नलगाड जलविद्युत आयाेजनाका प्रभावितलाई मुआब्जा दिन शुरू

कूल ४१७ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको नलगाड जलविद्युत् आयोजनाको  मुआब्जा वितरणको काम शुरू भएको छ।

करिब ४६५ घर तथा तीन हजार ९३३ कित्ता जग्गा अर्थात् चार हजार ६०५ रोपनी जग्गाको मुआब्जा वितरणको काम शुरू भएको हो। प्रत्येक रोपनीको ६ लाखका दरले रकम दिने सहमतिअनुसार मुआब्जा दिन शुरू गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार रूपैयाँ मुआब्जा स्वरूप वितरण गरिन लागेको छ। त्यस्तै विस्तृत योजना प्रतिवेदन मस्यौदा कन्सलटेन्टले बुझाएको र फाइनल बुझाउन बाँकी छ। सन् २०१५ अप्रिलमा नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदनका लागि अस्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीसँग सम्झौता भएको थियो।

आयोजना स्थलमा निर्माण गरिएका घरहरूको असोजसम्म मूल्याङ्‍कन गरी मुआब्जा दिन लागिएको सर्भेएर चित्र केसीले जानकारी दिए। विद्युत् उत्पादन गृह दल्लीबाट पानी खसाल्ने ठाउँसम्मको सडक निर्माणका लागि बोलपत्र निकाल्ने अन्तिम तयारीमा रहेको इञ्जिनियर पदम थापाले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2020-07-06 12:15:34

प्रतिकृया दिनुहोस्