चीन र भारतबीचको सीमा विवादको समयमा अमेरिका र रुस भने भारतलाई हतियार बिक्री गर्ने होडमा लागि परेका छन्। गत साता भारत सरकारले २.४ अर्ब डलरमा ३३ नयाँ रुसी युद्धक विमानको खरिदको प्रस्ताव पारित गरेको थियो। यो सम्झौता ५.४३ अर्ब डलरको पहिलेको एस–४०० हवाई रक्षा मिसाईल प्रणालीका अतिरिक्त हो।
यद्यपि भारतमा केहीले चीनसँग रुसको नजिकको सम्बन्ध रहेकाले मस्कोको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। यसैबीच अमेरिकाले पनि इन्डो–प्रशान्त रणनीतिका आधारमा नयाँ दिल्लीलाई हतियार बिक्री गर्ने प्रयास गरिरहेको छ।
“भारतमा धेरैले एउटैसँग हतियार किन्न नहुने सुझाव दिँदै आएका छन्। उनीहरुले अमेरिका र रुस दुवैसँग हतियार किन्ने विषयमा जोड दिँदै आएका छन्,” नयाँ दिल्लीमा रहेको अब्जर्भर रिसर्च फाउन्डेशनमा न्यूक्लियर एन्ड स्पेस पोलिसी इनिसियटिभकी सुविख्यात फेलो राजेश्वरी पिलाई राजागोपालानले बताईन्।
अन्तर्राष्ट्रिय हतियार बजारमा भारत सबैभन्दा ठूलो हतियार खरिदकर्ता मुलुक हो। यो देशले प्रत्येक वर्ष अर्बौ डलरको हतियार खरिद गर्दै आएको छ। विगत १० वर्षको अवधिमा विश्वका अन्य कुनै पनि मुलुकको तुलनामा हतियार खरिदमा सर्वाधिक रकम खर्च गरेको सिप्रीले जनाएको छ।
सोभियत युगदेखि रुस भारतको सर्वाधिक ठूलो हतियार आपूर्तिकर्ता रहदै आएको थियो। २००० देखि मात्रै यसले भारतमा ३५ अर्ब डलरको हतियार बिक्री गरिसकेको छ। यो भारतको खरिदको लगभग २ तिहाई हो। यो अवधिमा भारतले ५१ अर्ब डलरको हतियार खरिद गरेको थियो।
भारतका सर्वाधिक रणनीतिक हतियारहरु विमान वाहव (एयरक्राफ्ट क्यारियर) आइएनएस बिक्रमादित्यदेखि सिप बोर्न मिग–२९ र का–३१ विमान, सेवामा रहेको परमाणु आक्रमण गर्ने सबमरिन ‘चक्र’, टी–९०, टी–७२ प्रमुख लडाकु ट्यांक सबै रुसका हुन्।
यसको तुलनामा विगत २० वर्षको अवधिमा अमेरिकासँग भारतले कुल ३.९ अर्ब डलरको हतियार सम्झौता गरेको छ। २०१० देखि भने अमेरिकाले भारतमा हतियार बिक्रीलाई बढाउदै आएको छ।
भारतले आपूmलाई बोइङ सी–१७ र सी–१३० जे एयरलिफ्टरबााट सु–सज्जित गरेको छ। यो वर्षको सुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३ अर्ब डलरको अमेरिकी उपकरण खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।