प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली फण्डाप्रिय नेता हुन् । उनी एकपछि अर्को फण्डा निकाल्छन् र आफूलाई नै थप अप्ठ्यारोमा पार्छन्। आफूलाई फाइदाका लागि चलाइने फण्डाले उनी अरूलाई पनि अप्ठ्यारोमा पार्छन्। पछिल्लोपटक भारतले आफूलाई हटाउन लागेको भनेर चलाएको फण्डाले उनी, उनको गुट, पार्टी, सरकार र नेपालको शासन व्यवस्थालाई नै अप्ठयारोमा पारेको छ। नेकपाको पछिल्लो सत्ता रस्साकस्सी र पार्टी नै फुट्ने अवस्थाको सिर्जना उनको त्यही फण्डाले भएको हो। भलै उनले त्यो फण्डा पार्टी स्थायी समितिमा आफ्नो राजीनामाको विषयलाई भारतको इशारमा आउने राष्ट्रघाती कदमको रूपमा ब्याख्या गरेर साखुले बन्नका लागि चलाएका थिए।
त्यो फण्डा गलत थियो भनेर उनकै गुटका तमाम नेताले भनिसक्दा पनि उनले मुख खोलेका छैनन् । बरू फेरि अर्को फण्डा सुरू गरेका छन्, त्यो हो राष्ट्रपतिविरूद्ध अविश्वासको प्रस्ताव आउन लागेकोले त्यसको बचाउका लागि आफू आफू लागिपरेको भनाइ। उनले यसलाई जनताको बहुदलीय जनवाद र मदन भण्डारीमाथिको आक्रमणका रूपमा थप ब्याख्या गरेर 'इमोसनल ब्लाकमेलिङ' को अर्को फण्डाको स्वरूप दिएका छन्।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राष्ट्रपतिविरूद्ध अविश्वास प्रस्ताव आउन लागेकोले आफूले कुनै पनि निर्णय लिनुपर्ने हुनसक्ने भन्दै अर्को फण्डा सुरू गरेका छन्। आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको भन्ने फण्डा सुरू गरेर मच्चिएको बबण्डर जारी रहेकै बेला उनले घटनालाई ट्विस्ट गर्न अर्को फण्डा सुरू गरेका हुन्। आफ्नो कुर्सी जोगाउन शीतल निबासलाई पानीको पधेरो बनाएर आफ्नो पक्षमा उपयोग गरेर चरम आलोचना खेपिरहेका ओलीको यो नयाँ फण्डाले राष्ट्रपति भण्डारी पनि थप विवादमा तानिएकी छिन्।
संविधानले नै राष्ट्रको अभिभावकीय रूपमा आलांकारिक राष्ट्रप्रमुखका रूपमा व्यवस्था गरेको राष्ट्रपति पदमा विद्या भण्डारीलाई ल्याएर उनलाई आफ्नो स्वार्थअनुरूप प्रयोग गर्दै आएका धेरै दृष्टान्त छन्। केही समययता ओलीले पार्टीमा आफ्नो कमाण्ड गुमाउँदै गएपछि उनले शीतल निबासलाई अरू थप विवादित बनाएका छन्। ओलीका लागि शीतल निबास पानीको पधेरो भएको छ, प्रोटोकल र मर्यादालाई धुलिसात बनाइएको छ। शीतल निबास देशको आलंकारिक राष्ट्रपति कार्यालय र निबास हो भन्ने तथ्यलाई बेबास्ता गर्दै यसलाई नेकपाको ओली गुटको हेडक्वार्टर जस्तो बनाइएको छ।
यही पृष्ठभूमिमा आलोचना भएपछि अहिले ओलीले राष्ट्रपतिलाई समेत तानेर नयाँ फण्डा सुरू गरेका हुन्। उनी आफू र राष्ट्रपतिमाथि षडयन्त्र भएको भन्दै सम्भवत: संकटकालको तानाबाना बुन्दैछन्।साउन ७ गतेसम्मका लागि कोरोना बन्दाबन्दी लम्ब्याइनु पनि पनि त्यही कोणबाट भएको हुन सक्छ। यही महामारीलाई आधार बनाएर पनि स्वास्थ्य संकटकाल लगाउन सकिने उनको ठम्याइ हुन सक्छ।
ओलीले चलाएको पछिल्लो फण्डा सत्य होला त ? विभिन्न कोणबाट विश्लेषण गर्दा यसको उत्तर हो भन्न सकिने देखिदैन। के चाँहि हो भने उनको राजीनामा मागिरहेको पक्षले राष्ट्रपतिको ओली पक्षधरतालाई लिएर असन्तुष्टी प्रकट गरिरहेको छ तर त्यसैको आधारमा अविश्वासको प्रस्ताव नै ल्याउने सोचाइको नजिकसम्म पनि पुगेको छैन। रणनीतिक हिसाबले पनि यसको औचित्य पुष्टी हुदैन।ओली एक्लैले त हावाकावा खेलाइरहेको बेला उनीहरू विद्यालाई समेत थपेर प्रतिपक्षी शिविर दह्रो बनाउने कुरै आउँदैन।
ओलीको बोली र शैलीमै समस्या छ। उनी काम गर्नभन्दा जीब्रो चलाउन बढी मन पराउँछन्। काम गर्ने बेलामा अनावश्यक जिब्रो चलाएरै उनी टिकेका पनि हुन् र आफैं दु:ख बेसाएका पनि हुन्। गुटभन्दा माथि उठेर, व्यक्तिभन्दा पार्टी पद्धतिमा विश्वास गरेर, सही मानिसलाई सही भूमिका दिएर काममा मात्र केन्द्रित भएको भए ओलीको लागि राजनेता हुने सुनौलो अवसर थियो। तर, उनले त्यो अवसरको सदुपयोग गर्न नसक्दा आज पार्टी र सरकार दुबैको नेतृत्वबाट राजीनामा दिनुपर्ने माग सामना गर्नुपरेको छ। त्यो पनि चरम अल्पमतमा परेपछि पार्टीको आदेश नमान्ने बरू पार्टी नै फुटाउने रणनीतिमा छन्। यसबाट उनको इतिहास मात्र धुलिसात हुँदैछैन, नेकपाले पनि गम्भीर धक्का ब्यहोर्नुपर्ने छ।
हुँदाहुँदा अवस्था यस्तो आएको छ कि ओलीको भनाइ मानौ पार्टी भनेको ओलीको गोटी मात्रै हुने भयो, भनाइ नमानौ पार्टी नै फुट्ने भयो। जे गरे पनि यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा लैजाने निश्चित छ।