मुना कुँवर/प्रकाश धौलाकोटी
सानैमा बुबा बितेर आमाले पनि छाडेकी भक्तपुरकी २२ वर्षीया अभिस्ना ठकुरी (नाम परिवर्तन) ले किशोरी हुँदै गएपछि विदेश गएर आफ्ना रहर पूरा गर्ने सपना देख्न थालिन् । विदेश गएर काम गर्ने सपना एक म्यानपावर कम्पनीले पूरा पनि गरिदियो । जब उनी दुबई पुगिन्, उनको सपना भताभुंग भयो । उनले काम गर्ने भनेको कुनै ठूलो कम्पनीमा नभएर व्यक्तिगत घरमा थियो । त्यो पनि दिनको १६ घन्टासम्म ।
अभिस्ना राजधानीको म्यानपावर कम्पनी गल्फ इनोभेसन म्यानपावरमार्फत दुबई पुगेकी थिइन् । म्यानपावरले दुबईस्थित सिटिमेड क्लिनिङ कम्पनीमा सरसफाइको काम ८ घन्टा गर्नुपर्ने बताएको थियो । त्यसका लागि अभिस्नाले म्यानपावर कम्पनीलाई एक लाख २० हजार रुपैयाँ बुझाएकी थिइन् । तर, सम्झौताअनुसारको काम, पारिश्रमिक र सुविधा नपाएपछि उनले नेपाल नै फर्कने सोच बनाइन् । नेपाल फर्कन म्यानपावरलाई सम्पर्क गरिन् । तर, म्यानपावरले उनको पीडा सुनेन ।
संखुवासभाकी २३ वर्षीया सनम कार्की (नाम परिवर्तन) को कथा पनि अभिस्नाको भन्दा फरक छैन । १६ वर्षको उमेरमै मागी विवाह भए पनि छोरो जन्मिएपछि सम्बन्धविच्छेद हुन पुगेकी सनमको विकल्प विदेश गएर पैसा कमाउने थियो । अन्त्यमा इनोभेसन म्यानपावरमा ठोक्किन पुगिन् । तर, जब दुबई पुगिन्, उनी झाँगाबाट खसेजस्तै भइन् । उनले कम्पनीसँग जुन सम्झौता गरेकी थिइन्, सोबमोजिमको काम थिएन । दैनिक २–३ वटा घरमा पुगेर काम गर्नुपथ्र्यो ।