मणिसिंह गुरूङको दुई वटा पत्र, जुन पत्रले कलकत्ता विश्वविद्यालयद्वारा नेपाली भाषालाई माइनर र मेजर भाषाको रूपमा स्वीकृति होस् भन्नेमाथि संकेत गर्छ।
(१) मणिसिंह गुरूङले पारसमणि प्रधानलाई सन् १९१७ नोभेम्बर ५ मा पठाएको पत्र। यो पत्रको अन्तिमका दुई लहर यस प्रकार छ, ‘तपाईले मिस्टर सूर्य बिक्रम ज्ञवालीलाई पठाउनु भएको पत्र एय बखत मेरो पासमा छ, मैले त्यस कुरामा विचार गरि रिसोलुसनहरूका एक कपी ड्राफ्ट गरि पठाएको छु।’
पारसमणि प्रधानले सूर्य विक्रम ज्ञवालीलाई पठाएका पत्र ज्ञवालीले मणिसिंह गुरूङलाई ड्राफ्ट बनाउनका लागि पठाएका रहेछन् भन्ने कुरा यहाँबाट स्पष्ट हुन्छ।
मणिसिंह गुरूङ अंग्रेजीमा पोख्त भएकाले सूर्य विक्रम ज्ञवालीले आफूबाट ड्राफ्ट तयार पार्न नसकेर मणिसिंह गुरूङलाई पठाएको स्पष्ट हुन्छ। ड्राफ्ट बनाउने कुराले कलकत्ता विश्वविद्यालयबाट नेपाली भाषाले स्वीकृति पाओस् भन्नेतिर संकेत गरेको छ।
मणिसिंह गुरूङले ड्राप्ट तयार पारेर पारसमणि प्रधान, सूर्य विक्रम ज्ञवाली वा कलकत्ता विश्वविद्यालय, कसलाई पठाए त्यो अझै रहस्यमय छ। भेद खोलिएको छैन। पारसमणि प्रधान सूर्यविक्रम ज्ञवालीले पनि यस विषयमा कहिल्यै केही बोलेनन्।
मणिसिंह गुरूङको यो पत्रको नक्कल पारसमणि प्रधानसँग भएकै कारण शिव प्रधानद्वारा सम्पादित ‘अभिनन्दन ग्रन्थ-पारसमणि प्रधान परिष्टिांक’ मा देख्न सकिन्छ।
सन् १९१७ देखि नेपाली भाषाले कलकत्ता विश्वविद्यालयबाट मान्यता पाओस् भनेर दार्जीलिङका नेपाली भाषाप्रेमी र लेखकले अभियानै चलाइरहेका थिए।
स्वयम् पारसमणि प्रधानले लिखित रूपमा यो कुरा स्वीकारेकाले ड्राफ्टको प्रसंगमा अग्रणी भूमिका मणिसिंह गुरूङले खेलेको कुरा नकार्न सकिन्न। ‘कलकत्ता विश्वविद्यालय तथा असम प्रान्तमा नेपाली भाषा स्वीकृत गराउने काममा मणिसिंह गुरूङले अथक परिश्रम गर्नुभयो,’ गुरूङले लेखेका छन्।
सन् १९१८ मा नेपाली भाषालाई कलकत्ता विश्वविद्यालयले म्याट्रिक (माइनर ल्याङ्वेज) तहसम्म पढाउने मान्यता दियो। अनि सन् १९२० देखि दार्जीलिङमा म्याट्रिक तहसम्म पढाउने पण्डित धरणीधर शर्मा र कालिम्पोङमा पढाउने पारसमणि प्रधान नियुक्त भए।
(२) फेरि दार्जीलिङले बीए तहसम्म (मेजर ल्याङ्वेज) पढाइ हुन कलकत्ता विश्वविद्यालयबाट मान्यता पाओस् भनेर पाइला चाल्यो। जहाँसम्म मलाई लाग्छ सन् १९३१/३२ मा यसबारे ‘नेपाली साहित्य सम्मेलन’, दार्जीलिङमा सभा बसेको थियो। यसबारे मैले पढेको पनि हुँ।
यसमा पनि मणिसिंह गुरूङले ड्राफ्ट तयार पारेका पत्रको जिरक्स कपी यसैगरी मेरो हातमा परेको छ। जुन पत्र १९३२ मा तयार पारिएको थियो। यसको मूलप्रति मितिसहित ‘नेपाली साहित्य सम्मेलन’ मा त्यतिबेला पुग्यो होला। तर त्यो पत्र पनि रहस्यमयी भयो।
यसैले त्यस पत्रको चर्चा भारतेली नेपाली साहित्यले कहिल्यै गरेन। या गर्न चाहेन।