दशकअघि पूर्वी पहाडी क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत थियो अलैँची। कम लागतमा भिरालो बारीमा नै फल्ने भएपछि किसानले अलैँचीकै आम्दानीले घर खर्च चलाउनदेखि जग्गा–जमिन हत्याउनसम्म मद्दत गर्यो अलैँचीले। तर एकाएक अलैँचीमा रोग देखापरेपछि धेरै किसानको रोजीरोटी गुम्यो भने धेरैको आम्दानीको बाटो बन्द भयो। अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर मन (४० किलो) कै लाखसम्म पनि पुग्यो।
तालिम र विज्ञको सल्लाहबाट किसानले अलैँचीलाई सुधारेर पुरानै अवस्थामा पुर्याएका छन्। खेतीमा आधुनिकता घुसाएसँगै अलैँचीमा सुधार गरेर किसानले आम्दानी लिन थालेका छन्। अलैँची मासिएर निरास भएका समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको इलाम माइजोगमाई गाउँपालिकास्थित नयाँ बजारका किसान धर्म भट्टराई बताउँछन्।
अलैँची रोप्ने र गोडमेल गर्ने तरिका जानेपछि त्यहीअनुसार खेती गर्दा अलैँचीबाट सफलता हात पर्न थालेको भट्टराई सुनाउँछन्। “पाखामा गाडेपछि एक चोटी फाँड्न र एक चोटी गोड्दा मात्र हुन्छ भन्ने लाग्थ्यो, तर स्याहार गर्न र मलसमेत लगाउन थालेपछि अलैँची सप्रिन थालेको छ”, भट्टराई भन्छन्, “हामीले रोप्ने र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीबाट फाइदा लिन सफल भइयो।”
दशकअघि अलैँचीबाट उल्लेखीय आम्दानी लिइरहेका भट्टराईले बगानै सखाप भएपछि अलैँचीको विकल्प खोजेका पनि हुन्। तर विज्ञ र प्राविधिकले अलैँची लगाउँदा फाइदा लिन सकिन्छ भनेपछि उनले फेरि अलैँची रोप्न थाले। “अहिले प्रत्येक एकरएक र दुईरदुई महिनामा अलैँची गोड्ने काम गर्छु, यसो गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको छ।” भट्टराईका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सप्रिएको हो। त्यसो त प्रायः किसानले अलैँची परम्परागत प्रविधिबाट गरेकाले पनि अलैँची मासिएको हो। अलैँचीमा मात्रा मिलाएर मलजल र गोडमेल नभएकाले पनि फल दिन सकेको थिएन।
रोपिएको बिरुवा पनि केही वर्ष टिक्ने अनि आफैँ मासिएर जाने, गानो कुहिने समस्या आएपछि अलैँचीबाट लामो समय आम्दानी लिन नसकिएको हो। तर पछिल्लो समय भने किसानले अलैँचीका लागि सङ्घसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हटेको हो। रोप्ने र गोडमेल गर्न नै नजानेका कारण अलैँची मासिन पुगेको बेला आफूले पछि जानेको इलाम सन्दकपुर गाउँपालिकास्थित सुलुबुङकी किसान गीतादेवी समाल (लुङ्गेली) बताउँछिन्।
“घरेलु औषधि पनि प्रयोग थालेपछि अलैँची सुध्रिएको छ। अलैँचीलाई मलको प्रयोग महत्वपूर्ण हुनेरहेछ। जुन पहिले हामीले गरेका थिएनौंँ” समालले भनिन्, “हामीले त अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका थियौँ तर तालिम र परामर्शपछि अलैँची सुध्रियो।” समालले तीन वर्षअघि लक्ष्मी लघुवित्तबाट दिइएको ‘आधुनिक कृषि’ सम्बन्धी तालिमबाट अलैँची खेतीका बारेमा जानेकी थिइन्। त्यसपछि खेती गर्दा अलैँचीबाट आम्दानी लिन थालेको समाल बताउँछिन्। “पहिले त कति पानी, कहिले खनजोत केही पत्तो थिएन।” दशकअघिको खेती प्रविधि सम्झँदै समाल भन्छिन्, “हामीले जबर्जस्ती आम्दानी लिएका रहेछौँ, त्यतिबेला अलैँची त दुःख बेगरै फल्दोरहेछ।” समालले प्रत्येक किसानले खेती गर्नुपूर्व तालिम र परामर्श लिनु आवश्यक रहेको बताइन्।
अज्ञानताले मासियो अलैँची
खेती प्रविधिमा ज्ञान नै नभएकाले अलैँची मासिएको कृषि विज्ञको भनाइ छ। अलैँचीलाई आवश्यक पर्ने भिटामिन, मलजल र गोडमेल नहुँदा मासिएको विज्ञहरू बताउँछन्। ‘रोपेपछि फल्छ’ भन्ने धारणाले पनि अलैँचीबाट लामो समय फाइदा लिन नसकेको कृषि विज्ञ योगेन्द्रमान श्रेष्ठ बताउँछन्।
“अलैँची रोपाइँमा नै समस्या भएकाले राम्रो उत्पादन दिन नसकेको हो।” श्रेष्ठ भन्नुहुन्छ, “अलैँचीलाई सुक्खा बारी आवश्यक चाहिन्छ। तर अहिले धेरैजसो किसानले बारीमा अलैँची लगाएकाले पानी बढी हुने हुनाले रोग लाग्ने गरेको हो।” त्यसो त दीर्घकालीन फाइदा लिनका लागि रोगले नभेटेको बिरुवा छनोट गर्नुपर्ने र माटोअनुसार सिँचाइ र गोडमेल गर्नुपर्ने विज्ञहरूको सुझाव छ। मलखाद र अलैँचीमा लगाइने हतियार प्रयोगले पनि अलैँची मासिने गरेको अर्का कृषि विशेषज्ञ तथा सिनियर कषि परामर्शकर्ता शिव यान्डो श्रेष्ठ बताउँछन्। “हामीले सिँचाइमा एकदमै ध्यान पुर्याउनुपर्छ। सिँचाइ नमिलेमा गानो कुहिने रोग लाग्छ भने हतियार प्रयोग गर्दा पनि सङ्क्रमणरहित हतियार प्रयोग गर्नुपर्छ।” श्रेष्ठ भन्छन्, “बिरुवालाई पनि त उत्पादन गर्न खाद्यान्न चाहिन्छ। त्यो भएन भने मरिहाल्छ नि। त्यसैले खुकुलो माटो बनाउन र किरा मार्न औषधिको समेत प्रयोग चाहिन्छ।”
अनुसन्धानकर्तासमेत रहनुभएका श्रेष्ठका अनुसार खेतीमा औषधि प्रयोग, मात्रा मिलाएर गरिएको सिँचाइ र गोडमेल गरेमा पहिलेको तुलनामा २५ प्रतिशतसम्म उत्पादन वृद्धि भएको देखिन्छ। गोठेमल र गहुँत प्रयोग पनि मात्रा मिलाएर लगाए उत्पादन वृद्धि हुने भन्दै श्रेष्ठले बारी, खनजोत, सिँचाइ मिलेमा पहिलेकै जस्तो उत्पादन लिन सकिनेसमेत बताए।
कसरी रोप्ने त अलैँची ?
श्रेष्ठका अनुसार अलैँची रोप्नका लागि एक महिनाअघि नै खानेको खाल्डो उपयुक्त हुन्छ भने विशेषगरी जेठको शुरुआतमा वर्षात् भएपछि लगाउँदा उचित हुन्छ। रोप्ने बिरुवालाई एक दिन अगाडि निकालेर औषधिमा डुबाएमा बिरुवा स्वस्थ हुने श्रेष्ठको भनाइ छ। “अलैँची बचाउन धेरै थोक चाहिँदैन, घरायसी वस्तुले पनि अलैँची स्वस्थ बनाउन सकिन्छ।” उनका अनुसार त्यसरी रोपेको बिरुवाले टुसा धेरै दिने र फल दिन पनि योग्य हुने गर्दछ। गोडमेलमा ध्यान दिनुपर्ने र रोगाएको बिरुवा हटाउँदा बिरुवाले फल दिने गर्दछ।
पराम्रागत भट्टीले घटाउँदैछ गुणस्तर
विज्ञहरूले अलैँचीलाई ‘अन्तर्राष्ट्रिय गुणस्तर’को बनाउन आधुनिक भट्टी प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्। परापरागत भट्टीमा अलैँची डढ्ने वा नपाक्ने (एकनासको नहुने) र धुवाँ लाग्ने भएकाले आधुनिक भट्टी प्रयोग गर्नुपर्ने उनीहरू बताउँछन्। परम्परागत भट्टीमा सुकाएको अलैँची विश्वबजारमा धेरै लामो नबिक्ने हुनाले अलैँचीमा आधुनिक भट्टीकै प्रयोग गर्नु आवश्यक रहेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउँछन्।
“युरोप, अमेरिकालगायत राष्ट्रमा आधुनिक भट्टीको धुवाँरहित अलैँची नै खोजिन्छ। थाइ मुलुकमा मात्रै हो परम्परागत भट्टीको अलैँची जाने”, घिमिरे भन्छन्, “हामीले बारीबाट निकालेको केही महिनामै अलैँची विश्वबजार पुग्ने वातावरण मिलाएमा आधुनिक भट्टीको गुणस्तरीय अलैँची बेच्न सकिन्छ।” यसो त अधिकांश किसानले पराम्परागत भट्टी नै प्रयो गर्छन्। प्रयोग गर्न सहज हुने भएकाले पनि पराम्परागत भट्टीले प्राथमिकता पाएको हो। तर आधुनिक भट्टी प्रयोगमा तत्काल नल्याए नेपालबाट जाने अलैँची बिक्न समस्या हुने बताउँछन्, कृषि परामर्शकर्ता श्रेष्ठ।
“पराम्परागत भट्टीमा तापक्रम घटबढ हुन्छ भने ठुस्स गन्हाउँछ पनि”, श्रेष्ठ भन्नुहुन्छ, “लामो समय टिक्दैन पनि। तर आधुनिक भट्टीको भने गुणस्तर राम्रो हुन्छ र टिकाउ पनि हुन्छ।” उनका अनुसार भारत हुँदै तेस्रो मुलुक जाने अलैँची भट्टीकै गुणस्तर पनि भारतको स्थानीय अलैँचीको तुलनामा कम गुणस्तरको छ। यसको प्रत्यक्ष असर भने अलैँचीको मूल्यमा पर्ने गरेको श्रेष्ठको भनाइ छ।
चियाका लागि प्रदेशको १६ करोड ५० लाख बजेट
चिया क्षेत्रका लागि प्रदेश नं १ सरकारले १६ करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ। आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटमा प्रदेशले नयाँ क्षेत्रको विस्तार, चियाको प्राङ्गरिक प्रमाणीकरण, तयारी चियाको विस्तार तथा प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको बजेट पुस्तिकामा जनाइएको छ। पुस्तिकामा प्रदेशको प्रमुख निर्यातयोग्य बाली रहेको जनाइएको छ। प्रदेशले सूर्योदय नगरपालिकास्थित फिक्कलमा निर्माणाधीन ‘चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र’ निर्माण सम्पन्न गरिने जनाइएको छ। सूर्योदय नगरपालिकाले तयार गरेको डिजाइन स्टिमेटमा अनुसन्धान केन्द्र भवनको अनुमानित निर्माण रकम रु २६ करोडभन्दा बढी छ।
भवन निर्माणका लागि नगरले २० प्रतिशत र प्रदेश सरकारले ८० प्रतिशत बजेट विनियोजन गर्ने सहमति भएको छ। प्रदेशले छुट्याएको रकमको ठूलो हिस्सा भवनमा खर्च देखिएको छ। देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने सूर्योदय नगरपालिकामा अनुसन्धान केन्द्र स्थापना गरिएपछि चियाको बजार प्रवर्द्धन गर्न सकिने बताइएको छ। रासस