको भनाइ छ ।                                          -रासस/एएफपी

 

प्रकाशित मिति: : 2020-07-15 09:20:25

प्रतिकृया दिनुहोस्