युवा शब्दको परिभाषालाई के अमेरिकी, युरोपेली, पश्चिमी, पुर्वी एसियाली मुलुकका सरकारले मात्र बुझ्दछन्? यदि उनीहरुले मात्र बुझ्दछन् भने हाम्रा सरकार किन बुझ्दैनन्? के हाम्रा सरकारसँग युवाहरुको निम्ति सोच्ने दिमाग छैन?
उनीहरुमा हुने प्रचुर सम्भावनालाई सम्झन र बुझ्न सक्ने नेतृत्व कहिले पाउने? के नेपाली युवाहरु हरेक दृष्टिकोणमा कमजोर छन्? किन उनीहरु प्रथामिकतामा पर्दैनन्? कि सरकारले युवाहरुलाई गर्ने प्रोत्साहन केवल मृगतृष्णा मात्रै हो? किन यो भिन्न खालको अधिनायकवादी राजनैतिक संयन्त्र युवाहरु प्रति चिन्तन गर्न हिच्किचाहट गर्छ?
२००७ साल देखि लियर अहिलेको वर्तमान राजनीतिक पृष्ठभूमिलाई हेर्दा सत्ताशिनहरुले युवाहरुप्रति प्रोत्साहन, इन्सेन्टिभाइज, उद्दिपक गरेको देखिदैन। आफ्नै देशमा केही गर्छु भन्ने युवा हुँदा पनि उत्साहको माहोल किन बन्न सकेन? इजरायल जस्ता मुलुकमा त्यहाँको सरकारले युवा जनशक्ति उद्यमशिलताको लागि नीति ल्याउँछन्। लगानी गर्छन्, कार्यन्वयन गर्छन् र प्रोत्साहन गर्छन्।
तर हाम्रो सरकार युवालाई खाडीमा पठाउँछ। अरबको मरुभूमिमा पठाउँछ। मलेसियाको जंगलमा पठाउँछ। बारम्बार सरकार फेरिए पनि युवाहरु प्रतिको सोच फेरिदैन? नेपाली युवाहरुको लागि नेपाल सरकार सदैव अभिषापको रुपमा साबित भइरहेको छ। अझ कर्णालीका युवाहरुलाई हेर्न हो भने सरकार झन् उदासीन देखिन्छ।
सरकारको लायकपन बत्ती बालेर खोज्दा पनि भेटिदैन। कर्णालीका पीडा रोग, भोक र शोकलाई कयौंन म्याग्जिन, पत्रपत्रिका, मिडिया लगायत अन्य सम्प्रेषणमा उतारिए पनि ती सबै शब्दमा, दुःख र विरहमा मात्र सिमित भए।
आविश्कार भएको तीन शताब्दी बितिसक्दा पनि कर्णालीमा विद्युतले गति पाउन सकेन। जो सदैव अन्धकारको चंगुलमा फसिरहयो। अहिले पनि कर्णाली अन्धकारमा गुज्रिरहेको छ। विकाशका संरचनागत पहुँच छैन। यो भन्दा ठूलो बिडम्बना के नै हुन सक्छ र?
युवा जति खाडी मुलुक धकेलेर उनीहरुको रेमिटान्सबाट गुज्रिएरहेको सरकार आज झन् संकटमा गुज्रिरहेको छ। कर्णालीको बलिदान र त्यागबाट बनेको राज्य संयन्त्र सरकारले कर्णालीका जनतालाई उपहासको पात्रो बनाइदिए। लोकतन्त्र आएको ३० वर्ष भैसक्यो, खै कहाँ छ लोकतन्त्र? लोकतन्त्रको नाममा हामीले के पायौं? न एउटा राम्रो शिक्षालाय? न अस्पताल राम्रो छ? न राम्रो विश्वपिद्यालय छ। न सडक संजाल राम्रो छ। यहि असफल राष्ट्रको चरित्र हो।
सरकारमा पटक पटक थोत्राहरुको पुनरावृत्ति भइरहेको छ। यहि नै हाम्रो बिडम्बना हो। युवाहरुको सकारात्मक सोच, खोज, क्षमता, अन्वेषण, सृजनशिलता, नविनता, उद्यमशिलतालाई वास्ता गरिदैन। उनीहरुप्रति सरकारको कुनै सरोकार छैन? यो प्रश्नले कयौंपटक मानसपटलमा हिर्काइरहन्छ।
विदेशका सरकारहरुले युवाहरुको दुरदर्शिता, नविनता, इमानदारिता, पारदर्शितालाई ध्यान दिएर हौसला स्वरुप लगानी गरिन्छ। नविन सोच भएका युवाहरु प्रति चिन्तन गरिदैन। प्रोत्साहन गर्न बजेट छुट्याइदैन? खोज, अनुसन्धान अन्वेषणमा बजेटको व्यवस्था हुन्न।
केही समय अगाडि काठमाडौंमा अमेरिका र अस्ट्रेलियाको राहदानीको लागि अठार करोड कर उठ्यो। नेपालमा कोहि पनि युवाहरु बस्न चाहदैनन्। देश रुचाउदैनन्। यसको पूर्ण जिम्मेवार सरकार हो। विदेश जाने युवाहरुको लाइन देखेर मन बेचैन हुन्छ। युवाहरु प्रभावित हुनलाई देशले गर्न सकेको केही छैन? न रोजगारी, न प्रोत्साहन छ, न कुनै सकारात्मक नीति छ, न त संभावनाहरु न कुनै रणनीतिहरु।
यी सबैले प्रवृत्तिले विदेश राम्रो, विदेशी धर्म राम्रो, विदेशी शिक्षा राम्रो, संस्कृति, संस्कार राम्रो, भाषा, भेषभुसा राम्रो, उत्पादन राम्रो, ठाउँ राम्रो, मान्छे राम्रा भन्ने भावना मनमा जागृत हुनु अस्वाभाविक हुँदैन। त्यसैले उनीहरुको अन्तिम गन्तव्य विदेश नै बन्न पुग्दछ।
जनसंख्याविद्हरुका अनुसार युवाहरुको संख्यालाई हेर्दा नेपाल स्वर्ण युगमा छ। अर्थात १६ देखि ३९ वर्षका युवाहरुको संख्या ४० प्रतिशत भन्दा बढी छ। तर सरकारले तिनै युवाहरुलाई स्वदेशमा बस्ने वातावरण बनाउन सकेको छैन। लगानी नै गर्नुपर्छ भन्ने होइन तर प्रोत्साहन र युवा मैत्री नीति ल्याउने काम सरकारले नै गर्नुपर्छ। सरकारले बुझ्ने कि?