जुम्लाका आयोजनामा गुणस्तरहीन काम तमाम (भिडियो)

जुम्लामा सञ्चालित आयोजनामा गुणस्तरहीन काम भइरहेको छ। विशेषतः कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबाट सञ्चालन गरिएका सबैजसो आयोजना तोकिएको मापदण्ड विपरीत निर्माण भइरहेका छन्।

सामाजिक विकास मन्त्रालयले जुम्लामा स्कुलका भवन बनाउने क्रममा अधिकांश ठेकेदार र उपभोक्ता समितिले बदमासी गरेको अनुगमनको क्रममा भेटिएको छ। 

पाण्डवगुफा मा.वि कोटघरमा भर्खर बन्न लागेको भवनको फाउन्डेसन मापदण्ड विपरीतको छ। गिट्टी, बालुवा, सिमेन्ट, रिङ सबै राख्दा नै बेइमानी भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका ईन्जिनियर महेन्द्र उपाध्यायले बताए।

'पाण्डवगुफा मा.विमा निर्माण हुन लागेको भवनको फाउन्डेसन नै गलत छ। सामान्यतया बिम र पिलरमा ३५ एमएमको भन्दा ठूलो गिट्टी हाल्न मिल्दैन भने रिङ पाँच इन्चभन्दा टाढा राख्न मिल्दैन,’ उनले भने, 'बिम र पिलरमा ठूल्ठूला ढुंगा हालिएको छ भने रिङ १० इज्च देखि एक फिटको फरकमा राखिएको छ।'

फाउन्डेसन नै कमजोर हुँदा कुनै पनि भवनको आयु कम हुने उनको तर्क छ। उनका अनुसार जिल्लाका अरू ठाउँमा निर्माण गरिएका आयोजनाहरु पनि इन्जिनियरिङ मापदण्ड अनुसारका छैनन्।

'चन्दननाथ नगरपालिकाको कर्णाली नमुना मा.वि अनामनगरमा निर्माण गरिएको भवनको छतमा रिङ देखिन्छन् भने पिलर बांगो छ,' उनले थपे, 'समग्रमा हामीले अनुगमन गरेका आयोजनाहरुमा एक दुइटा बाहेक अरु सबै मापदण्ड विपरीतका छन्।'

प्रदेशले जिल्लाका विभिन्न कार्यालय मार्फत बनाउन लागेका हेलिप्याड, तटबन्ध, स्कुलका भवन, कुखुरा फर्म, हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरलगायतका आयोजनाहरुको गुणस्तरहीन छन्।

यी सबै आयोजनाहरु गुणस्तरहीन भएपछि जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीलाई प्रदेशका कार्यालयहरु छाडा तवरबाट अगाडि बढिरहेको लाग्छ। उनी भन्छन्, 'आज कुनै वडा अध्यक्षबाट अनुमति लिएर सञ्चालन गरिएका आयोजनाहरु भोलि भुक्तानी दिने बेला कसैलाई थाहा हुँदैन।'

प्रदेशस्तरीय आयोजनाहरु व्यक्ति केन्द्रित भएको र साना साना ठाउँमा लगानी गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी बताउँछन्। 'एक डेड लाखका योजनाहरुमा पनि लगानी गरिएको छ,' उनले भने, 'पालिका र प्रदेश बीचमा कुनै पनि खालको समन्वय हुन सकिरहेको छैन।'

हरेक मान्छेले आश गर्नु र कमाउन खोज्नु नै समस्या भएको प्रतिनिधि सभा सदस्य गजेन्द्र महत बताउँछन्।

'हरेकलाई योजना चाहिएको छ। उपभोक्ता समितिको अध्यक्ष हुनुपरेको छ। कार्यकर्ताहरु पेशेवर बन्न खोजिरहेका छन्। उनीहरु हामीले काम पाएनौं भनेर गुनासो गर्छन्,' उनले भने, 'हिजो माथिबाट बिग्रेको थियो। आज तलबाट बिग्रिरहेको छ।'

जहाँ उपाभोक्ताले रिसारिस गरे त्यो काम उभो लागेको छैन भने आयोजनाको निकासा चाँडो नहुनु अर्को समस्या रहेको उनले थपे।

प्रकाशित मिति: : 2020-07-12 17:29:56

प्रतिकृया दिनुहोस्