हाम्रा विभूति भानु

सन्दर्भः २०७औँ आदिकवि भानुभक्ताचार्य जयन्ती

टेकनारायण रिमाल ‘कौशिक’

याङ्गौँ म्यान्मा(बर्मा)
विधा-कविता
छन्द- शार्दूलविक्रीडित
शीर्षक- हाम्रा विभूति भानु
रचना- टेकनारायण रिमाल “कौशिक” याङ्गौँ म्यान्मा(बर्मा)
वाचन- श्री डी.पी दाहाल, भक्तपुर नेपाल
विशेष- २०७औँ आदिकवि भानुभक्ताचार्य जयन्ती

श्रीरामायणबाट अमृत झिकी सारा छरे भानुले

माया तर्न उपाय दीकन कि ता गल्ती गरे भानुले?

सानो क्वै पनि छैन आज दुनियाँ बन्दै गए मालिक

हेला भानु भएर हेर यिनका छन् तोडिँदै सालिक।।१।।

 

लेख्थे लेख्न त पद्यमा कविहरू पैले ठूला शब्दले

मीठा सुन्दर शब्द रत्न बटुली लेख्दा बडो स्पष्टले

छोयो पाठकका पसी हृदयमा पढ्दा खुशी भैकन

जोडे आदि अगाडि भानु कविमा साहित्य-आभूषण।।२।।

 

जे जे छन् अनुवाद, मौलिक सबै हुन् दिव्य-आकर्षण

बाँध्ने प्रेमिल सूत्रमा जन जन श्री भानुरामायण

भाषा मार्ग प्रशस्त गर्न कविले पैलो कुदालो खने

जानी श्रेष्ठ सुयोग्य आदिकविमा श्रीभानुलाई गने।।३।।

 

पूर्वेली जन-जातिले पनि पढे साह्रै रमाईकन

पढ्थे पश्चिममा सहर्ष जनले भाका मिलाईकन

यै रामायणले खिँचेर जनता झन् एकतामा कस्यो

नेपाली मुटुभित्र धड्कन बनी ज्यूँदो भएरै बस्यो।।४।।

 

भाषाको पहिलो किताब रसिलो पूर्खाहरूले अघि

ल्याएथे सँगमा प्रफुल्ल मनले सद्भावनामा बगी

तस्मात् भाषिक ज्ञान हेर यसरी ज्यूँदो छ मुग्लानमा

मौका पाउनु हुन्न मर्न यसले राखौँ यति ध्यानमा।।५।।

 

भिडियोमा हेर्नुहोस् रचना

प्रकाशित मिति: : 2020-07-13 17:37:46

प्रतिकृया दिनुहोस्